कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

आफ्नै घरमा मृत अवस्थामा दम्पती फेला

श्रावण १०, २०८१
आफ्नै घरमा मृत अवस्थामा दम्पती फेला

Highlights

  • मकवानपुरमा गत आर्थिक वर्ष १४४ जनाले गरे आत्महत्या

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–५ लटिनाथका एक दम्पती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । हेटौंडा बजार नजिकै रहेको लटिनाथ चिसापानीका ६२ वर्षीय केशव भण्डारी र श्रीमती ५६ वर्षीया अम्बिका भण्डारी बुधबार मृत अवस्थामा फेला परेका हुन् । 

केशव पंखा झुन्ड्याउने फलामको हुकमा नाइलनको डोरीको पासो लगाइ झुन्डिएको अवस्थामा र अम्बिकाको घाँटीमा धारिलो हतियार प्रहारबाट हत्या गरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । स्थानीय एक महिलाले मृतक अम्बिकालाई मोबाइलमा फोन गर्दा नउठाएकाे र घर पुग्दा ढोका लगाएको देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । उनको खबरपश्चात प्रहरी पुगेर ढोका फोडेर हेर्दा केशव झुन्डिएको अवस्थामा र अम्बिका भुइँमा रगताम्मे अवस्थामा प्रहरीले फेला परेको थियो ।

केशवले पत्नीको हत्या गरेर आफू झुन्डिएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । उक्त घरमा छोरा बुहारी अर्को कोठामा बस्थे, तर दिउँसो उनीहरू थिएनन् । झुन्डिएका पति र पत्नीको शव एउटै कोठामा थियो । छोराबुहारी र आमाबुबा एउटै घरमा बसे पनि अलगअलग भात पकाएर खाने गर्थे । विगत ४ महिनादेखि भण्डारीले डिप्रेसनको औषधि खाँदै आएका थिए ।

भुइँमा रहेको रगत अम्बिकाको हो की होइन भनेर अनुसन्धानका लागि काठमान्डौंस्थित प्रयोगशालामा पठाइएको प्रहरी उपरीक्षक रिजालले जनाए । ‘हामी थप अनुसन्धान गरिरहेका छौ,’ उनले भने ।

गत वर्ष हेटौंडा उपमहानगरपालिका–१ का एक वृद्धवृद्धा आफनै घरमा झुन्डिएर आत्महत्या गरेका थिए । मकवानपुरमा आत्महत्याको घटना बर्सेनि बढ्दो छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत आवमा ५२ जना महिलासहित १ सय ४४ जनाले आत्महत्या गरेका थिए । अघिल्लो आर्थिक वर्ष १ सय २५ जनाले आत्महत्या गरेका थिए । अघिल्लो आर्थिक वर्षकाे तुलनामा गत वर्ष २१ जना बढीले आत्महत्या गरेका छन् ।

प्रकाशित : श्रावण १०, २०८१ ०८:५५
x
×