कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

भाद्र २३, २०८१
तिरहुत गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ — सोलारबत्ती जडानमा अनियमितता गरेको आरोपमा सप्तरीको तिरहुत गाउँपालिकाका तत्कालीन उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिकाका तत्कालीन उपाध्यक्ष एवं योजना अनुगमन समिति संयोजक तीर्थमाया खत्वे, योजना अनुगमन समितिका सदस्यद्वय दुर्गानन्द यादव र वीरेन्द्रकुमार यादव, प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह, इन्जिनियर उग्रानन्द पाठक, सवइन्जिनियर जागेश्वर मण्डल तथा उपभोक्ता समितिका अध्यक्ष रबेन्द्रकुमार यादव, सचिव धिरेन्द्र यादव र कोषाध्यक्ष रेणुकुमारी यादवविरुद्ध आइतबार ६ लाख ४५ हजार ६ सय ६५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारले नगरपालिकाका उपप्रमुख एवं योजना अनुगमन समितिका संयोजकसहित तीन, प्रमुख प्रशासकीय अधिकृतसहित तीन कर्मचारी र उपभोक्ता समितिका तीन पदाधिकारीबाट छुट्टाछुट्टै ६ लाख ४५ हजार ६ सय ६५ रुपैयाँ जरिवाना, कैद सजाय र हिनामिना भएको रकम असुलउपर गर्नुपर्ने मागदाबी लिएको हो ।

अख्तियारका प्रवक्ता सहसचिव नरहरि घिमिरेका अनुसार आब २०७४/७५ मा गाउँपालिकाको वडा नं. १ देखि ५ सम्म सोलार बत्ती खरिद तथा जडान गर्ने गरी बजेट विनियोजन भएकोमा सम्झौताबमोजिम कार्य नभएको, कम काम गरी बढी गरेको भनी गलत प्राविधिक मूल्यांकन गराएको, हुँदै नभएको कामको बढी रकम दाबी गरेको अनुसन्धानबाट खुलेको थियो । सोही कसुरमा हिनामिना भएको रकमलाई नै बिगो कायम गरी बिगोबमोजिम जरिवाना, कैद र नभए/नगरेको कामको गलत प्राविधिक मूल्यांकन गरी वास्तविक भए/गरेको भन्दा बढी कार्य भएको भनी नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन तयार गरी/गराई भुक्तानी गराएको देखिएकोले तीनैजना प्रतिवादीलाई थप सजाय मागदाबी गरिएको हो ।

प्रकाशित : भाद्र २३, २०८१ १७:०१
×