कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

योजनाको कामै नगरी रकम हिनामिना गर्ने पालिका उपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भाद्र २३, २०८१
योजनाको कामै नगरी रकम हिनामिना गर्ने पालिका उपाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राजविराज — सप्तरीको तिरहुत गाउँपालिका-५ स्थित पर्यटन क्षेत्र गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन तथा व्यवस्थापन सम्बन्धी योजनामा कुनै काम नै नगरी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ११ जनाउपर विशेष अदालतमा मुद्दा दायर गरेको छ  । 

तिरहुत गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव र इन्जिनियर खुर्सेद इक्रामले आर्थिक वर्ष २०७५/०७६ मा वडा नं. ५ स्थित पर्यटन क्षेत्रमा गेट निर्माण, अधुरो भवन निर्माण, रंगरोगन, सम्वर्द्धन तथा व्यवस्थापन कार्यको लागि योजनाको सम्झौता पत्रमा सही छाप गरेको अख्तियारको आरोप छ ।

उनीहरूले कम काम गरी बढी काम गरेको भनी तयार गरेको प्राविधिक मूल्याङ्कनसहितको नापी किताब र कार्य सम्पन्न प्रतिवेदन पेश गरी भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी ११ लाख १९ हजार ९ सय ४९ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिएको अख्तियारको आरोप छ ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरजन्य कार्य भएको भन्दै अख्तियारले उनीहरूविरुद्ध मुद्दा चलाएको हो । दुवैजनामाथि ११ लाख १९ हजार ९ सय ४९ रुपैयाँ ३३ पैसा विगो र जरिवाना मागदावी कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले उक्त योजनाको अनुगमन तथा भुक्तानीमा संलग्न गाउँपालिकाका गाउँपालिकाका तत्कालीन उपाध्यक्ष तीर्थमाया खत्वे, लेखा प्रमुख सोनु कुमार सोनी, योजना अनुगमन समितिका सदस्यहरु दुर्गानन्द यादव, विरेन्द्र कुमार यादव, भोगनन्द महत्मान यादव र रमानन्द चौधरी, उपभोक्ता समितिका अध्यक्ष शिवनाथ चौधरी, सचिव देवनारायण चौधरी र कोषाध्यक्ष चन्द्रीदेवीलाई समेत विपक्षी बनाइ मुद्दा दायर गरेको छ ।

प्रकाशित : भाद्र २३, २०८१ १६:२१
×