कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

बिरामीको मृत्युपछि अस्पताल तनावग्रस्त

भाद्र २०, २०८१
बिरामीको मृत्युपछि अस्पताल तनावग्रस्त

राजविराज — सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा बिहीबार दिउँसो एकजना बिरामीको मृत्युपछि अस्पताल तनावग्रस्त बनेको छ ।

उपचारका क्रममा विष्णुपुर गाउँपालिका-४ कनकट्टाका २० वर्षीय मो मनिरको मृत्यु भएपछि आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरिरहेका छन् ।

आउँदो मंगलबार साउदी अरब जाने तयारीमा रहेका मनिरलाई पाँच दिन अघि ज्वरो आएपछि स्थानीय स्वास्थ्य चौकीमा देखाएका थिए । त्यहाँको उपचारले निको नभएपछि परिवारले उनलाई राजविराजस्थित डा. मुरली प्रसाद सिंहको क्लिनिकमा उपचार गराइरहेका थिए ।

बिहीबार दिउँसो डा सिंहको क्लिनिकमा मनिरको अवस्था गम्भीर भएपछि उनलाई गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । आकस्मिक कक्षमा ल्याइएको केही बेरमै उनको मृत्यु भएपछि आफन्तले डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै अस्पताल परिसरमै नाराबाजी र प्रदर्शन गरिरहेका हुन् ।

आफन्तको प्रदर्शनका कारण अस्पताल परिसर तनावग्रस्त बनेको छ । अहिले अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : भाद्र २०, २०८१ १८:०३
x
×