कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

राजनीतिक चपेटामा नारायणी अस्पताल

भाद्र २०, २०८१
राजनीतिक चपेटामा नारायणी अस्पताल

वीरगन्ज — दरबन्दी अभावमा सेवा प्रभावित हुन थालेपछि यहाँको नारायणी अस्पतालले भदौ ११ मा चारवटा पदमा ४७ जना कर्मचारी (चिकित्सक र स्वास्थ्यकर्मी) करार सेवामा भर्नाका लागि सूचना आह्वान गर्‍यो । तर, भदौ १६ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई भर्ना सम्बन्धमा अघि बढाएको सम्पूर्ण प्रक्रिया मन्त्रालयको अर्को निर्णय नहुन्जेलसम्म स्थगन गर्न पत्राचार गर्‍यो ।

नारायणी अस्पतालले चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि २०७६ तथा अस्पताल फार्मेसी निर्देशिका २०७२ को अधिनमा रही यस अस्पतालमा रिक्त रहेका पदमा करार सेवामा पदपूर्ति गर्नुपर्ने भएकाले सूचना प्रकाशित गरेको थियो । आठौँ तहको मेडिकल अधिकृत ५ जना, स्टाफ नर्स २५ जना, फार्मेसी सहायक चार जना र अनमि दुई जना भर्ना लिने सूचना प्रकाशित गरेको थियो ।

यसअघि असार १४ मा अस्पतालले २७ वटा पदमा ३३ जना कर्मचारी करार सेवामा भर्नाका लागि सात दिने सूचना आह्वान गरेको थियो । करिब दुई सय जनाले आवेदनसमेत दिएका थिए । तर, मन्त्रालयको मौखिक आदेशले सो भर्ना प्रक्रिया पनि स्थगनमा पर्‍यो । यसैगरी असार १० मा युनिसेफको सहयोगमा दुई जना स्टाफ नर्स भर्ना प्रक्रिया अन्तिम अवस्थामा पुगिसकेको थियो । अस्पताल प्रशासन शाखाका अनुसार मौखिक परीक्षामा दुई जना छनोटसमेत भइसकेका थिए । सम्झौता पत्रमा हस्ताक्षर गर्न मात्र बाँकी थियो । तर, मन्त्रालयको मौखिक आदेश आएपछि सो प्रक्रिया पनि रद्द हुन पग्यो ।

गत जेठ अन्तिममा नारायणी अस्पतालले दैनिक ज्यालादारीमा कार्यरत ४७ जना कर्मचारी हटाएको थियो । निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्त भएको दुई सातापछि डा.एनामुल हकले दैनिक ज्यालादरीमा कार्यरतहरुका कारण अस्पताललाई आर्थिक भार थपिएको भन्दै चिकित्सक, स्टाफ नर्ससहित एकैपटक ४७ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई हटाएका थिए । आठौँ तहका मेडिकल अधिकृत चिकित्सक ११ जना, सातौँ तहका मेडिकल अधिकृत एक जना, स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट तीन जना, रेडियोग्राफर पाँच जना, अहेब चार जना, कार्यालय सहयोगी सात जना हटेका थिए ।

दैनिक ज्यालादारीका कर्मचारी हटाएपछि करारमा नयाँ भर्ना लिने प्रक्रिया पटक पटक स्थगित हुँदा अस्पतालको सेवा प्रभावित बनेको छ । जनशक्ति अभावमा सेवा ठप्प हुँदा बिरामी निजी अस्पतालमा जान बाध्य बनेका छन् । अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताका अनुसार मन्त्रालयसँग समन्वय नहुँदा र प्रक्रिया नपुग्दा करारमा कर्मचारी भर्ना रोकिएको हो । ‘यो भन्दा पहिलेको सूचनामा आवेदन दिनेको म्याद जम्मा सात दिन राखिएको थियो,’ अध्यक्ष गुप्ताले भने, ‘अहिलेको सूचना आह्वान गर्दा मन्त्रालयसँग समन्वय नै गरिएन । जबकि, करारमा कर्मचारी भर्ना गर्दा पदपूर्ति समितिमा मन्त्रालय पनि सदस्य रहने व्यवस्था छ ।’

उनका अनुसार अस्पतालको सेवा प्रभावित नहुने गरी खाली दरबन्दी पूरा गर्नुपर्थ्यो । ‘समन्वय नगरी ४७ जना कर्मचारी हटाए,’ अध्यक्ष गुप्ताले भने, ‘खाली दरबन्दी अस्पतालको सेवा प्रभावित नहुने गरी पूरा गर्नुपर्थ्यो, अहिले गरिब जनताले सास्ती खेप्नुपरेको छ ।’ मेसु डा. हकले मन्त्रालयको समन्वयमा भर्ना प्रक्रिया फेरि सुरु गरिने बताए । ‘भर्ना प्रक्रिया स्थगनको सम्बन्धनमा मन्त्रालयले कुनै कारण खुलाएको छैन,’ मेसुले भने, ‘प्रक्रिया फेरि सुरु गर्छौ ।’

जनशक्ति अभावमा सेवा प्रभावित
पछिल्लो साढे तीन महिनायता अस्पतालको मुटुरोगसम्बन्धी युनिट (सीसीयू) बन्द रहेको छ । विगतमा ८ शैयामा सञ्चालनमा रहेको सीसीयू हाल जनशक्ति अभावमा ठप्प छ । अस्पतालको मेडिकल वार्डमा पहिले ४८ शैया सञ्चालनमा थिए । हाल ३१ शैया मात्र सञ्चालनमा छन् । जनशक्ति अभावकै कारण बच्चाको पेड्याट्रिक आईसीयूमा ५ शैया घटाइएको छ भने सर्जिकल वार्ड विगतभन्दा १० वटा शैया कममा सञ्चालन भइरहेको छ । किडनी डायलाइसिसमा विगतमा १२ जना स्वास्थ्यकर्मी कार्यरत रहेकामा हाल ६ जनाले मात्र काम गरेका छन् । प्रशासन शाखाका अनुसार मन्त्रालयले भदौ २५ सम्ममा नारायणीमा केन्सर सेन्टर स्थापना गर्न निर्देशन दिएको छ । ‘तर, त्यसका लागि न त दरबन्दी पठाएको छ, न मेसिनरी नै,’ प्रशासनका एक अधिकृत भन्छन्, ‘निर्देशनले मात्र कसरी सेवा सुरु गर्न सकिन्छ र !’

दरबन्दी नारायणीमा, काम अन्यत्र
गत साउन २३ मा नारायणी अस्पतालमा हाजिर भएका नवौँ तहका ग्याष्ट्रोइन्टेरोलोजिष्ट डा. अरुण ज्ञवाली र नवौँ तहका नेफ्रोलोजिष्ट डा. निरज ढकाल अहिले काजमा अन्यत्र खटेका छन् । अस्पताल प्रशासन शाखाका अनुसार दुवै जना हाजिर भएको केही दिनमै बिदामा गएका थिए । साउन ३० मा मन्त्रालयको निर्णय अनुसार डा. ज्ञवाली लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा र डा. ढकाल वीर अस्पतालमा काजमा खटिएका हुन् ।

डा. ज्ञवाली र डा.ढकालसहित ३० जना चिकित्सक र स्वास्थ्यकर्मीहरु नारायणी अस्पतालमा दरबन्दी भए पनि अन्यत्र खटिएको प्रशासन शाखाको अभिलेखमा छ । ‘नारायणीमा दरबन्दी राखी अन्यत्र खट्नेमा १७ जना चिकित्सक, १० जना स्टार्फ नर्स, २ जना नर्सिङ अधिकृत र एक जना जनस्वास्थ्य निरीक्षक रहेका छन्,’ प्रशासन शाखाका एक अधिकृत भन्छन्, ‘नारायणीमा दरबन्दी भएका चिकित्सक र स्वास्थ्यकर्मी देशका विभिन्न अस्पतालमा काम गरिरहेका छन्, यहाँ चाँहि सेवा दिन सकिएको छैन ।’

नेपाल सरकार र अस्पताल विकास समितिको गरी यहाँ ३ सय २१ जना कर्मचारीको दरबन्दी रहेको छ, जसमध्ये २ सय ३४ जना मात्र कार्यरत छन् । ओपीडीमा दैनिक करिब १ हजार ४ सय बिरामी आउने गरेको नारायणी अस्पताल ५ सय शैया स्वीकृत भए पनि हाल २ सय ८६ शैयामा मात्र सञ्चालनमा रहेको छ ।

२०७५ फागुन ३ मा केन्द्रीय अस्पताल घोषणा भए पनि यस अस्पतालको दरबन्दी, सेवा, मेसिनरीमा स्तरोन्नति भएको छैन । अस्पताल प्रशासनका अनुसार विशिष्टीकृत विशेषज्ञ सेवाको घोषण गरिए पनि हालसम्म मुटु, मिर्गौला, नसासम्बन्धी सेवा सुरु गरिएको छैन । जानकारका अनुसार विशिष्टीकृत विशेषज्ञ सेवा दिने अस्पतालमा कार्डियो, युरो, न्युरो र नेफ्रोसम्बन्धी उपचार उपलब्ध हुनुपर्छ । २०७५ फागुनमै केन्द्रीय अस्पताल घोषणा गरिए पनि सरकारले सो अनुसारको कर्मचारी, पूर्वाधार र मेसिनरीको व्यवस्थापन हालसम्म गरेको छैन ।

प्रकाशित : भाद्र २०, २०८१ १७:४८
x
×