कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सौर्य सिमेन्ट उद्योगमा अवैध चुरोट प्रकरण : सूचना दिने मजदुरलाई सोधियो स्पष्टीकरण

भाद्र २०, २०८१
सौर्य सिमेन्ट उद्योगमा अवैध चुरोट प्रकरण : सूचना दिने मजदुरलाई सोधियो स्पष्टीकरण

सिरहा — सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगमा विदेशी ब्रान्डको मार्लबोरो चुरोटको गोदाम रहेको विषयमा जानकारी दिने मजदुरमाथि उद्योगले कारबाही थालेको छ । यस विषयमा सूचना दिने मजदुरहरुलाई स्पष्टीकरण सोधिएको हो ।

उद्योगमा गत साउन २१ गते अढाई ट्रक जति चुरोट जलाइएको र अझै चुरोटभित्रै रहेको घटना गत शनिबार बाहिरिएको थियो । त्यसलगत्तै यसबारे बाहिर सूचना दिने तीन जना मजदुरलाई गत सोमबार नै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र काटिएको हो ।

स्पष्टीकरणमा उनीहरुमाथि उद्योगमा कुटपिट र ज्यादती मचाएको आरोप लगाइएको छ । सौर्य सिमेन्ट उद्योगका वरिष्ठ उपाध्यक्ष राजन झाले पनि यसको पुष्टि गरे । उनीहरुले उद्योगका सुरक्षा प्रमुखमाथि कुटपिट गरेको भन्दै सम्बन्धित ठेकेदारमार्फत् श्रम ऐन बमोजिम स्पष्टीकरण सोधिएको उनले बताए ।

तर, स्पष्टीकरण सोधिएका मजदुरहरुले भने आफूहरुले यो विषय बारे बाहिर जानकारी गराएकै कारण कारबाही गर्न लागिएको बताएका छन् । उनीहरुका अनुसार, गत शनिबार उद्योगमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

त्यस कार्यक्रममा स्थानीय जनप्रतिनिधिसहित श्रमिक संगठनका नेताहरु पनि आएका थिए । अन्तरक्रिया कार्यक्रम समापनपछि मजदुरहरुले चुरोटका विषय उनीहरुसाग साझा गरेका थिए । एकजना मजदुरले चुरोटले भरिएको काटुन नै उनीहरुसामु ल्याए ।

चुरोटको काटुन ल्याएको देखेपछि सुरक्षा गार्डले नै पहिला मजदुरलाई हिर्काएको र त्यसपछि विवाद भएको उनीहरुको भनाइ छ ।

सम्बन्धित समाचार :

चुरोटको अवैध आयात प्रकरण : सौर्य सिमेन्टसँग राजस्वले माग्यो जवाफ

प्रकाशित : भाद्र २०, २०८१ २२:०३
x
×