कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

२३ गाउँपालिकाले अझै गरेनन् गाउँसभा

श्रावण २६, २०८१
२३ गाउँपालिकाले अझै गरेनन् गाउँसभा

Highlights

  • गाउँसभा गर्न नसक्ने देशभरका २३ स्थानीय तहमध्ये मधेशका मात्रै १९ गाउँपालिका छन् ।

धनुषा — जनप्रतिनिधहरु बीचको आपसी टकरावले देशभरका २३ गाउँपालिकाको गाउँसभा हुन सकेको छैन । समयमा गाउँसभा नहुँदा ती गाउँपालिकाको सेवा प्रभावित भएको छ । गाउँपालिका अध्यक्षको एकलौटी, सेवा सुविधामा असन्तुष्टि, बजेटमा भागबण्डा नमिल्ने, वडाध्यक्षहरुको असहमति तथा दक्ष कर्मचारीको अभावका कारण ती गाउँपालिकाहरुले नियमित गाउँसभा गर्न सकेका छैनन् ।

यसरी गाउँँपालिका अध्यक्ष–उपाध्यक्षबीच बिवाद, व्यक्तिगत स्वार्थ, दक्ष कर्मचारी अभाव लगायत कारणले गाउँसभा गर्न नसक्ने गाउँपालिकाको संख्या देशभर २३ वटा छ । तीमध्ये मधेशमा मात्रै १९ गाउँपालिकाले गाउँसभा गर्न सकेका छैनन् ।

गाउँँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष लक्ष्मी पाण्डेका अनुसार ४६० गाउँँपालिकामध्ये २३ गाउँँपालिकाले गाउँसभा गर्न सकेका छैनन् । तीमध्ये मधेशका मात्रै १९ गाउँँपालिका छन् ।

मधेश प्रदेशका पर्सामा ४, बारामा १, सर्लाहीमा २ , महोतरीमा २, धनुषामा ५, सिरहामा ३ र सप्तरीको २ गाउँँपालिकाले गाउँसभा गरेका छैनन् । यहाँ १३६ स्थानीय तहमध्ये ५९ गाउँँपालिका छन । जनप्रतिनिधिहरुमा असमझदारी र कर्मचारीले समन्वय गर्न नसक्दा धेरै गाउँँपालिकामा गाउँसभा हुन नसकेको पाण्डेले बताइन् ।

'मधेशका गाउँँपालिका निमित्त प्रमुखको भरमा चलेको छन्,' अध्यक्ष पाण्डेले भनिन्, ‘गाउँसभा गर्न नसकेको कारण बुझ्न पालिकाहरु घुम्यौँ । प्रशासन नबुझ्ने आयुर्वेदका कर्मचारीलाई गाउँपालिकाको जिम्मा लगाइएको छ । कतै बोल्नै नसक्ने वडा सचिवलाई अधिकृतको जिम्मा दिइएको छ । समान्य समस्या र बिवादमा पनि समन्वय नहुँदा गाउँँपालिका अलपत्र भएको पाइएको छ ।’

गाउँँपालिकामा निमित प्रमुख र लेखाका कर्मचारीले आफ्नो स्वार्थ नमिल्दा जनप्रतिनिधिहरुमा विवाद गराउँदै आएको समते पाइएको उनले बताइन् । गाउँँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष पाण्डे गाउँसभा हुन नसकेको गाउँपालिकामा समन्वय गरिदिन मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई आग्रह गरेकी छन् ।

शनिबार मुख्यमन्त्री सिंहलाई भेटर गाउँ सभा हुन नसकेका स्थानीय तहमा पहल गरिदिन आग्रह गरेका हुन् । प्रदेश समन्वय समितिको बैठकलाई नियमित गरी स्थानीय तहमा रहेको विकृत र समस्यालाई समाधान गर्न समेत पाण्डले मुख्यमन्त्रीलाई आग्रह गरिन् ।

प्रकाशित : श्रावण २६, २०८१ १४:२७
×