कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

‘वीरगन्जका थप १० सहकारी समस्याग्रस्त’

श्रावण १९, २०८१
‘वीरगन्जका थप १० सहकारी समस्याग्रस्त’

पर्सा — सानो पाइला मात्र नभई वीरगन्जका थप १० सहकारी संस्था समस्याग्रस्त रहेको वीरगन्ज महानगरपालिका आर्थिक महाशाखाअन्तर्गतको सहकारी तथा रोजगार प्रवर्द्धन शाखाले जनाएको छ ।

महाशाखा प्रमुख इन्जिनियर सुनिल कर्णका अनुसार सानो पाइलाले बचतकर्ताको ठूलो रकम लिएर फरार भएपछि जिल्लाका अन्य सहकारीउपर पनि निगरानी बढाउँदा यस्तो बेथिति फेला परेको हो । ‘वीरगन्जकै करिब १० सहकारी समस्याग्रस्त पाइएको छ,’ उनले भने, ‘तत्काललाई तिनको नाम खुलाउन मिल्दैन, ती सहकारी हाल नियमनको दायरामा छन्, बचतकर्ताले आफ्नो रकम पाउन भन्ने हाम्रो प्रयास जारी छ ।’

तीमध्ये केही सहकारी संचालक कार्यालयको निर्देशन मान्दै आफ्नो कारोबारमा रहेका त्रुटि सच्याउन प्रयासरत समेत रहेको उनले बताए । कर्णले सानो पाइला सहकारी संस्थामा भएको अपचलनबारे सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा आफ्नो भनाइ राखेर हालै आफू फर्किएको पनि बताए ।

समितिले सानो पाइलाका सम्बन्धमा जानकारी लिन बोलाएपछि साउन ४ मा आफैं समितिको बैठकमा पुगेर आवश्यक जानकारी दिएर आएको उनले बताए । कर्णका अनुसार सानो पाइलाले वीरगन्जबाट संकलन गरेको १ सय ३५ करोड रुपैयाँमध्ये करिब ९३ करोड रुपैयाँ वीरगन्जबाहिरका ७५ जनालाई ऋण स्वरूप दिएको थियाे ।

कर्णले जीबी राई समूहको सहकारीलाई पहिलो कारबाही प्रक्रिया वीरगन्जबाटै सुरु भएको पनि समितिलाई जानकारी गराइएको बताए । ‘२०८० भदौ ४ मा सानोपाइलालाई समस्याग्रस्त घोषणा गरिएको थियो, त्यसपछि छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो महाराजगन्जलाई पत्राचार गरिएको थियो,’ उनले भने, ‘हामीले नेपाल राष्ट्र बैंक बैंक टंगाललाई उक्त सहकारीको संचालक समितिका पदाधिकारी तथा प्रबन्धकको खाता रोक्का गर्न उनीहरूको तीनपुस्ते खुलाई पत्राचारसमेत गरेका थियौं ।’

त्यसपछि संघीय भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरी उनीहरूको नाममा रहेको जग्गा जमिन रोक्का गर्न आग्रह गरिएको पनि उनले बताए । ‘यसपछि नै हो सीआईबीले पर्सा प्रहरीलाई सानो पाइलाबारे अनुसन्धान थाल्ने जिम्मेवारी दिएको,’ कर्णले भने, ‘राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेलगत्तै मन्त्रालयले पनि जग्गा जमिन रोक्का गरेको हो ।’ हाल सानोपाइलाका पदाधिकारीहरू फरार छन् र उनीहरू प्रहरीको खोजी सूचीमा रहेका छन् ।

प्रकाशित : श्रावण १९, २०८१ १६:३०
×