कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेवारिसे विस्फोटक पदार्थ नष्ट गर्न एमालेको माग

भाद्र २९, २०८१
बेवारिसे विस्फोटक पदार्थ नष्ट गर्न एमालेको माग

पाँचथर — नेकपा एमाले जिल्ला कमिटी पाँचथरले मुलुकमा शान्ति प्रक्रियामा अगाडि बढेको लामो समय बितिसक्दा पनि बेवारिसे विस्फोटक पदार्थले धनजनको क्षति हुनु दुःखद भएको बताएको छ ।

पार्टीको दोस्रो पूर्ण बैठकले भदौ १३ मा फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा भएको विस्फोटमा २ जनाको ज्यान जानुका साथै दुई जना घाइते भएको घटनालाई गम्भीर रुपमा लिँदै ज्यान गुमाएका बालबालिकाप्रति श्रद्वाञ्जली अर्पण र घाइतेको पूर्ण स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

द्वन्द्वकालमा जिल्लामा बेवारिसे अवस्थामा छोडिएका विस्फोटक पदार्थ पटक–पटक पड्केर जनधनको क्षति हुनु दुःखद भएको भन्दै यस्ता घटना पुनः दोहोरिन नदिन तीन तहकै सरकार र सुरक्षा निकायसँगै राजनीतिक दल संवेदनशील हुनुपर्ने एमालेले माग गरेको छ ।

शंकास्पद स्थानमा यस्ता बस्तु खोज पड्ताल गरी निष्क्रिय गर्ने अभियान चलाउनुका साथै नागरिकको मनोवैज्ञानिक त्रास हटाउन सचेतनामूलक अभियान चलाउने निष्कर्ष निकालेको जिल्ला कमिटी अध्यक्ष विष्णुकुमार सापकोटाले बताए ।

यसैबीच, एमाले जिल्ला कमिटीलाई पूर्णता दिंदै ९९ सदस्यीय बनाएको छ भने विभिन्न विभागीय प्रमुख र वडा तहसम्म जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ । जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय पत्रकार सम्मेलनमार्फत शनिबार सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनको संयोजन प्रेस चौतारी पाँचथरले गरेको थियो ।

प्रकाशित : भाद्र २९, २०८१ १३:४५
×