कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

महेन्द्र माविमा महिनाको अन्तिम शुक्रबार जातीय भेषभूषा

भाद्र २९, २०८१
महेन्द्र माविमा महिनाको अन्तिम शुक्रबार जातीय भेषभूषा

संखुवासभा — खाँदबारीको महेन्द्र माध्यमिक विद्यालय मानेभञ्ज्याङका विद्यार्थी र शिक्षक हरेक महिनाको अन्तिम शुक्रबार जातीय भेषभूषामा सजिएर आउने गरेका छन् । संस्कृति हराउँदै र जातीय पहिचान गुम्दै गएपछि विद्यालयले हरेक महिनाको अन्तिम शुक्रबार विद्यार्थी र शिक्षकलाई जातीय भेषभूषा अनिवार्य गराउने निर्णय गरेको हो । 

विदेशी रहनसहन र भेषभूषाले मिच्दा संस्कृति हराउँदै गएकाले शिक्षक र विद्यार्थीले जातीय भेषभूषा लगाउन थालेको विद्यालयका साहित्यिक तथा सांस्कृतिक विभाग संयोजक कृष्णबहादुर चापागाईंले बताए ।


यसले विद्यार्थीले पनि अन्य जातजातिका संस्कार र संस्कृतिका बारेमा जानकारी पाउने विश्वास लिएको उनले बताए । विद्यालयमा अध्यायनरत करिव ३ सय विद्यार्थी आ-आफ्नो भेषभूषामा आउने गरेका छन् ।


भेषभूषासँगै अन्तिम शुक्रबार नेवार, तामाङ र राई जातिका नृत्यहरुसहित गायनको कार्यक्रम गरिने छ । विद्यालयका सहायक प्रधानाध्यापक सनम थापाले आउँदा दिनमा यो कार्यक्रम पूर्ण रुपमा सफल पार्ने बताए । 'विभिन्न जातका जातीय पोसाक लगाउँदा विद्यालय एउटा रंगीन बगैंचाका रुपमा देखिएको थियो,' उनले भने, 'सबै विद्यार्थी तथा शिक्षकमा उल्लासमय वातावरण सिर्जना भएको थियो ।'


प्रकाशित : भाद्र २९, २०८१ १०:३१
×