कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दिक्तेल रूपाकोटमा नयाँ स्थानीय पाठ्यक्रम लागु

भाद्र २९, २०८१
दिक्तेल रूपाकोटमा नयाँ स्थानीय पाठ्यक्रम लागु

खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नयाँ स्थानीय पाठ्यक्रम लागु गरेको छ । अघिल्लो स्थानीय सरकारको पालामा तयार पारिएको पाठ्यक्रमलाई परिमार्जन गरी यो शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागु गरेको हो ।

२०७८ सालबाट स्थानीय पाठ्यक्रम तयार पारेर पठनपाठन सुरु गरिए पनि उक्त पाठ्यक्रम अपूरो भएको र त्यसलाई पारिमार्जन गरी चालु शैक्षिकसत्रबाट नयाँ पाठ्यक्रम लागु गरिएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका सुवाशचन्द्र राईले बताए ।

‘पहिले तयार गरेको पाठ्यक्रममा नगरक्षेत्रभित्र एकै खालको विषयवस्तु समेटिएको थियो,’ राईले भने, ‘नगरपालिकामा विभिन्न भाषा, संस्कृति, प्राकृतिक श्रोत साधन, सम्पदा भएकाको त्यसै अनुसार पाठ्यक्रम परिमार्जन गरेर लागु गरिएको हो ।’

राईका अनुसार नगरपालिकालाई विभिन्न क्षेत्रमा विभाजन गरेर स्थानीय पाठ्यक्रम २०७६ बमोजिम पाठ्यक्रम तयार गरिएको हो । नगर कार्यपालिका र नगर शिक्षा समितिको निर्णय र निर्देशन अनुसार २०८१ बैशाख २०–२१ गते पाठ्यक्रमसम्वन्धी विज्ञहरू, प्रधानाध्यापकहरू, स्थानीय पाठ्यक्रम पढाउने शिक्षकहरूको सहभागितामा पाठ्यक्रमसम्वन्धी पहिलो कार्यशाला र त्यसपछि फेरि जेठ २७–२८ गते भूगोल, भाषा, संस्कृतिका आधारमा विभिन्न क्षेत्र निर्धारण गरेर अर्को कार्यशाला आयोजना गरी पाठ्यक्रम निर्माण समिति बनाइएको राईले बताए ।

शिवहरि ढकालको संयोजकत्वमा ‘रूपाकोट बैखरी’, बमबहादुर राईको संयोजकत्वमा ‘मुढे– नुनथला’, लक्ष्मीप्रसाद खनालको संयोजकत्वमा ‘हाम्रो मझुवा’, भवकृष्ण ढकालको संयोजकत्वमा ‘हाम्रो साप्सु माला’, प्रेमबहादुर भट्टराईको संयोजकत्वमा ‘हाम्रो पाथेका’, प्रकाश राईको संयोजकत्वमा ‘हाम्रो खार्मी’, प्रतिमान राईको संयोजकत्वमा ‘जालपा चिनारी’ र ललितकुमार राईको संयोजकत्वमा बनेको पाठ्यक्रम निर्माण समितिले ‘दिरूम ज्ञान माला’ स्थानीय पाठ्यक्रम तयारी गरी लागु गरिएको राईले बताए ।

उक्त पाठ्यक्रम नगरपालिका क्षेत्रभित्रका कक्षा १–५ सञ्चालन भएका ५८ वटा आधारभूत तहका विद्यालयमा लागु गरिएको छ । कक्षा १–५ सञ्चालन भएका ५८ सामुदायिक विद्यालयमा चार हजार आठ सय २७ जना विद्यार्थी छन् । नगरपालिकामा २१ माध्यमिक, कक्षा १–८ सञ्चालन भएका आधारभूत तहका १४ सामुदायिक विद्यालय छन् ।

प्रकाशित : भाद्र २९, २०८१ १३:५०
×