कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

जन्मदर्ता र मृत्युदर्ता गराए पाँच हजार सहयोग

भाद्र १०, २०८१
जन्मदर्ता र मृत्युदर्ता गराए पाँच हजार सहयोग

इलाम — देउमाई नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ता गराएवापत पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ । घटनादर्ता अन्तर्गत ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराएवापत सो सहयोग उपलब्ध गराउँदै आएको हो । 

देउमाईले नगरपालिकाको तर्फबाट ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ अन्तर्गत नगरभित्र स्थायीरुपमा बसोबास गरेका प्रत्येक सुत्केरीलाई आफ्नो शिशुको ३५ दिनभित्र जन्मदर्ता गराए रु पाँच हजार पोषण भत्ता उपलब्ध गराउँदै आएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा नगरभित्रका दुई सय २७ सुत्केरीले देउमाई नगरपालिकाबाट रु ११ लाख ३५ हजार हजार पोषणभत्ता प्राप्त गरेका छन् । उनीहरु सबैले समयमै जन्मदर्ता गराएका कारण पोषण भत्ता उपलब्ध गराइएको देउमाई नगपालिकाका लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए ।

देउमाईले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरभित्र स्थायी रुपमा बसोबास गरेका तीन सय १२ सुत्केरीलाई १५ लाख ६० हजार पोषण भत्ता उपलब्ध गराएको थियो । देउमाई नगरभित्र स्थायी रुपमा बसोबासी गरी कुनैपनि स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँच गरेको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको उनले बताए ।

गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रको आमा र शिशुलाई उत्प्रेरणा तथा पोषणस्थितिमा आमा र शिशुको स्वास्थ्य सुधार गर्न ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ लागु गरिएको नगर प्रमुख सूर्यप्रसाद पोख्रेलले बताए । सुत्केरी आमा र नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकरात्मक सन्देश प्रवाह गर्नका लागि सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रम लागु गरिएको उनको भनाइ छ ।

त्यसैगरी देउमाई नगरपालिकाले कुनैपनि कारणले मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई दाहसंस्कार खर्चवापत रु पाँच हजार सहयोग उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा देउमाईका दुई सय चार जना मृतकका परिवारले १० लाख २० हजार दाहसंस्कार खर्च प्राप्त गरेका थिए ।

घटना भएको ३५ दिनभित्र मृत्युदर्ता गराई नगरपालिकामा पेश गरेपछि दाहसंस्कार खर्च उपलब्ध गराउने व्यवस्था रहेको लेखा अधिकृत एक्तेनले बताए । देउमाइले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नगरभित्रका एक सय ९० मृतकका परिवारलाई नौ लाख ५० हजार दाहसंस्कार खर्च उपलब्ध गराएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा देउमाईका एक हजार सात सय ५४ ज्येष्ठ नागरिकले नगरको तर्फबाट ३५ लाख चार हजार पोसाक भत्ता पाएका छन् । देउमाई नगरभित्र स्थायी बसोबास गर्ने ७० वर्ष माथिका सबै ज्येष्ठ नागरिकलाई दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराइएको हो । उनीहरुलाई नगरपालिकाले वार्षिक रुपमा एकमुष्ठ रु दुई हजारका दरले पोसाक भत्ता उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिए ।

देउमाईले आव २०७९/८० मा एक हजार पाँच सय ७६ ज्येष्ठ नागरिकलाई रु ३१ लाख ५२ हजार पोसाक भत्ता उपलब्ध गराएको थियो । यसैगरी नगरपालिकाले आव २०८१/८१ मा दीर्घ रोगी २५ जनालाई उपचार खर्च उपलब्ध गराएको छ । देउमाईले दीर्घ रोगीलाई औषधि खर्चवापत रु पाँच हजारका दरले रु एक लाख २५ हजार उपलब्ध गराएको लेखा अधिकृत एक्तेनले जानकारी दिए ।

देउमाईले नगरभित्र स्थायीरुपमा बसोबास गरेका दीर्घ रोगीलाई वार्षिक रुपमा एकपटक उपचार खर्च उपलब्ध गराउँदै आएको छ । देउमाइले आव २०७९/८० मा दीर्घ रोगी ४० जनालाई रु दुई लाख उपचार खर्च उपलब्ध गराएको थियो ।

प्रकाशित : भाद्र १०, २०८१ १६:०९
x
×