कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः उडान

भाद्र २७, २०८१
फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा पुनः उडान

मङ्गलबारे — इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान सुरु भएको छ । केही महिना बन्द रहेको विमानस्थलमा आजदेखि पुनः उडान थालिएको हो । गत बिहीबार नै उडान भर्ने भनिए पनि यात्रु नपाएर उडान भएको थिएन ।

यात्रु पाएसँगै आज बिहानबाट उडान सुरु भएको नेपाल एयरलाइन्स सुकिलुम्बा विमानस्थल इलामका इन्चार्ज दिनेश सुन्दासले बताए । उनका अनुसार काठमाडौंबाट इलामका लागि छ जना यात्रु आएको र काठमाडौँका लागि आठ जना यात्रु लिएर गएको छ ।

इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सको २७ सिट क्षमताको जहाजले उडान गरेको छ । अब हप्ताको प्रत्येक बिहीबार नियमित उडान हुने जनाइएको छ । बर्खा लाखेसँगै खराब मौसमका कारण साढे तीन महिनादेखि नभएको उडान सुरुभएसँगै यात्रुलाई सहज भएको छ । दसैं तिहार जस्ता चाडपर्व नजिकिएसँगै इलामदेखि काठमाडौं उडान गर्नुपर्ने माग भएपछि उडान सुरु भएको छ ।

यहाँबाट बीचमा उडान नहुँदा यात्रुले झापाको भद्रपुर तथा अन्य विमानबाट यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ । गत जेठ १३ गतेदेखि हुन नसकेको उडान सुरु भएको हो । इलामबाट हप्ताको दुई दिन अर्थात आइतबार र बिहीबार उडान हुँदै आएको थियो । नेपाल एयरलाइन्सका दुईवटा साना विमानमध्ये एउटा मर्मतमा रहेकाले अब केही समय बिहीबार मात्र उडान हुने र अर्को विमान मर्मतबाट आएपछि साताका अन्य दिनसमेत उडान हुने जनाइएको छ । विमानस्थल सञ्चालनमा आएपछि पूर्वी पहाडी जिल्लासहित छिमेकी राष्ट्र भारतको सिक्किम, मिरिकलगायतका बासिन्दालाई काठमाडौंलगायतको यात्रमा सहज हुने छ ।

प्रकाशित : भाद्र २७, २०८१ १५:०३
×