कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेताका बेलगाम बोली

भाद्र १८, २०८१
नेताका बेलगाम बोली

जनताको प्रतिनिधि हुँ भन्ने नेताहरूले जे बोले पनि, जे गरे पनि हुने हो ? कि त्यसको एउटा सीमा र मर्यादा पनि हुन्छ ? के बोल्न हुने, के नहुने, कतिसम्म बोल्दा आम जनताले विश्वास र कदर गर्छन् भन्ने कुरामा नेताहरूले हेक्का राख्नु पर्दैन ? मैले जे बोले पनि पाच्य हुन्छ, जनताले विश्वास गरिहाल्छन् भन्ने भ्रममा बाँचेका नेताहरू एक दिन आफैं जनताबाट पाखा लाग्छन् ।

उनीहरूको कुरामा विश्वास गर्ने एक जना पनि हुँदैनन्, केवल दासहरूले मात्र सही थाप्छन् । के हाम्रा नेताहरू त्यस्तै बन्न खोजेका हुन् ? होइन भने आफ्नो बोलीमा संयमता खोइ ? तथ्य र इतिहासको अध्ययन गरेर मात्र बोल्नोस्, अमर्यादित र अपाच्य कुरा नबोल्नोस् ।

एमाले उपमहासचिव एवं सञ्चारमन्त्री र सरकारका प्रवक्तसमेत रहेका पृथ्वी सुब्बा गुरुङले पोखरामा अमर्यादित अभिव्यक्ति दिएछन् । मन्त्री गुरुङले आफ्नै सरकार मातहतमा रहेको प्रहरी प्रमुखले प्रहरी ऐन ल्याएर संघीयता बलियो पार्न नखोजेको भनेर आगो ओकेलेका छन् । उनले प्रहरी प्रमुखलाई इंगित गर्दै सिधै भनेछन्– आईजीपीको जिब्रो थुत्नुपर्ने ! के यो शब्द पदमा बसेको जिम्मेवार मन्त्रीले बोल्ने कुरा हो ?

यसबारे मन्त्री गुरुङले होइन एमालेले नै जनतालाई स्पष्टीकरण दिने बेला आएको छ । अन्यथा भोलि अन्य मन्त्रीले पनि मर्यादा र शिष्टताको सबै सीमा पार गरी यसै गरी बोल्नेछन्, जसले राज्यमा अराजकता फैलाउन सक्छ । यसर्थ अविलम्ब उक्त अमर्यादित शब्द बोलेकामा मन्त्री गुरुङले सार्वजनिक क्षमायाचना गर्नुपर्छ र उनले नमाने पार्टी अध्यक्ष र प्रधानमन्त्रीले उनीविरुद्ध एक्सन लिनुपर्छ ।

यसअघि संसद्मा एमाले सांसद योगेश भट्टराई माओवादी जनयुद्धलाई हिंसा कि हिंसा भनेर चर्केका थिए । सार्वभौम संसद्मा माओवादी पार्टीलाई अपमान गर्ने गरी अमर्यादित भाषा प्रयोग गरेका थिए । उनले माओवादीले १० वर्ष जनयुद्ध होइन हिंसा गरेको आरोप लगाएका थिए तर आफ्नै पार्टीका नेताहरूले विगतमा गरेको त्यस्तै प्रकृतिको हिंसा भने जानीजानी बिर्सन पुगे । उनीजत्तिको विश्वासयोग्य पढेलेखेको नेताले त्यस्तो भाषा र शब्द प्रयोग गर्नु आफ्नै पार्टीको इतिहास र तथ्य बिर्सनु हो ।

निश्चय नै २०२८ सालमा उनी बालकै थिए, तथापि ठूलो भएपछि नेपाली कम्युनिस्टको इतिहास पढे होलान् । २०२८ सालमा तत्कालीन कम्युनिस्ट विद्रोहीले सामन्ती व्यवस्था उन्मूलन गर्ने भन्दै झापाका जमिनदारहरूको घाँटी काट्ने आन्दोलन चलाएको होइन ? त्यसमा अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, सीपी मैनालीहरूले नेतृत्व गरेको थाहा छैन ?

के झापा आन्दोलन हिंसा थिएन ? कि माओवादीले गर्दा हिंसा हुने, एमालेले गर्दा कमलको फूल हुने हो ? जहाँसम्म हिंसाको कुरा छ, आमनेपाली जनता हिंसाविरोधी छन् । हिंसा शब्द सुन्न पनि चाहँदैनन्, चाहे त्यो माओवादीले गरेको होस् या एमालेले ।
– गोपाल देवकोटा, गोकर्णेश्वर, काठमाडौं

प्रकाशित : भाद्र १८, २०८१ ०९:५७
x
×