कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

विकिलिक्स खुलासा : दाहाल राजनीतिक चतुर्‍याइँ भएका राजनेता

भाद्र २०, २०६८

नयाँदिल्ली — पछिल्ला वर्ष आपसी सम्बन्धमा चिसोपन आए पनि एकताका माओवादी अध्यक्ष पुष्पकमल दाहालबाट भारत निकै प्रभावित भएको र उनलाई राजनीतिक चतुर्‍याइँ भएको नेताका रूपमा नयाँदिल्लीले लिएको विकिलिक्सको खुलासा छ ।


यद्यपि दाहालबारे भारतको त्यस्तो बुझाइ धेरै समय टिक्न सकेन । खासगरी सेनापति प्रकरणपछि सरकारबाट माओवादी बाहिरिएलगत्तै नयाँदिल्लीसँग उनको सम्बन्धको दूरी बढ्यो । यहाँस्थित भारतीय दूतावासको गोप्य विद्युतीय खबर (केबल) अनुसार प्रधानमन्त्रीका रूपमा करिब तीन वर्षअघि दाहालले गरेको भारत भ्रमणको मूल्यांकन गर्दै नेपाल हेर्ने तत्कालीन भारतीय सहसचिव प्रीति शरणले अमेरिकी अधिकारीहरूलाई भनेकी छन्, 'दाहाल एक जना गुरिल्ला नेताबाट राजनेतामा रूपान्तरण भएका छन् ।'
नेपालमा भारतका खास चासोबारे ज्यादै सुझबुझ देखाएको उल्लेख गर्दै शरणले सबै राजनीतिक प्रक्रिया सही ढंगले अघि बढे दाहाललेे फेरि पनि ठूलो जनमत प्राप्त गर्ने भविष्यवाणी गरिन् ।
'वास्तवमा नेपालमा भारतीय चासोहरू जस्तै सुरक्षा, राजनीतिक स्थायित्व, नयाँ संविधान निर्माण र आर्थिक विकासबारे पहिले कुरा उठाउनेमा दाहाल नै थिए,' शरणलाई उद्धृत गर्दै केबलमा उल्लेख गरिएको छ ।
केबलका अनुसार भारतीय वार्ताकारहरूसँगको छलफलमा माओवादी लडाकुबारे नेपालले के गर्नेछ भन्ने विषय पहिले दाहालले नै उठाएका थिए । दाहालले जनमुक्ति सेनाभित्र चरम उत्तरपन्थी र चरम दक्षिणपन्थीबीच गहिरो विभाजन रहेको बताउँदै सामान्य रूपमा नेपाली सेनामा समायोजन गरेरमात्रै यी दुवै पक्षको धारणा खारेज गर्न नसकिने उल्लेख गरेका थिए ।
भारतीय वार्ताकारहरूसँगको छलफलका क्रममा दाहालले सन् १९५० को सन्धि पुनरावलोकनको माग, बाहिर देखाउन मात्रै भएको संकेत दिएको केबलमा उल्लेख छ ।
'सन्धिबाट नेपाललाई भइरहेको फाइदाबारे दाहालले महसुस गरेको बताए । तर आफ्नै सरकारभित्रका अन्य माओवादी साथीहरूलाई खुसी बनाउन सन्धि पुनरावलोकनको दृष्टि आफूलाई आवश्यक भएको उनले भने,' शरणलाई उद्धृत गर्दै केबलमा उल्लेख छ ।
कोइराला राष्ट्रपति भए द्वैध शक्ति केन्द्रः दाहाल
संविधानसभा निर्वाचनपछि उत्पन्न राजनीतिक अप्ठ्यारो फुकाउन भारतबाट प्रभावशाली कम्युनिस्ट नेता सीताराम येचुरी नेपाल पुगेका थिए । निर्वाचनमा माओवादी ठूलो राजनीतिक शक्तिका रूपमा उदय भए पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहज रूपमा सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेपछि राजनीतिक संकट उत्पन्न भएको थियो । येचुरीले त्यतिखेर कोइरालालाई आलंकारिक भूमिकाको अन्तरिम राष्ट्रपतिका रूपमा स्वीकार्न दाहाललाई सुझाव दिएका थिए । यद्यपि कोइरालाले राष्ट्रपति र कमान्डर इनचिफ बन्ने इच्छा येचुरीसँग प्रकट गरेका थिए । दाहालले भने कोइराला राष्ट्रपति भए उनले सेना प्रयोग गरी शक्ति बलियो बनाउन सक्ने र त्यसले द्वैध शक्ति केन्द्रको अवस्था सिर्जना गर्नेतर्क गरेको येचुरीले यहाँस्थित अमेरिकी अधिकारीहरूसँग बताएको केबलमा उल्लेख छ । पछि त्यही अस्वीकारोक्ति दलहरूबीच सहमतिको राजनीति अन्त्य गर्ने कारण बन्न पुग्यो ।
येचुरीले त्यतिबेला नै कंग्रेसलाई राष्ट्रपति, माओवादीलाई प्रधानमन्त्री र एमालेलाई संविधानसभाको अध्यक्ष पद दिए राजनीतिक समीकरण सन्तुलित हुने सुझाव दाहाललाई दिएका थिए । उनले प्रधानमन्त्री पदमा दाहाल जानुभन्दा बाबुराम भट्टराईलाई पठाउन उपयुक्त हुने सुझाव दिएको केबलमा उल्लेख छ । भट्टराईलाई प्रधानमन्त्री प्रस्ताव गर्नु पछाडिको कारण भने केबलमा खुलाइएको छैन ।

प्रकाशित : भाद्र २०, २०६८ ००:१४
x
×