कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३९

पृथ्वी अझै तन्नेरी छ, यसको बैंस जोगाऔं

आश्विन १, २०८१

केपी शर्मा ओली

केपी शर्मा ओली प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष हुन् ।

पृथ्वी अझै तन्नेरी छ, यसको बैंस जोगाऔं

Highlights

  • आजको वातावरण र इकोसिस्टमसम्बन्धी सम्पूर्ण बहस यसैमा केन्द्रित छ- कतै पृथ्वी बुढो नहोस् । अहिले पृथ्वी जीवन्त छ, प्रकृतिमय छ र यौवना छ । भविष्यका सन्ततिका लागि पनि हामीले यसलाई बैंसमै प्रजनन क्षमताहीन नबनाऔं । बैंसमै दर्फरिएको, धस्रिएको, चाउरी परेको र खुम्चिएको पनि नबनाऔं ।

ब्रह्माण्डमा दुई प्रकारका तत्त्व हुन्छन्— एउटा जीव, अर्को निर्जीव । आम रूपमा भन्ने हो भने ब्रह्माण्डमा निर्जीव तत्त्वहरूको प्रभुत्व देख्न सक्छौं । जीवन, सक्रियताको आवश्यक सर्त नभए पनि गतिशीलता भने एक सामान्य नियम हो ।

जीवन एउटा बौद्धिक चेतना हो, तर गति भने ब्रह्माण्डको स्वतन्त्र गुण हो । उदाहरणका लागि, पृथ्वी गतिशील र जीवनमय छ, जबकि सूर्य पनि गतिशील छ, तर जीवनविहीन । सूर्य अग्निकुण्डमय छ, ज्वालामय छ, जलिरहेको छ । यो आफ्नो अक्ष र कक्षमा असाधारण गतिका साथ दौडिरहेको छ । यसको वरिपरि सौर्यमण्डल अर्थात् नवग्रहहरू छन् जसका आआफ्नै उपग्रह हुन्छन् ।

यसरी, निर्जीव भनिएका तत्त्वहरूमा पनि अन्य तत्त्वको सक्रियता हुन्छ । तर, यिनका परमाणुभित्र रहेका न्युट्रोन, प्रोटोन र इलेक्ट्रोनहरूको संयोजनले तिनका रङ, स्वरूप, आकार, चरित्र, गुण, स्वाद आदि फरक–फरक बनाउँछन् । एउटै निर्जीव तत्त्व र अर्को निर्जीव तत्त्वबीचको अन्तर यिनै तत्त्वहरूको संयोजन र मात्राले निर्धारण गर्छ ।

पृथ्वीमा घनत्व कम र आयतन ठूला भएका वस्तु पनि छन्, घनत्व बढी र आयतन सानो भएका वस्तु पनि छन् । हीरा, स्टिल, फलाम, ढुंगा जस्ता घनत्व बढी भएका वस्तु हुन् । आयतन निकै ठूलो भएको काठभन्दा घनत्व बढी हुनाले सानो आयतनको फलाम बढी तौलको हुन्छ । जीवहरूको भिन्नता पनि त्यही हो । त्यहाँभित्र रहेका मोलिक्युल वा अणुभित्र रहेको तत्त्व न्युट्रोन, प्रोटोन र इलेक्ट्रोनको मात्राको भिन्नता हो । जीवन नरहेपछि वा मृत्यु भएपछि मानिस निर्जीव हुन्छ । त्यसको रासायनिक परिवर्तनको प्रक्रिया नै फरक हुन्छ । जीवित रहँदा पाचन प्रणालीको प्रक्रियाबाट त्यसको गति, सञ्चालन र अस्तित्वको प्रक्रिया एउटा हुन्छ । अक्सिजन लिने, रगतमा पुर्‍याउने, खाना खाने, पानी खाने, पानीले खानालाई रगतमा मिलाउने आदि । ठोस खाना र पानी मिलेर हड्डी, मासु, रगत, कपाल, नङ आदि बनाउँछन् ।

श्वासप्रश्वास प्रणाली, पाचन प्रणाली, रक्तसञ्चार प्रणाली जस्ता हाम्रो शरीरमा ११ वटा प्रणाली छन् । जसबाट हाम्रो जीवन चलेको हुन्छ । यी प्रक्रिया समाप्त भएपछि जीवन पनि समाप्त हुन्छ । त्यसपछि अर्को प्रक्रिया हुन्छ । शरीर फुल्ने, गल्ने, सड्ने, बिग्रने, कुहिने आदि । मृत शरीर सड्ने क्रममा फुल्न सक्छ, सुक्न पनि सक्छ ।

जीव र निर्जीवको गति, सक्रियता र परिवर्तन बेग्लाबेग्लै हुन्छ । जीवन भन्नेबित्तिकै त्यहाँ चेतनाको प्रश्न आउँछ । त्यसमा कुनै न कुनै मात्राको चेतना हुन्छ । चेतनाको एउटा स्वचालित विधि पनि हुन्छ । रूखसँग, लहरासँग, फूलसँग, घाँसपातसँग टाउको पनि हुँदैन, मस्तिष्क पनि हुँदैन । तापनि तिनीहरूले आफ्नो जीवनवृत्ति चलाइरहेका हुन्छन् । जराले खाना लिइरहेका हुन्छन् र काण्डबाट माथि हाँगाबिँगातिर सम्प्रेषण गरिरहेका हुन्छन् । एउटा सानो बीउमा आफ्नो वंशावलीका लक्षणहरू निहित हुन्छन् । जस्तोः पीपलको एउटा दानाभित्रको सानो बीउमा पनि त्यसका बाबुआमाको रूप, आकार, गन्ध, बास्ना, स्वाद र रङको जानकारी जैविक रूपमा निहित हुन्छ । तिनको फूल कसरी फुल्थे, हाँगा कसरी लाग्थे ? भलिभाँती जानकारी लिएको हुन्छ ।

पात हेरेर नै रूखको पहिचान गर्न सकिन्छ । जब एउटा सानो बीउले टुसा उमार्छ, बीउ आफैं भने जरामै रहन्छ र बीउ मलको रूपमा परिणत भएर अंकुरको खाना बन्छ । र, टुसोबाट बिरुवाको विकास हुन्छ । यो सानो बिरुवाले आफूलाई जन्माउँछ र सुरुआती केही दिनसम्म बीउको पोषणमा निर्भर रहन्छ । तर पछि, बिरुवाले आफैं जरा फैलाएर माटोबाट पोषण लिन थाल्छ । बिरुवा ठूलो हुँदै जाँदा उसले धेरै टाढासम्म आफ्ना जरा फैलाउनुपर्छ, किनकि त्यो एक ठूलो र भारी रूख बन्छ । त्यस रूखका पात निश्चित समयमा झर्छन्, फेरिन्छन् र हाँगा पनि फैलिन्छन् । यी सबै जानकारी बीउले टुसोलाई हस्तान्तरण गरिरहेको हुन्छ । एक पटक बीउले आफ्नो काम पूरा गरेपछि, टुसो आफैं बढ्दै जान्छ । बिरुवा आफ्नो रूप, आकार, रङ, स्वाद र गुणहरू लिएर बिस्तारै विकसित हुँदै जान्छ, किनभने उसमा उसको जेनेटिक मेमोरी हुन्छ ।

जस्तै, फर्सी वा इस्कुसको लहराले जब आफ्ने वरिपरिका डोरीजस्ता बोटहरू समाउँछ र वरपर बेर्छ, त्यसले आफूलाई थाम्दै अगाडि बढ्छ । यदि यो लहरालाई पर्खालमा लगाइयो भने, इँटाको कुनै सानो भागमा टाँसिएर पनि सहायता लिन सक्छ । यसरी बाँच्न र बढ्न उसले आफ्नो विशेष प्रकारको ज्ञान प्रयोग गरिरहेको हुन्छ, जसलाई हामी चेतना भन्न सक्छौं । यद्यपि त्यो बोट बोल्दैन, संकेत गर्दैन र कुनै विशेष व्यवहार पनि देखाउँदैन, त्यसमा जीवन हुन्छ । यही जीवनले वनस्पतिलाई अक्सिजन उत्सर्जन गर्न मद्दत गर्छ, जसलाई मानिसले सास फेर्दै लिन्छ । अक्सिजनबिनाको जीवन सम्भव छैन । सबै जीवलाई बाँच्न अक्सिजनको आवश्यकता हुन्छ, तर सबैले लिने मात्रा र तरिका फरक हुन सक्छ । जीवहरूले अक्सिजन लिन्छन् र त्यसको बदला कार्बन डाइअक्साइड निकाल्छन् । यो जीवनको एउटा स्थिर प्राकृतिक नियम हो ।

वनस्पतिभन्दा किराफट्यांग्रा बढी सजग हुन्छन् । तिनको टाउको हुन्छ, तर टाउकाको काम धेरै हदसम्म स्वचालित जस्तो हुन्छ । गड्यौला, अमिबा आदि वनस्पति होइनन्, तर उनीहरूसँग वनस्पतिभन्दा बढी सचेतनता छैन । उनीहरूले स्पर्शबाट मात्र जानकारी पाउँछन् । किराहरूसँग थोरै मात्रामा सचेतनता हुन्छ, तर अरू जीवभन्दा मानिसमा सबैभन्दा बढी सचेतनता हुन्छ । सृष्टिको सबभन्दा ठूलो, उन्नत र उत्कृष्ट रचना भनेकै मानव मस्तिष्क हो । मानिसले यथार्थ देख्छ, तर अरू जीवले त्यही यथार्थ फरक तरिकाले देख्छन् । कतिपय ठाउँमा वैज्ञानिक र अनुसन्धानकर्ता पनि अलमलिएका छन् । उदाहरणका लागि, एउटा चिजलाई छेपारोले एउटा रङमा देख्छ, भैंसीले अर्को रङमा र सर्पले फेरि अर्को रङमा । उनीहरूले वास्तविक रङ त्यही रूपमा देख्दैनन् ।

कतिपय जीवहरूले रङीन संसार देख्छन्, तर उनीहरूले वास्तविक रङ ठ्याक्कै देख्न सक्दैनन् । ती जीव ‘कलर बायस्ड’ (रङको भ्रममा आधारित) हुन्छन् । कसैले ‘ब्ल्याक एन्ड ह्वाइट’ मात्र देख्छन्, भने कसैले एउटै रङ मात्र देख्छन्, जस्तैः रातोलाई पहेंलो देख्न सक्छन् । केही वन्यजन्तुसँग ‘नाइट भिजन’ (रातको दृष्टि) हुन्छ, जसका कारण राति पनि राम्ररी देख्न सक्छन् । उदाहरणका लागि, लाटोकोसेरोले रातमा राम्ररी देख्छ । बाघको आँखा राति नीलो देखिन्छ, किनभने उसको आँखामा अन्धकारमा दृष्टिमा सुधार गर्न सक्ने ‘टेपेटम ल्युसिडम’ नामक एउटा विशेष लेन्स हुन्छ । यो लेन्सले अँध्यारोलाई छिचोल्छ र बाघलाई रातमा पनि छर्लंग देख्न मद्दत गर्छ । त्यसैले बाघ दिन होस् या रात, जति तीव्र गतिमा कुदे पनि कहिल्यै रूखमा ठोकिँदैन । कुकुर, बिरालो, गाई, भैंसीहरूले पनि मानिसले भन्दा राम्रोसँग राति देख्न सक्छन्, तर उनीहरूमा आंशिक रङको भ्रम हुन्छ । चिलको दृष्टि निकै टाढासम्म पुग्छ । चिलको आँखामा भएको लेन्सले धेरै उज्यालो वा चिसो मौसममा पनि राम्ररी काम गर्छ ।

मानिसको मस्तिष्क यति उन्नत छ कि यसले आँखाको माध्यमबाट आउने गलत सूचनालाई सच्याउन वा धोका हुन नदिन प्रयास गर्छ । त्यसैले मानिसले राति स्पष्ट देख्न सक्दैन— अँध्यारोलाई अँध्यारै देख्छ र उज्यालोलाई उज्यालै । मानिसले वास्तविक रङ जस्तो छ, त्यसैगरी देख्छ, जस्तै– रातो रङ रातै र हरियो रङ हरियै देख्छ । मानिसको दृष्टि विशेष छ र यसमा अद्भुत क्षमता छ । मानव मस्तिष्कका दुई ठूला विशेषता छन् । पहिलो, रचनात्मकता, सिर्जनशीलता र अनुसन्धानात्मक ज्ञानको खोज । दोस्रो, स्मरणशक्ति (मेमोरी पावर) । स्मरणशक्तिले स्मृतिहरूलाई सञ्चित गर्छ । यदि स्मृतिमा रहेन भने ज्ञान छैन । स्मृतिमा रह्यो भने मात्र ज्ञान हुन्छ । त्यसकारण अनुभूति सँगाल्दै, अनुभवको संग्रह गर्दै जाँदा ज्ञानको निर्माण हुन्छ । अनुभूतिहरू सूत्रबद्ध भएपछि अनुभवमा परिणत हुन्छन् र अनुभव सूत्रबद्ध भएपछि ज्ञानमा परिणत हुन्छ । ज्ञान भनेको अनुभवहरूको प्रामाणिक, प्रशोधित र उच्च तहमा पुगेको खजाना हो ।

ज्ञान, चेतना, जीवन र सुन्दरता पृथ्वीमा मात्र छन् । पृथ्वीका मानव जाति र जीवजन्तुले मात्र ब्रह्माण्ड, आकाश, हिमाल, नदी, धरतीलाई हेर्ने सुन्दर आँखा पाएका छन् र ती आँखा नै पृथ्वी र जीवनका सुन्दरता हुन् । गुलाफको फूल सुन्दर छ, कसले भन्यो ? आँखाले । आँखाले त्यो फूल सुन्दर छ भनेपछि नै त्यो सुन्दरता र कोमलताको प्रतीक बनेको हो । फूल कोमल छ, कसले भन्यो ? चेतनाले, स्पर्शले । बिनास्पर्श फूल कोमल वा कठोर छ कसरी भन्न सकिन्छ र ? यदि दुईवटा ढुंगा जोडियो वा ठोकियो भने, त्यो कोमल थियो कि कठोर, भन्न सकिँदैन । तर दुई जना मानिसले हात मिलाए भने, कसको हात नरम वा कडा, भन्न सकिन्छ । त्यही स्पर्शको सन्देश मस्तिष्कमा पुग्छ र कोमलता, कठोरता, न्यानोपन वा चिसोपन छुट्याउँछ । जीवन साँच्चै गजबको छ, प्रकृति पनि गजबको छ ।

पृथ्वीको जस्तो सुन्दरता न अन्तरिक्षमा, न कुनै नक्षत्रमा, न सूर्यमा, न ग्रह वा उपग्रहमा पाइन्छ । पृथ्वीजस्तो सुन्दरता कतै हुँदैन । पृथ्वीमा जस्ता सुन्दर फूल ब्रह्माण्डमा कहीं फुल्दैनन् । ती सुन्दर फूल, फलफूल र बालबालिका ब्रह्माण्डमा कहीं पनि पाइँदैनन् । यी सबै पृथ्वीमा मात्र छन् । तिनलाई हेर्ने आँखा, त्यस सुन्दरताको रसास्वादन गर्ने चेतना र सौन्दर्यबोध गर्ने मस्तिष्क पृथ्वीमा मात्र छ ।

ब्रह्माण्डमा सबैभन्दा भाग्यमानी नक्षत्र सूर्य हो, जसको वरिपरि ग्रहहरू छन् । पृथ्वी, मंगल, बुध, शुक्र आदि नवग्रह छन् । तीमध्ये सबैभन्दा भाग्यमानी र सुन्दर ग्रह भनेको पृथ्वी नै हो । सुन्दरताको सर्जक पृथ्वी मात्र हो र पृथ्वी नभएको भए यस ब्रह्माण्डको कुनै अर्थ हुने थिएन । ब्रह्माण्ड भए पनि हुन्थ्यो, नभए पनि हुन्थ्यो । सूर्यको पनि कुनै अर्थ थिएन । भए पनि हुन्थ्यो, नभए पनि हुन्थ्यो । यदि पृथ्वीमा वातावरण, मौसम र इकोसिस्टम नभएको भए, जीवनका लागि आवश्यक अक्सिजन र पानी नभएको भए, पृथ्वीको कुनै अर्थ हुने थिएन । यस्तो पृथ्वीमा बाँच्न पाउनु नै एक धन्य अनुभव हो ।

साना परमाणुहरू भित्र पनि क्वान्टम शक्ति बिजुलीको चमकजस्तै देखा पर्दै र हराउँदै गर्छ । जीवन पनि एक प्रकारको क्वान्टम हो, जसरी निर्जीव पदार्थ क्वान्टम सिद्धान्तबाट बनेका हुन्छन् । यी क्वान्टम तत्त्वहरू, जस्तैः न्युट्रोन, इलेक्ट्रोन र प्रोटोनहरूले नै जीवनको स्वरूप निर्धारण गर्छन् । पृथ्वीमा मात्र जीवनको एकाधिकार छ, किनकि पृथ्वी नै जीवनको आधार हो । जीवनलाई जन्म दिने मुख्य तत्त्व प्राण, प्रकृति र वातावरण हुन् । यी सबैलाई जीवन दिने आधार भनेको पृथ्वी हो । सूर्यले पनि यस प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेको छ । सूर्य भाग्यमानी छ, किनकि यसको वरिपरि घुम्ने पृथ्वीले आफ्नो जीवनचक्र चलाइरहेको छ । सूर्यले दिन–रात, वर्षा, सुक्खा, गर्मी, जाडो, शरद र वसन्तको चक्र सिर्जना गर्छ, जसले मौसम निर्माण गर्छ । मौसमले नै इकोसिस्टम बनाउँछ । यसमा सूर्यको भूमिका महत्त्वपूर्ण छ, तर यसले पृथ्वीको महत्त्वलाई कम गर्दैन ।

पृथ्वीको माटो जीवित छ, जसकारण यहाँ रूख, बिरुवा, झारपात, लहरा, किरा, सर्प, गड्यौला, हात्ती, गैंडा र अन्य जीवहरूको उत्पत्ति भएको छ । यति राम्रो बगैंचामा फुलेका फूल कति सुन्दर हुन्छन्, तिनको बास्ना कति मनमोहक हुन्छ । पाकेका फलको स्वाद कति सुस्वादु हुन्छ । एउटा बालकको निर्दोष चेहरा, चम्किला आँखा, निष्कपट मधुर मुस्कान र चराको जस्तै मीठो बोली कति सुन्दर हुन्छ । यो सबै यही पृथ्वीमा मात्र छ । पृथ्वी नै एकमात्र यस्तो ग्रह हो, जहाँ जीवन, सुन्दरता र मानव मस्तिष्क जस्ता चमत्कारहरू छन् ।

अन्तरिक्षमा मिल्की वे जस्ता धेरै ग्यालेक्सीहरू छन्, जसले नै सृष्टिको निर्माण गरेका छन् । पृथ्वीमात्र यस्तो स्थान हो, जहाँ उपयुक्त वातावरण छ । यो सूर्यको एकदम सही दूरीमा अवस्थित छ । पृथ्वी किन घुम्छ भने एउटा भागलाई सेलाउन र अर्को भागलाई न्यानो पार्न । सूर्यले एक भागमा गर्मी र अर्को भागमा जाडो बनाएर वातावरणीय सन्तुलन कायम गर्छ । सूर्यले गर्व गर्नुपर्छ, किनकि आफ्नो मण्डलभित्र रहेको पृथ्वी जीवनमय, उत्पादनशील र हराभरा छ । यस ब्रह्माण्डमा केवल एकमात्र जीवित ग्रह छ— पृथ्वी । यो सुन्दर छ, उत्पादनशील छ र जीवनले भरिपूर्ण बैंसमय छ । यहाँ प्रकृति छ, त्यसैले यहाँ जीव छ । यहाँ जीव छ, त्यसैले सिर्जना छ । समय त ब्रह्माण्डका सबै पिण्डका लागि समान रूपले व्याप्त छ, तर पृथ्वीको समय बेग्लै हो, अरूको बेग्लै । पृथ्वीको समय २४ घण्टाको परिक्रमा र सूर्यको वरिपरि घुमेर एक वर्ष पूरा हुने चक्रमा आधारित छ । पृथ्वीको समय भनेको एउटा दिनको परिक्रमा र एकचोटि सूर्यको वरिपरि घुम्ने चक्र हो । यही आधारमा समयको निर्धारण हुन्छ ।

समय र प्रकृति मिलेर मात्रै सिर्जना सम्भव हुन्छ । प्रकृतिबिना समयले सिर्जना गर्न सक्दैन र सिर्जना गर्‍यो भने पनि त्यो निर्जीव मात्र हुनेछ । प्रकृतिले समयलाई चलाउन पर्दैन, किनकि समय अनन्त हो । समयलाई कुनै पनि तत्त्व— न आगो, न पानी, न पहाड, न हिमालले रोक्न सक्छ । समय पनि पृथ्वीमा आएर मुस्कुराउँछ, किनभने उसले यहाँ प्रकृति पाउँछ । नभए समय उत्पादनहीन, सौन्दर्यहीन भएर घुमिरहन्छ । पृथ्वीमा आएपछि मात्र प्रकृतिको सुन्दरताले समयलाई बैंसालु बनाउँछ । समयले प्रकृतिसँग मिलेर सृष्टि गर्छ । समय आफैंलाई चिन्न पृथ्वीमा आएको हो । प्रकृतिसँग भेटेपछि मात्र समयले आफ्नो अस्तित्व चिन्छ, अनि ब्रह्मस्वरूप सिर्जनामा लाग्छ ।

हामी सृष्टिकर्तालाई ब्रह्म भन्छौं । पुरुषस्वरूपमा समय नै ब्रह्म बनेको हो । तर ब्रह्मले एक्लै सिर्जना गर्न सक्दैन, त्यसैले दुर्गा बनेको हो । दुर्गा भनेको प्रकृति हो । पृथ्वी जवान छ, तन्नेरी छ । तर, अहिले पृथ्वीको माटो बिमारी भएको छ र हाम्रो चिन्ता यही हो । पृथ्वी चाहिन्छ, मात्र सानातिना कुराका लागि होइन, मानव जातिको भविष्यका लागि । वातावरण चाहिन्छ, मानव जातिका लागि ।

एउटा सुन्दर फूल कसले देखेको छ ? जनावरले त त्यसलाई चर्‍यातचुरुत पारेर खाइदिन्छ । अरू त अरू फूल वरिपरि सधैं झुम्मिने माहुरी, पुतली र भँवरा पनि फूलको रसका लागि झुम्मिएका हुन्, सुन्दरताका लागि होइन । एउटा फूलको सुन्दरता मानिसबाहेक कसले देख्न सक्छ र ? यो जीवनमय पृथ्वी, यो सुन्दरताले भरिपूर्ण पृथ्वी, सिर्जना र विकासको बैंसमा छ । ब्रह्माण्डमा कहिल्यै नभएको जीवन चमत्कार अहिले पृथ्वीले देखाइरहेको छ । आज पृथ्वीभरि सडकका धर्काहरू कोरिएका छन् । ती सडकमाथि कुद्ने रेलहरू, गाडीहरू, ट्रकहरू अनेक सवारीसाधनहरू बनेका छन् ।

हराभरा छ पृथ्वी । हावा छ, बादल छ, वर्षा छ, हिउँ छ, पानी छ, मूल छ, झरना छ, तालतलैया, खोल्साखोल्सी र नदीनाला छन् । हिमाल छन् । पहाड छन् । मैदान र फाँट छन् । पानीमा जीवन छ । माछाहरू छन् । जङ्गलमा हात्ती, गैंडा, बाघ, भालु, हरिण र मृगहरू छन् । रूखमै आफ्नो जीवन बिताउने, चारोका लागि जमिनमा ओर्लिए पनि आकाशमै विचरण गर्ने चराचुरुङ्गी र किटपतङ्ग छन् । सर्प, गड्यौला, भ्यागुता छन् । चराहरू जमिनबाट आफूले गुँड अड्याएको वृक्षमा खाना पुर्‍याउन सक्रिय छन् । जगत्को कुनै पनि चिज चुप लागेर बसेको छैन । हरेक बिरुवा र रूखहरूका पातमा परिवर्तन आउँदो छ— कि बढ्दै छन्, कि सुक्दै छन् । कि भरिला हुँदै छन्, कि त ओइलाउँदै छन् । फूलहरू फुलेका फुल्यै छन् । फलहरू फलेका फल्यै छन् । मानिसले घरेलु बनाएका र विकास गरेका अन्नबाली, फलफूल र सागसब्जीहरू आफ्नो बैंस देखाउन गजबसँग हुर्किरहेका छन् वा परिवर्तन भइरहेका छन् ।

मानिसले अचम्म गरेको छ, खानाका लागि खाद्यवस्तुको उत्पादन गरेको छ । मान्छे सभ्य भएको छ, लाज भन्ने चिज पनि सिर्जना गरेको छ । उसले सभ्यताको मूल विषय लाज ढाक्नुलाई बनाएको छ । रङ्गीबिरङ्गी कपडाहरू बनाएको छ, लगाएको छ । करोडौं वर्ष पैतालाले टेकिआएको धरती मान्छेलाई बिझाउँछ, उसले जुत्ता बनाएको छ, लाउँछ । उसले समाज बनाएको छ, थिति बाँधेको छ । थिति टिकाउनका लागि विधि बनाएको छ । बस्नका लागि ओत मात्र होइन, सुन्दर र आरामदायी भवन बनाएको छ । ज्ञान, विज्ञान र प्रविधिको विकास गरेको छ । कहिले प्रविधिलाई

पङ्खा हम्किन लगाउँछ र आफू आराम गर्छ । कहिले पानीबाट आगो निकाल्छ त कहिले उज्यालो । कहिले त्यही प्रविधिलाई आफूलाई सेक्न लगाउँछ । ऊ हत्तपत्त मर्दैन । रोगपिच्छेका औषधि बनाएको छ । कहिले ट्याब्लेट खान्छ, कहिले सुई लगाउँछ । कहिले शरीरबाट अङ्ग झिकेर फाल्छ, कहिले शरीरमा ल्याएर अङ्ग जोड्छ । धरतीको ओल्लो पाटो र पल्लो पाटोमा बसेकाहरू आमनेसामनेमा कुरा गर्छन् । धरतीको ओल्लोपट्टिको प्रोफेसरले पल्लोपट्टिको विद्यार्थीलाई पढाउँछ । नक्कली बौद्धिकता खडा गर्छ र तहल्का मच्चाउँछ । छिट्टै पुग्नका लागि वायुयान बनाउँछ, आकाशमार्ग भई उड्छ ।

पृथ्वीको यौवनको सृष्टिको चकाचौध यस्तो छ । पृथ्वीको यो बैंस नढल्कियोस् । आजको वातावरण र इकोसिस्टमसम्बन्धी सम्पूर्ण बहस यसैमा केन्द्रित छ— कतै पृथ्वी बुढो नहोस् । तर अहिले पृथ्वी जीवन्त छ, प्रकृतिमय छ र यौवना छ । भविष्यका सन्ततिका लागि पनि हामीले यसलाई बैंसमै प्रजनन क्षमताहीन नबनाऔं । बैंसमै यसलाई दर्फरिएको, धस्रिएको, चाउरी परेको र खुम्चिएको पनि नबनाऔं । पृथ्वीको बैंस कायम राखौं ।

प्रकाशित : आश्विन १, २०८१ ०७:०२
x
×