कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

सहकारी ठगीमा गुरुङमाथि अनुसन्धान गर

भाद्र २६, २०८१

सम्पादकीय

कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

सहकारी ठगीमा गुरुङमाथि अनुसन्धान गर

Highlights

  • प्रतिनिधिसभाको सबैभन्दा ठूलो तथा सत्तारूढ दलका उपसभापति, प्रतिनिधिसभाका सदस्य र पूर्वकानुनमन्त्रीसमेत रहेका धनराजमाथिको यो आरोप यत्तिकै ओझेलमा पर्नु हुँदैन ।

सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिनाको आरोपमा प्रतिनिधिसभाका सांसद तथा कांग्रेस उपसभापति धनराज गुरुङसमेत जोडिएका छन् । धनराज र ‘पूर्वश्रीमती’ ज्योति गुरुङले ललितपुरको मितेरी सहकारीको रकम हिनामिना गरेको आरोप लागेको हो ।

यसबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा उजुरी परेको छ भने संसद्मा समेत प्रश्न उठेको छ । यसअघि रास्वपा सभापति तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी आरोप लाग्दा छानबिनको माग गर्न संसद्मा सक्रिय भूमिका निर्वाह गरेका गुरुङमाथि नै यस्तै आरोप लागेका कारण यो प्रश्न संसद्को पनि सरोकारको विषय हो । अन्य व्यक्तिमाथि लागेको यस्तै आरोपका सन्दर्भमा गुरुङले विगतमा गरेका तर्क र सक्रियताले उनीसँग यस्तै अपेक्षा गर्छ ।

ज्योति गुरुङ मितेरी सहकारीको प्रबन्धक रहेका बेलामा १४ करोड ८१ लाख रकम दुरुपयोग गरेको र त्यसमा धनराजको पनि संलग्नता रहेको भनी उक्त रकम उठाउने वातावरण बनाइदिन प्रहरीमा उजुरी गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङको दाबी छ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ मा पनि यो विषय प्रवेश गरेको छ । कुम्भराजले त्यहाँ बयान दिइसकेका छन् । सहकारीको रकम अपचलन भएको चाल पाइसकेपछि सञ्चालक समिति सदस्यहरू र गुरुङ दम्पतीबीच बैठक गरिएको र दम्पतीले ‘जसरी पनि फिर्ता गर्छौं, मिलाउँछौं’ भनेका थिए भन्ने अध्यक्षको भनाइ छ । तर, धनराजले ज्योतिसँग २०७६ फागुनमै सम्बन्धविच्छेद भइसकेको र उनको विषयलाई आफूसँग जोड्न नमिल्ने बताएका छन् । ज्योतिको कारोबारबारे पनि आफूलाई थाहा नभएको उनको भनाइ छ ।

आरोप लागेका अन्य व्यक्तिले जस्तै धनराजले पनि आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनी सही छन् वा गलत भन्ने विस्तृत अनुसन्धानबाट मात्रै खुल्नेछ । अनुसन्धानका क्रममा केही विषयलाई भने केन्द्रमा राख्न जरुरी देखिन्छ । पहिलो, हालसम्म सार्वजनिक विवरणअनुसार सहकारीबाट लिइएको १४ करोड ८१ लाख रकम उनीहरू सगोल बस्दाकै हो र त्यसलाई ‘जसरी पनि फिर्ता गर्छौं’ भनेर उनीहरूले कागज गरेको भनिएको छ । धनराजले भने त्यस कारोबारका विषयमा अनभिज्ञता व्यक्त गरेका छन् । सहकारीसँग रहेको भनिएको सो कागजकै परीक्षणबाट पनि यो विषय सहजै खुट्याउन सकिन्छ ।

दोस्रो, धनराज र ज्योतिबीच भएको भनिएको सम्बन्धविच्छेदको यथार्थमाथि पनि छानबिन गर्न आवश्यक छ । कोही पनि दम्पती सँगै बस्न र छुट्टिन पाउने कानुनी अधिकार हो । यो नितान्त व्यक्तिगत स्वतन्त्रताको विषय हो । तर, आर्थिक अपचलनको विषय पनि जोडिएको छ र कानुनी दाउपेचका लागि सम्बन्धविच्छेद गरिएको हो भने उन्मुक्ति दिन मिल्दैन । सहकारी ठगीमा मुछिएका कैयौं व्यक्तिहरूले सम्बन्धविच्छेद गरेका अनेक उदाहरण छन् ।

सिभिल बैंक र सिभिल को–अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङ, जो सहकारी ठगी प्रकरणमा जेल परेका छन्, उनले पनि श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । त्यस्तै, सुमेरु सहकारीका तत्कालीन अध्यक्ष भरत महर्जनले पनि श्रीमतीसँग सम्बन्धविच्छेदको कानुनी लिखत गरेका थिए । तर, पछि उनैसँग बिहे गरेको कागजात बनाएर बेलायत पलायन भए । सहकारीका सञ्चालक मात्रै होइन, अन्य पेसामा पनि सम्पत्ति जोगाउने तथा कारबाहीबाट बच्ने अनेक उपायहरूमध्ये सम्बन्धविच्छेदको शैली अपनाउने गरिएको छ ।

मुख्यतः प्रतिनिधिसभाको सबैभन्दा ठूलो तथा सत्तारूढ दलका उपसभापति, प्रतिनिधिसभाका सदस्य र पूर्वकानुनमन्त्रीसमेत रहेका धनराजमाथिको यो आरोप यत्तिकै ओझेलमा पर्नु हुँदैन । उनको दल र पदको छाया कतै पर्नु हुँदैन । अहिले पनि आफूमाथि उठेका प्रश्नका आधारमा आफूलाई कस्ता पद र भूमिकामा कायम राख्ने र अलग गर्ने भन्ने उनको नैतिकताको घेराभित्र छ ।

किनकि, धनराज तिनै व्यक्ति हुन्, जसले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नै पार्टीका नेता बालकृष्ण खाण पक्राउ परेपछि उनलाई पार्टीले निलम्बन गर्नुपर्ने आवाज उठाएका थिए । यथोचित नैतिकता प्रदर्शन गर्ने उनको जिम्मेवारी हो । धनराजले व्यक्तिगत तथा पदीय जिम्मेवारी पूरा गरेनन् भने पनि उनीमाथि अनुसन्धान गर्ने कर्तव्य राज्यले भुल्न मिल्दैन ।

प्रकाशित : भाद्र २६, २०८१ ०७:४०
x
×