कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

नीति, नेतृत्व र नैतिकता

भाद्र १४, २०८१

दुर्गा कँडेल छत्कुली

दुर्गा कँडेल छत्कुली राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत छिन् ।

नीति, नेतृत्व र नैतिकता

Highlights

  • नीति सबल, सक्षम र भरपर्दो तथा व्यावहारिक हुनुपर्छ । नीतिको सार्थकता त्यतिबेला हुन्छ, जतिबेला उक्त नीति कार्यान्वयन गर्ने तथा गराउने नेतृत्व सक्षम हुन्छ ।

काठमाडौँ — मानव सभ्यताको विकाससँगै समाज तथा राज्य व्यवस्था सञ्चालन गर्न प्रक्रियाहरूको आवश्यकता पर्न थाल्यो । तिनै नियम तथा विधिलाई वैधानिकता दिने क्रममा नीतिको जन्म भएको मानिन्छ । नीतिले कुनै काम गर्न हुने र नहुने विषयमा स्पष्ट बताउँछ ।

नीति नियमको पालनाले कामको प्रक्रियालाई एकताबद्ध बनाउँछ र यसको परिधिभित्र बसेर गरिएको कामले मात्र उद्देश्यमा पुग्न सकिन्छ । नीतिले कुनै पनि विषयको गन्तव्यसम्मको यात्रा तय गर्छ । नियम असल तथा सरल बाटोको नक्सांकन हो भने उपलब्धिको आधार स्तम्भ पनि ।

कुनै पनि देशको सर्वांगीण विकासका लागि नीति आवश्यक पर्छ । संविधान पनि एउटा नीति हो । राज्य व्यवस्था सञ्चालन गर्ने क्रममा थुप्रै नीति बनाउनुपर्ने हुन्छ । तिनै नीतिको असल तथा सही कार्यान्वयनबाट मात्र तिनको सार्थकता रहेको मानिन्छ । नीति तर्जुमा गर्दा सबै स्थान र परिवेशमा एउटै ठीक हुन्छ भन्ने होइन । कुनै स्थानमा राम्रो मानिएको नीति अर्को स्थानमा राम्रो नहुन सक्छ । कुनै समयमा ठीक मानिएको नीति सधैं ठीक नै मानिन्छ भन्ने हुँॅदैन किनकि समय, काल र परिस्थितिका साथै त्यहाँको आन्तरिक तथा बाह्य वातावरणको अवस्थाले नीतिहरूमा प्रभाव पार्ने हुनाले फरकफरक हुने गर्छ । नीतिलाई लक्ष्यमा पुग्ने भर्‍याङका रूपमा लिन सकिन्छ, जसको सहायताले तोकिएको गन्तव्यमा पुग्न सकिन्छ ।

नीति सबल, सक्षम र भरपर्दो तथा व्यावहारिक हुनुपर्छ । नीति पढ्नका लागि, सुन्नका लागि र हेर्नका लागि राम्रो भएर मात्र हुँदैन । कार्यान्वयनको पक्ष सरल र व्यावहारिक हुनुपर्छ । कार्यान्वयनको पक्ष सरल र माटो सुहाउँदो नीतिले उपलब्धि हासिल गर्न सकिन्छ । नीतिको सार्थकता त्यतिबेला हुन्छ, जतिबेला उक्त नीति कार्यान्वयन गर्ने तथा गराउने सक्षम नेतृत्व रहेको हुन्छ । नीति सरल र माटो सुहाउँदो पनि बन्ला, त्यसको कार्यान्वयन गर्ने तथा गराउने नेतृत्व सही भएन भने राम्रो नीति हुनुको अर्थ रहँदैन । नीतिको उचित कार्यान्वयन गर्ने, गराउने कला नेतृत्वमा हुनुपर्छ । नीति सबल र नेतृत्व सक्षम त्यतिबेला स्थापित हुन्छ, जतिबेला नैतिकता सतिसालझैं अडिग रहन्छ । नैतिकता भएन भने नीति र नेतृत्व सबल र सक्षम रहँदारहँदै पनि उपलब्धि प्रभावकारी भएको देखिँदैन ।

कुनै पनि मुलुक तथा राज्य व्यवस्थालाई समृद्ध बनाउनका लागि त्यस देशमा रहेका नीति, नेतृत्व र नैतिकताले महत्त्व राख्छ । सबल नीति, सक्षम नेतृत्व र आदर्शवान् नैतिकताले समृद्ध राष्ट्रको परिकल्पना गर्न सकिन्छ । सही किसिमको नीति कार्यान्वयन गर्न सक्षम नेतृत्वको आवश्यकता त पर्छ नै नेतृत्वमा नैतिक आदर्श पनि हुनु आवश्यक छ । नेतृत्वले नीतिअनुरूप आफ्ना क्रियाकलाप सञ्चालन गर्नुपर्छ । नीति बुझ्ने नेतृत्व भएमा त्यसको कार्यान्वयन प्रभावकारी हुन सक्छ ।

प्रसंगलाई हाम्रो समाजसँग जोड्दा, हामीकहाँ सबल नीति तर्जुमा गरिए, नेतृत्व पनि नभएको होइन तर उपलब्धि हासिल हुन सकेन किन ? अहिलेको मूल जड यहीँनिर अल्झेको छ । नीति बने तर कार्यान्वयन सही किसिमबाट हुन सकेन । नीतिलाई पालना गर्ने नेतृत्वको अभावमा नीति जस्तोसुकै राम्रो बने पनि कार्यान्वयन गर्ने नेतृत्व सक्षम भएन र प्रभावकारी कार्यान्वयन हुन सकेन भने राम्रो नीति मानिँदैन । प्रभावकारी कार्यान्वयनपछि प्राप्त सकारात्मक नतिजाले मात्र नीति सबल हुनुको सार्थकता मानिन्छ । असल संस्कारले मानिसमा इमानदारी, कर्तव्यनिष्ठ र सत्मार्गको बाटोमा डोर्‍याउन सिकाउँछ । यदि असल संस्कारको विकासले मानिसमा के गर्न हुने र के गर्न नहुने बोध गराउँछ भने त्यहाँ अन्याय, अत्याचार, हत्या, हिंसा, भ्रष्टाचार जस्ता

विषय प्रवेश पाउँदैनन् । नेतृत्वको कार्यशैली नैतिकवान् हुन सक्यो भने अनुयायीले पनि नेतृत्वको अनुसरण गर्छन् । असल कर्मको अनुसरणले फल असल नै प्राप्त हुन्छ । असल नीति नैतिकवान् नेतृत्वद्वारा कार्यान्वयनको अवस्था देशमा जबसम्म रहँदैन तबसम्म विभिन्न समस्या देखा परिरहन्छन् ।

देशको विद्यमान अवस्था हेर्ने हो भने अवस्था दिन प्रतिदिन खस्कँदो स्थितिमा पुगेको छ । देशमा बेरोजगारी व्याप्त छ, महँगी, झूटको खेती दिन प्रतिदिन मौलाएको छ । राम्रा होइन हाम्राले प्रश्रय पाइरहेका छन् । सुशासन हराउँदै छ । भ्रष्टाचार मौलाएको छ । व्यापार घाटा चुलिँदो छ । निर्यात न्यून हुँदै गएको छ । युवापिँढी देशबाट बाहिरिएको छ । जमिन बाँझिएको छ । महँगी आकासिएको छ । मानिसमा श्रम गर्ने बानी हराइसकेको छ । देशमा पाका तथा केटाकेटीको उमेर समूह अधिक रहेको छ । यही क्रमले युवापिँढी बाहिरिने र नफर्कने अवस्था आयो भने घरहरू वृद्धाश्रममा परिणत हुने निश्चित प्रायः छ । आन्तरिक तथा विदेशी ऋणको भार हरेक वर्ष थपिँदै छ ।

चालु खर्च धान्न आम्दानी तथा राजस्वले धौधौ पर्ने स्थिति रहेकाले पुँजीगत खर्च तथा लगानीमा विदेशीको आस गर्नुपर्ने स्थिति छ । आयात कम गर्ने हो भने आम्दानीमा सिधै असर पर्छ । देशको चालु खर्च धान्न कठिन भएको अवस्थामा लगानीको वातावरण सिर्जना हुने, उद्योगधन्दा, कलकारखाना, निर्माणका कार्य सञ्चालन जस्ता विषयले प्रवेश पाउने कुरै भएन । देशमा बन्ने आवधिक योजना, नीति तथा कार्यक्रम, बजेट, मौद्रिक नीति जस्ता नीति निरन्तरताका रूपमा समयमा आउँछन् तर तिनको कार्यान्वयन पक्षमा फितलोपना देखिन्छ । दातृ राष्ट्रहरूले गरेको लगानीका प्रतिबद्धताको कार्यान्वयन समयमा पूरा हुन सकिरहेको छैन । यसो हुनु भनेको देशप्रतिको अविश्वास सिर्जना हुनु हो ।

देश रेमिट्यान्सले धानिरहेको छ । विदेशमा पसिना बगाएर ल्याएको रकम खाएर उडाउने र आयातमा लगानी भइरहेको छ । धनी र गरिबबीचको खाडल गहिरिँदै छ । अस्थिर राजनीतिले विकासको गति समाउन सकिरहेको छैन । एउटा सरकारले अघि सारेका परियोजनाले अर्को सरकार परिवर्तनपछि निरन्तरता पाउँदैन । आयोजना तथा परियोजनामा भएको लगानी खेर जाने, समयमा सम्पन्न हुन नसक्ने जसले गर्दा लागत अनुमान गरेभन्दा धेरै बढी हुन्छ । यसरी कतिपय परियोजना अलपत्र परेका कारण लगानी माटोमा विलीन भएको देखिन्छ । हचुवाको भरमा विश्लेषण नै नगरी तर्जुमा गरिएका कार्यक्रम र नीति नियमको पूर्ण पालना नगर्दा न काम समयमा सम्पन्न हुन्छ, न त सोचेअनुरूप उपलब्धि हासिल हुन्छ । हिजोका दिनमा अन्य देशलाई खाद्यान्न, जडीबुटी, लत्ताकपडालगायत विविध सामग्री निर्यात गर्ने देश आज आयातमा जीवन धान्ने अवस्थाको अन्त्य हुन जरुरी छ ।

पृथ्वीनारायण शाहले आर्ज्याको मुलुक नेपाल प्राकृतिक रूपमा सुन्दर, सांस्कृतिक रूपमा विविधता, धार्मिक रूपमा तपोभूमि, भौगोलिक रूपमा रमणीय देश हो । यहाँ शान्तिका अग्रदूत गौतम बुद्ध, भृकुटी, सीता, अरनिको जस्ता आदर्श व्यक्तित्वको जन्म भयो र देशको कीर्ति देश/विदेशमा फैलाए । यिनै आदर्शवान् व्यक्तित्वको अनुसरण गरी हरेक वर्ग समुदाय र सरोकारवाला सबैले आ–आफ्नो तहबाट व्यवहार प्रदर्शित गरी अगाडि बढ्नुको विकल्प छैन । हामीले अरूले के गरे भन्नु भन्दा पनि मैले के गर्नुपर्छ भन्ने भावनाको विकास गरी काम गर्न सके दिगो विकास सम्भव छ । यसका लागि बनेका नीति समयानुकूल पुनर्लेखन गर्ने, सक्षम नेतृत्व चयन गर्ने र नेतृत्वमा नैतिकता, आदर्श वरण गर्ने प्रवृत्ति हुनुपर्छ । नीति, नेतृत्व र नैतिकताको त्रिवेणीले मात्र समृद्धि सम्भव हुन्छ ।

– छत्कुली राष्ट्रिय वाणिज्य बैंककी उपकार्यकारी अधिकृत हुन् ।

प्रकाशित : भाद्र १४, २०८१ ०७:१७
x
×