कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

यसकारण खस्कियो प्रचण्ड ‘ब्रान्ड’

भाद्र १०, २०८१

राजाराम गौतम

पत्रकार गौतम कान्तिपुरका लेखक हुन् ।

यसकारण खस्कियो प्रचण्ड ‘ब्रान्ड’

Highlights

  • माओवादीको राजनीतिक उत्थान प्रचण्डको ‘ब्रान्ड भ्यालु’ मा निर्भर रहन्छ । तर, नेपाली राजनीतिमा प्रचण्ड ‘ब्रान्ड’ यति खस्केको छ कि, यो पुरानै मूल्यमा फर्कने सम्भावना अति न्यून छ ।

सिंहदरबारको सिंहासनबाट खसेपछि जब पेरिसडाँडाको कुर्सी पनि हल्लिन थाल्यो, निवर्तमान प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रतिरक्षात्मक बन्न पुगेका छन् । दुई ठूला दल कांग्रेस–एमालेबीच गठबन्धन बनेपछि संसदीय गणितमा ‘तुरूपको एक्का’ बनेको म्याजिक नम्बर (३२ सिट) को औचित्य तत्कालका लागि समाप्त भएसँगै एकातिर उनी सत्ताखेलको रिङबाट बाहिरिएका छन् भने अर्कोतर्फ उनको नेतृत्वलाई लिएर पार्टीमा प्रश्न उठ्न थालेको छ ।

उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा लिखित रूपमै प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव राखेपछि माओवादीको घरेलु अन्तरद्वन्द्व सतहमा आएको छ । शर्माको प्रस्तावउपर केन्द्रीय कमिटीमा छलफल गर्ने गरी अन्तर्विरोध तत्कालका लागि साम्य भएको छ । प्रचण्डले शर्मासँगको अन्तर्द्वन्द्वलाई ‘खाना पकाउन अँगुल्टो ठोस्दा धूँवा उठेजस्तो मात्रै हो’ भनेर कार्यकर्ता खपतका लागि सामान्यीकरण गर्न खोजेका छन् । यद्यपि, दुई लाइन संघर्ष चलाउने समकक्षी नेताहरू मोहन वैद्य, बाबुराम भट्टराई आदिलाई किनारा लगाएर निर्विकल्प र सर्वेसर्वा जस्तै बनेका प्रचण्ड दोस्रो पुस्ताका नेताले चुनौती दिन थालेपछि झस्केका छन् । पार्टीवृत्त भित्र र बाहिर दुवैखाले घेराबन्दीमा परेका उनी अहिले योजनाबद्ध प्रतिवादमा जुटेका छन् ।

जस्तो कि, कांग्रेस–एमाले गठबन्धन सरकारप्रति उनको चर्को आलोचना सत्ताविमुख हुनुपर्दाको पीडा र आवेग मात्रै होइन । उनले सरकारको चर्कार् आलोचना गरेर उसलाई दबाबमा राख्ने र प्रतिपक्षी आवाज मुखरित गरिरहेको सन्देश दिन खोजेका छन् । आफ्नो सरकारले सुरु गरेको भ्रष्टाचारविरोधी अभियानबाट डराएर दुई ठूला पार्टी मिलेको आरोप लगाउँदै उनले लगातार यो मुद्दा संसद्भित्र र बाहिरका फोरमहरूमा उठाउनुको तात्पर्य यही हो । प्रचण्ड ओलीप्रति गरम मिजासमा प्रस्तुत हुने गरेका छन् भने देउवालाई ‘सफ्ट कर्नर’ मा राखेका छन् । सरकारप्रति कडा रूपमा प्रस्तुत भएर प्रचण्ड गतिशील प्रतिपक्षी नेताको छवि निर्माण गर्ने रणनीतिमा एकातिर देखिन्छन् भने अर्कोतर्फ देउवाप्रति नरम भएर कांग्रेससँगको सहकार्यको ढोका खुलै रहेको सन्देश पनि दिइराखेका छन् ।

पार्टीभित्रको चुनौती सामना गर्न पनि उनले दुई अस्त्र अघि सारेका छन् । पहिलो, कम्युनिस्ट एकता र मोर्चाबन्दीको कुरा गरेर । जब–जब राजनीतिक रूपमा आफूलाई असुरक्षित ठान्छन्, उनी कम्युनिस्ट एकताका कुरा गर्छन् । विगतका कांग्रेससँगको गठबन्धनमा रहँदा पनि उनी

आफ्नो ‘स्टेक’ कमजोर भएको अनुभूति हुँदासाथ समाजवादी मोर्चाको कार्ड अघि सार्थे । अहिले पार्टीभित्र नेतृत्व हस्तान्तरणको कुरा उठेपछि उनले त्यही समाजवादी मोर्चा गुहारे । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग ‘मन्त्रणा’ गरे । उनलाई प्रधानमन्त्री पदको ‘ललिपप’ देखाए । विप्लवसँग पनि पार्टी एकताको प्रस्ताव राख्न भ्याए । तर, एकीकृत समाजवादी र विप्लव माओवादीले ‘हतारमा एकता गरेर फुर्सदमा नपछुताउने’ जवाफ दिएपछि अहिले नै एकता प्रक्रिया बढिहाल्ने कुरा टरेको छ । यद्यपि, प्रचण्डले आफूलाई नेताका रूपमा अविच्छिन्न राखिराख्न यो मुद्दा बोकिरहनेछन् ।

दोस्रो, सत्ताविमुख भएपछि उनको नजर अब कार्यकर्ता पंक्तितिर परेको छ । उनका लक्ष्यदार भाषणहरू कार्यकर्तालाई तरंगित पार्ने मनसुवाबाट प्रेरित छन् । हालैको एक कार्यक्रममा उनले अब सच्चिएर अघि बढ्ने प्रतिबद्धता मात्रै व्यक्त गरेनन्, २०६४ मा जस्तै पहिलो ठूलो पार्टी बन्ने महत्त्वाकांक्षा कार्यकर्ता पंक्तिमा जगाउन खोजे । २०६४ को पहिलो संविधानसभाको चुनावमा माओवादीलाई मत दिने मतदाता, नयाँ मतदाता, जनमुक्ति सेना आदिको सूची तयार पार्न, सामाजिक सञ्जाल प्रयोग गर्न कार्यकर्तालाई निर्देश गर्दै उनले भने, ‘बीचमा घुनपुत्लो लाग्यो, धूलो, मैलो लाग्यो अब टकटकाएर आएका छौं । अब गल्ती नदोहोर्‍याउने संकल्प गर्दै सबैलाई सम्पर्क गर्ने, अपिल गर्ने र चुनावमा फेरि एकचोटि सहयोग माग्नुपर्छ । हामी २०६४ को जस्तै ठूलो पार्टी बन्छौं ।’

सत्ताबाट ओर्लेपछिका प्रचण्डका यी प्रयास/रणनीति कति फलिभूत होलान् ? करिब–करिब विघटनको संघारमा आइपुगेको माओवादीको राजनीतिक पुनर्उत्थान होला ? प्रचण्ड स्वयंको राजनीतिक पुनरोदयको सम्भावना कति छ ? आफ्नो नेतृत्वप्रतिको असन्तुष्टि साम्य पार्ने उनको यो जुक्ति मात्रै त होइन ? प्रचण्डका अभिव्यक्तिले यी प्रश्न स्वाभाविक उठ्छन् । यो विश्लेषण यिनै प्रश्नमा आधारित भएर गरिनेछ ।

नेकपा माओवादी केन्द्र दशक लामो हिंसाको राजनीतिक जगबाट निर्मित पार्टी हो । १७ हजार मानिस बलिबेदीमा चढेर यो पार्टीको जग बनेको हो । र, त्यो रक्तरञ्जित इतिहासको जगमा एउटा मिथ बनेर नेपाली राजनीतिमा प्रचण्डको उदय भएको थियो । नेपाली समाजको एउटा तप्काको ‘प्रचण्ड मोह’ अहिलेको लोकरिझ्याइँमा लिप्त नेताहरू भन्दा कैयौं गुणा माथि थियो । एकताका उनी भुइँ वर्गका ‘मसीहा’ बनेका थिए । तर, जब उनी भूमिगत जीवनबाट खुला राजनीतिक परिवेशमा होमिँदै सत्ता राजनीतिको दलदलमा भासिए, उनीप्रतिको आकर्षण र भ्रमका पर्दाहरू च्यातिँदै गए । आज उनको परिचय एउटा सत्ताकांक्षी नेताका रूपमा समेटिएको छ । माओवादीलाई फेरि सबैभन्दा ठूलो पार्टी बनाउने प्रचण्ड ‘ख्वाब’ को विवेचना यो पृष्ठभूमिको आलोकमा गरिनुपर्छ ।

निःसन्देह प्रचण्ड माओवादी पार्टीका ‘ब्रान्ड’ हुन् । विद्रोह र शान्ति प्रक्रियाका नेता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवि, सत्ता राजनीतिको अनुभव भएका रणनीतिकार आदि कारण उनी ‘ब्रान्ड’ भएका हुन् । त्यसर्थ यो पार्टीको राजनीतिक उत्थान प्रचण्डको ‘ब्रान्ड भ्यालु’ मा निर्भर रहन्छ । तर, नेपाली राजनीतिमा प्रचण्ड ‘ब्रान्ड’ यति खस्केको छ कि, यो पुरानै मूल्यमा फर्कने सम्भावना अति न्यून छ ।

विद्रोह र शान्तिपूर्ण राजनीति दुवै कालखण्डमा नेतृत्वमा रहने दुर्लभ अवसर पाएका प्रचण्डले शान्ति प्रक्रिया हुँदै संविधान निर्माणमा निर्वाह गरेको भूमिका नजरअन्दाज गर्न मिल्दैन । पछिल्लो कालखण्डमा नेपाली राजनीतिका कैयौं मुद्दाहरू माओवादीकै देन हुन् । यद्यपि, यो राजनीतिक रूपान्तरणको भागीदार प्रचण्डले दाबी गरेजस्तो एक्लो माओवादीचाहिँ होइन । संसदीय राजनीतिक दल र माओवादीबीचको सहकार्यले मुलुकमा शान्तिपूर्ण राजनीतिक पुनःस्थापना हुन्छ भन्ने आसले आमजनताको साथ, समर्थन र सहभागितामा यो राजनीतिक रूपान्तरण सम्भव भएको हो । यसमा माओवादी ‘फ्याक्टर’ को बलियो भूमिका छ ।

तर, अर्को सत्य के हो भने, मुलुकमा व्याप्त निराशा, कुशासन, राजनीतिक बेइमानी र विचलनमा पनि उसको उत्तिकै ‘स्टेक’ छ । त्यो ‘स्टेक’ मा पनि प्रचण्ड सबैभन्दा अगाडि छन् । करिब दुई वर्षयताको सत्ता राजनीतिको खेलोमा त प्रचण्ड अस्थिरताका पर्यायवाची नै बने । प्रचण्डले कांग्रेससँगको गठबन्धनमा चुनाव लडे । चुनावपछि कांग्रेस पहिलो पार्टी बन्यो, माओवादी तेस्रो ।

चुनावमा तेस्रो भए पनि गठबन्धन बन्दा ‘किङमेकर’ आफैं हुन सक्ने पूर्वानुमान प्रचण्डलाई पहिले नै थियो । तर, देउवासँग प्रधानमन्त्री हुने सहमति पनि उनले गरेका थिए । तर, सबैभन्दा ठूलो पार्टी भएपछि देउवा वचनबाट पछि हटेर पहिलो चरणमा आफैं प्रधानमन्त्री हुन चाहे । देउवाको धोकाले प्रचण्डलाई ओलीको शरणमा पुर्‍यायो । कांग्रेस–माओवादी गठबन्धन भत्काउने रणनीति पालेर बसेका ओलीले प्रचण्डलाई शरण दिए । फलस्रुरूप, उनी १० पुस, २०७९ मा तेस्रो पटक प्रधानमन्त्री बने ।

तर, ओलीसँगको सहकार्य दुई महिना मात्रै टिक्यो । राष्ट्रपति निर्वाचनको मुद्दामा विमति देखाएर प्रचण्ड पुनः कांग्रेससँगै लगनगाँठो कस्न आइपुगे । यसपटकचाहिँ कम्युनिस्ट मिल्न नदिने रणनीतिअनुरूप देउवा प्रचण्डलाई पहिलो चरणमै प्रधानमन्त्री मान्न तयार भए । दुई–दुई वर्ष आलोपालो प्रधानमन्त्री बन्ने भद्र सहमति पनि भयो । तर, प्रचण्डको मन देउवासँग फेरि टिकेन । उनी कम्युनिस्ट सहकार्य र एकताको आवरणमा २०८० फागुनमा ओलीकै काखमा फर्किए । पटक पटक सत्ताको काँध फेर्ने प्रचण्ड निर्णयको एउटै अन्तर्य थियो, दुई ठूला दललाई खेलाइ खेलाइ पाँचै वर्ष सत्तारोहण गर्ने ।

बाँचुञ्चेल उथलपुथल गरिरहने उद्घोष गरेका प्रचण्ड पछिल्लो पटक फेरि कांग्रेसतिरै फर्किने सुरसार गर्दै थिए, ‘वुमर्‍याङ’ भयो । दुई ठूला दल एकै ठाउँमा आए र उनको गद्दी गुम्यो । गद्दी मात्रै गुमेन, अस्थिर राजनीतिका मूल प्रतिनिधि पात्रमा दरिए । अवसरवाद र अस्थिरताका कारक देखिएका प्रचण्डले आफ्नो र पार्टीको राजनीतिक उत्थानको एउटा गतिलो अवसर गुमाए ।

उनी आफैंले पटक–पटक केही गरेर देखाउने अन्तिम अवसर प्राप्त भएको भनेका पनि हुन् । तर, सत्ता र शक्ति मोहमा पर्दा त्यो अवसर त चुक्यो नै, उनको राजनीति नै ‘स्याचुरेसन’ मा आइपुगेको छ । लाग्छ, सत्ताकांक्षाबाहेक उनीसँग अब अरू कुनै स्वप्न रहेन । तत्कालको अनुकूलता र प्रतिकूलता हेरेर निर्णय लिने, कार्यकर्ता र श्रोताको खपतका लागि जे पनि भनिदिने द्वैध चरित्रले ग्रसित छन्, उनी । हालै एउटा कार्यक्रममा नुवाकोटका कार्यकर्तालाई सम्बोधन गर्दै उनले तिनको खुब प्रशंसा गरे । तिनको योगदानको चर्चा गरे,

पोस्टबहादुर बोगटीलाई सम्झेर सहानुभूति बटुल्न खोजे । यही शैली उनले रोल्पा पुग्दा पनि प्रयोग गर्छन् र गोरखा पुग्दा पनि । प्रचण्डको यो प्रवृत्ति र कार्यशैली बुझेका कार्यकर्ता पंक्तिले उनको नेतृत्वमा अब पनि पार्टीको राजनीतिक उत्थान होला भनेर कुन आधारमा पत्याउलान् ?

अर्को कुरा, प्रचण्डको वर्ग फेरिएको छ । उनी अभिजात्य वर्गमा रूपान्तरित भएका छन् । गोकर्ण रिसोर्टमा उनकी नातिनीको ‘कुलीन विवाह समारोह’ अरूले भुले पनि कार्यकर्ता पंक्तिले भुलेको छैन । जुन पृष्ठभूमि र वर्गबाट उनको राजनीतिक उत्थान भयो, ती भुइँमान्छेहरू सँगको मुद्दाबाट उनी निकै टाढा पुगिसके । माओवादीकै शब्दमा, प्रचण्डको बुर्जुवाकरण भइसक्यो । हुन त प्रचण्ड अचेल हरेक भाषणमा कांग्रेस–एमालेबीच गठबन्धनलाई प्रश्न गर्छन्, ‘बिचौलिया र विवादास्पद व्यापारीको सहजीकरणमा बनेको सरकारले सुशासनको गफ दिने ?’ तर, तिनै बिचौलियाका चोटाकोठा कुनै समय उनका लागि पनि ‘चारधाम’ नै बनेको थियो । उनको सत्तारोहणका सूत्रधारहरू पनि बिचौलियाहरू नै हुन् भन्ने यथार्थ कहींकतै छिपेको छैन ।

खासमा कम्युनिस्टहरू दलाल पुँजीवादका कारण पार्टीहरू कमजोर हुँदै गएको दाबी गर्छन् । यथार्थमा दलाल पुँजीवादका असली पृष्ठपोषकहरू ठूला कम्युनिस्ट नेता नै हुन् । प्रचण्ड तीमध्येकै एक हुन् । सारमा, माओवादीको राजनीतिक पुनर्गठन र पुनर्उत्थानका लागि प्रचण्डसँग न कुनै सर्दाम छ । न त ऊर्जा नै । चार दशकदेखि अनवरत पार्टी नेतृत्वमा रहेका, बारम्बार शासकीय असफलता भोगेका, वर्गीय पृष्ठभूमि भुलेर कुलीन बनेका, राजनीतिक विचलनले शिथिल भएका, पद र शक्तिमा लिप्त हुने बानी परिसकेका, क्रान्ति, विद्रोह, समृद्धिका गफ दिइराख्ने तर परिवारवादको मोहमा चुर्लुम्म डुबेका प्रचण्डसँग अब आस गर्ने ठाउँ छैन ।

हुन त माओवादीहरू पार्टीको अवस्था जति नै दुर्बल भए पनि प्रचण्डबिनाको अस्तित्व अपेक्षा गर्दैनन् । यहाँनेर माओवादी नेता राम कार्कीको एउटा पुरानो तर चर्चित टिप्पणीको स्मरण हुन्छ । केही वर्षअघि उनले राजनीतिक रूपमा चरम स्खलित आफ्नो पार्टीको निर्मम समीक्षा गर्दै भनेका थिए, ‘माओवादीसँग अब सम्पत्तिको नाममा प्रचण्ड मात्रै बाँकी छन् । माओवादीसँग अब केही बाँकी छैन, न राजनीति, न सेना, न संगठन न त कार्यदिशा । जे छ, प्रचण्ड मात्रै छन् । भएको त्यो सम्पत्ति किफायत नगरिए केही बाँकी रहने छैन ।’

किफायतीबाट प्रचण्ड कति जोगिएका छन्, नेतृत्व हस्तान्तरणको माग गर्दै नेतृत्वको विकल्प खोजिरहेका माओवादीहरू नै जानुन् । तर, मिथबाट उदाएका विद्रोही नेता प्रचण्डको कद, रंगरूपचाहिँ सबै फेरिएकोचाहिँ यथार्थ हो । बदलिएको प्रचण्ड कायाले माओवादीको राजनीतिक चोला कति फेर्ला ? विश्वस्त हुने आधार झेटिँदैन ।

प्रकाशित : भाद्र १०, २०८१ ०८:२६
x
×