हरेक वर्ष भदौ तथा असोज महिनामा देशका विभिन्न स्थान डेंगी संक्रमणको ‘हटस्पट’ बन्ने गरेका छन् । पछिल्ला वर्षहरूमा क्रमिक रूपमा सबै जिल्लामा डेंगी संक्रमण पुष्टि हुने गरेको भए पनि खासखास जिल्ला वा स्थानमा भने तीव्र रूपमा फैलिने गरेको छ ।
जस्तो कि, २०७९ मा काठमाडौं उपत्यका र २०८० मा सुनसरीको धरानमा संक्रमण उच्च देखिएको थियो । यस वर्ष ७४ जिल्लामा डेंगी संक्रमण फैलिसकेको छ । र, झन्डै ५ हजार मान्छे संक्रमित भइसकेका छन् । तनहुँको आँबुखैरेनी बजार क्षेत्रमा दैनिकजसो २०/३० जनामा संक्रमण पुष्टि हुन थालेकाले त्यहाँ प्रकोपकै रूप लिन सक्ने आकलन गरिएको छ । त्यस अतिरिक्त काठमाडौं, कास्की, पर्वत, चितवन, झापा, गोरखा, मकवानपुर, पाल्पा, भोजपुर, काभ्रेलगायतका जिल्लामा पनि संक्रमितको संख्या तुलनात्मक रूपमा बढी छ । डेंगीको संक्रमण तीव्र बन्न सक्ने समय भर्खर सुरु भएकाले अन्यत्र पनि प्रकोपको सम्भावना छ । त्यसैले यसप्रति सचेत बन्न आवश्यक छ ।
संक्रमित एडिस जातको पोथी लामखुट्टेमार्फत फैलिने डेंगी भाइरसको संक्रमण नेपालीका निम्ति नयाँ होइन । यसको संक्रमणपछि मानिसले भोग्ने पीडाका अनुभव सालैपिच्छे व्यक्त हुने गरेका छन् । सामान्यतयाः उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जीउ अत्यधिक दुख्ने गर्छ । कतिपयलाई रक्तश्राव भएर ज्यान नै जोखिममा पर्ने तथा मृत्यु हुन सक्ने चिकित्सकहरू बताउँछन् । परिवारका एक सदस्य संक्रमित भएपछि बाँकी पनि संक्रमित हुने सम्भावना बढ्ने भएकाले यसले पारिवारिक दैनिकी नै बिथोलिदिन्छ । अन्य सामाजिक र संस्थागत गतिविधि पनि प्रभावित हुन्छ । त्यसैले संक्रमणबाट जोगिनका लागि समय छँदै प्रयत्न गर्नु आवश्यक छ ।
लामखुट्टेको टोकाइबाट जोगिनु नै डेंगी संक्रमणबाट जोगिने एक मात्र उपाय हो । यस प्रकृतिको लामखुट्टे मान्छे वरपर नै रहन रुचाउने भएकाले व्यक्तिगत रूपमा सचेत र होसियारी बन्न आवश्यक छ । लामखुट्टेको विकास प्रक्रिया अवरुद्ध गर्नका लागि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, गमलामा पानी जम्न नदिने र घरभित्र वा पानी राख्ने भाँडाकुँडामा लामखुट्टे छिर्न नदिने गरी छोपेर राख्न सकिन्छ । टोकाइबाट बच्नका लागि घरको झ्यालढोकामा जाली प्रयोग गर्ने, राति सुत्दा झुल लगाएर सुत्ने, लामो बाहुला भएको लुगा लगाउने वा मल्हम प्रयोग गर्न सकिन्छ । विज्ञहरूले डेंगी संक्रमण गराउने लामखुट्टे खासगरी बिहान र बेलुका बढी सक्रिय हुने बताउने गरेका छन् । यो पक्षलाई विशेष ध्यान दिएर व्यक्तिगत गतिविधिलाई चलायमान गर्न सकिन्छ ।
साथसाथै, कतिपय प्रयत्न व्यक्तिगत क्षमताभन्दा बाहिरको हुने भएकाले राज्य/संस्थागत रूपमा गरिने पहल पनि आवश्यक हुन्छ । खासगरी सार्वजनिक स्थानहरूमा फालिने र थोरै पानी जम्न सक्ने पुराना टायर, फुटेका भाँडा, प्लास्टिकका खोल, बोलत वा बोतलका बिर्कोमा जम्ने पानी लामखुट्टेको विकास प्रक्रियाका लागि निकै सहयोगी हुन्छन् । त्यसैले लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिन आवश्यक हुन्छ । यसका लागि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्न, लार्भा नष्ट गर्नका लागि आवश्यक सामग्री र छर्किने औषधि उपलब्ध गराउन तथा समुदायको साझा प्रयत्नलाई एकीकृत गर्न सकिन्छ ।
स्थानीय तहहरूले सरोकारवाला संस्थाहरूको साथ लिएर अभियानलाई कार्यान्वयन गर्न सक्छन् । मानिसहरूले अञ्जानमै फालिदिने कैयौं सामानमा पानी जम्ने र त्यहीँ लामखुट्टेको नयाँ जीवन आरम्भ हुने भएकाले त्यस्ता व्यवहार निरुत्साहित गर्नका लागि चेतना फैलाउन आवश्यक छ । पर्चा वितरण गर्नेदेखि माइकिङ गर्नेसम्मका उपाय सहयोगी हुन सक्छन् । साथसाथै, सजायको पनि व्यवस्था गरिन आवश्यक छ । संक्रमण आदानप्रदान हुने स्थान विद्यालय पनि हो । त्यहाँको वातावरण पनि सुरक्षित बनाउने प्रयत्न गर्नुपर्छ । विगत वर्षका अनुभवबाट सिक्दै स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले ‘डेंगी रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८१’ ल्याएको छ । त्यसको पूर्ण कार्यान्वयन हुन सकेमा पनि डेंगी संक्रमण न्यूनीकरण हुन सक्छ ।
पूर्वतयारी एउटा पक्ष हो । त्यसले संक्रमण दरलाई न्यूनीकरण गर्न सक्छ । तर संक्रमणलाई शतप्रतिशत रोक्ने सफलता प्राप्त हुने निश्चित हुँदैन । त्यसैले संक्रमण फैलिने सम्भावनालाई कायमै राखेर पूर्वतयारी गर्न आवश्यक छ । व्यक्तिविशेषले आफूलाई शंका लागेमा परीक्षण गर्नुपर्छ । उसलाई पुष्टि भएमा बाँकीले पनि विशेष होसियारी अपनाउनुपर्छ । जुनसुकै संक्रमण पनि उच्च बिन्दुमा पुगेका बेलामा हाम्रा स्वास्थ्य प्रणाली तहसनहस हुने गरेको छ । बिरामीलाई राख्ने शय्याकै अभाव हुन्छ ।
बिरामीको चापअनुसार चिकित्सकको अभाव हुने भएकाले उनीहरूलाई व्यक्तिगत रूपमा गरिनुपर्ने हेरचाह अपर्याप्त हुन्छ । त्यसैले बिरामीको चाप बढ्ने सक्ने सम्भावनालाई ख्याल गरेर अहिल्यैदेखि तयारी गर्न आवश्यक छ । डेंगी स्वयंका लागि औषधि नभएकाले लक्षणअनुसारको उपचार गरिने चिकित्सकहरू बताउँछन् । तर संक्रमण फैलिएसँगै खानपिन र औषधिको प्रयोगलाई लिएर धेरै भ्रम प्रवाह हुने गरेका छन् । त्यसले कतिपयको स्वास्थ्य अवस्था झन् जटिल हुने गरेको छ । त्यसैले भ्रमलाई चिर्दै सही सूचना प्रवाहका लागि ‘कल सेन्टर’ लाई प्रभावकारी बनाउन सकिन्छ । सरकारले विभिन्न माध्यमबाट जानकारी दिन सक्छ ।
प्रकाशित : भाद्र ९, २०८१ ०७:४३