कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

कर्मचारी कहिले बन्ने सेवक ?

भाद्र ७, २०८१

गायत्री लम्साल

गायत्री लम्साल निजामती सेवामा आबद्ध छिन् ।

कर्मचारी कहिले बन्ने सेवक ?

Highlights

  • हामीभित्र सेवाको भावनाभन्दा बढी घमण्ड छ । प्रक्रिया पुगेर आएका फाइललाई समेत पख्नोस् भन्दै बिरालोले मुसो च्यापे जसरी च्याप्न मन लाग्छ । यति धेरै निर्दयी बन्न केले प्रेरित गरेको छ हामीलाई ?

हरेक नागरिकलाई नजिकबाट सेवा प्रवाह गर्ने संयन्त्र भनेका कर्मचारी हुन् । सबै कर्मचारी उच्च नैतिक चरित्रले ओतप्रोत हुनसके सेवा प्रवाहले आम नागरिकको विश्वास जित्न सकिन्छ । सरकारको गरिमामा वृद्धि हुन्छ । मेरो एक जना साथी शिक्षिका छिन् । उनले मालपोत/नापीका कर्मचारीबाट निकै दुःख पाएकी रहिछन् ।

उनले भनिन्– ‘फिल्डमा जग्गा बढी र लालपुर्जामा कम थियो । त्यसलाई हकदाबी गर्न खोजेको त जग्गाको बजार मूल्यको आधा पैसा हामीलाई दिनोस् भने ।’ मैले सोधें– ‘दिनुभयो त ?’ उनले भनिन्– ‘कहाँ दिनु, तर उनीहरूले ६ महिनासम्म ढिलासुस्ती गरे अनि बल्ल काम भयो ।’

विदेश घुम्न रुचाउने छोरोले ‘इमिग्रेसनमा लास्टै दुःख दिन्छन् मम्मी’ भन्यो । मैले भनें, ‘धेरै नै दुःख दिए भने मेरो मम्मी पनि तपाईंहरू जस्तै सरकारी अफिसर हो भनेस् है, कोही चिनेका साथी हुन सक्छन् ।’ यो मेरो मात्र नभएर समग्र कर्मचारीतन्त्रभित्रकै बाध्यता हो । एक पटक विदेश घुम्नका लागि मलाई विदेशी मुद्रा चाहियो । ट्राभलमा काम गर्ने साथीलाई सोधें । उनले भने– ‘पासपोर्टमा मुद्रा साटेको छाप हान्ने हो भने यति, नहान्ने हो भने यति...’ मलाई एक हजार अमेरिकी डलर बराबरको भाट चाहिएको थियो । राष्ट्र बैंकको रेटअनुसार ३६ हजारभन्दा बढी पाइनेमा उनले मलाई २७ हजार मात्र दिन सक्ने बताए । त्यही पनि कमिसन दिनुपर्ने । भयो भन्दै राष्ट्र बैंक पुगें । त्यहाँका गार्डलाई सटहीका लागि निवेदन माग्दा, पख्नोस् है भन्दै आलटाल गरे । अनि चिनजानकै एक म्याडमलाई फोन गरें । उनले सहजीकरण गरेपछि मात्र विदेशी मुद्रा लिएर फर्कें ।

सरकारी काम लिनुछ भने हामी कर्मचारीलाई त आफूले चिनेको कर्मचारी को छ भनेर खोज्नुपर्छ भने सर्वसाधारण नागरिकलाई त निकै सास्ती छ । सरकारी होओस् वा निजी वा अन्य जुनसुकै संघ/संस्थामा काम गर्ने कर्मचारी सेवक हुन् । उनीहरूले आम नागरिकलाई सेवा प्रवाह गर्दा उच्च नैतिक चरित्र प्रदर्शन गर्न सक्नुपर्छ । सेवाको भावनाले ओतप्रोत हुन सक्नुपर्छ । चाहे ठूलो तहका होऊन् वा सानो, हामीभित्र सेवाको भावनाभन्दा बढी घमण्ड छ । सजिलो तरिकाले सेवा दिनुको सट्टा चाहिने/नचाहिने कुरा गरेर यो भएन, त्यो पुगेन भन्न मज्जा लाग्छ । सबै प्रक्रिया पुगेर आएका फाइललाई समेत पख्नोस् भन्दै बिरालोले मुसो च्यापे जसरी च्याप्न मन लाग्छ । आखिर यति धेरै निर्दयी बन्न केले प्रेरित गरेको छ हामीलाई ?

हामीकहाँ नागरिकमैत्री सेवा प्रवाह कम हुनुमा सबै पक्षको केही न केही कमजोरी छ । राजनीति र प्रशासनको हरेक काममा असल सम्बन्ध विकास हुन जरुरी छ । नेतृत्वमा उच्च राजनैतिक संस्कारको कमी छ । नेतृत्व र कर्मचारीबीच नङ–मासुको जस्तो सम्बन्ध विकास हुनुपर्नेमा एकअर्कामा दोषरोपण गर्ने प्रचलन घट्न सकेन । राम्रो भए आफूले, नराम्रो गरे अर्कोले भन्ने खराब सोच र शैलीले निरन्तरता पाएको छ ।

टाठाबाठा सेवाग्राहीले आफ्नो काम छिटो गर्न नेतृत्वलगायत कर्मचारीलाई समेत आर्थिक प्रलोभनमा पारेर सेवा लिने गर्छन् । अर्काथरी सेवाग्राही छन्– उनीहरूमा सचेत सेवाग्राहीको क्षमता कमजोर छ, जसले गर्दा सेवा लिनका लागि बिचौलियासँग ठोक्किन पुग्छन् । अर्को पक्ष, हाम्रा सामाजिक सोचविचार र मूल्य मान्यतामा समेत सदाचार र नैतिकताको खडेरी पर्न थालेको छ । काम नगरी, परिश्रम नगरी धनी बन्न खोज्नेको प्रतिस्पर्धा बढ्दो छ । प्रशस्त सम्पत्ति हुने धनी मानिसको सामाजिक मूल्य बढी मानिन्छ । उसले कसरी कमायो भन्नेतिर कसैको नजर पर्दैन । नजानिँदो पारामा अहिलेका पुस्तामा समेत पैसा भएपछि सबै कुराको समाधान हुन्छ भन्ने खराब सोच विकास भएको छ ।

उपभोगवादी संस्कृति व्यापक मौलाएको छ । ऋण खोजेरै भए तापनि भोजभतेरमा फजुल खर्च गर्ने चलनले व्यापकता पाएको छ । जसको सोचाइको सिकार सबै क्षेत्रका कर्मचारीहरूमा समेत परेको छ । अन्य देशको तुलनामा हाम्रो मुलुकका कर्मचारीहरूको सेवा/सुविधाको अवस्था कमजोर छ । संस्कार, सोच, आनीबानी सबै आयातित छ तर सेवा/सुविधा कम भएपछि सोको व्यवस्थापन गर्नलाई अवसर मिलेका बेला सेवक होइन शासक बन्न तम्तयार हुन्छौं । राजनैतिक नेतृत्वले नै कर्मचारीहरूलाई सदाचार र नैतिकवान् हुन स्कुलिङ गर्नुपर्नेमा उल्टै नहुने कामलाई समेत गर्नका लागि दबाब सिर्जना गर्छन् ।

हरेक नागरिकलाई सेवा प्रवाहका लागि विभिन्न पक्ष समावेश हुन्छन् । विशेषगरी सबै क्षेत्रका कर्मचारी नै सेवा प्रवाहको केन्द्रबिन्दुमा हुन्छन् । कर्मचारीहरूलाई निर्देशन दिने भनेको नेतृत्व वर्गले हो । त्यसैले हाम्रो नेतृत्व वर्ग आफूहरू उच्च नैतिक चरित्रमा रहन सक्नुपर्छ । जनमतको कदरलाई उच्च सम्मान गर्दै विधिको शासन निर्माणमा जुट्न जरुरी देखिन्छ । जब नेतृत्व असल हुन्छ, तब कर्मचारीतन्त्रसमेत असल बन्न बाध्य हुन्छ । आफूमा निहित पदीय दायित्व र जिम्मेवारीलाई उच्च मनोबलका साथ पूरा गर्ने वातावरण निर्माण हुन्छ । तब हाम्रा आडम्बरयुक्त सोच, विचार, शैली र संस्कारमा क्रमशः सुधार हुँदै आउन थाल्छ ।

अहिले जस्तो कर्मचारीहरूलाई विभिन्न प्रलोभनमा पारेर आफ्नो काम छिटो गराउने, नहुने काम गराउने प्रवृत्ति घट्न थाल्छ । ‘घूस लिने र दिने दुवै शत्रु हुन्’ भन्ने पृथ्वीनारायण शाहको वाणीलाई जब आम सेवाग्राहीले बुझ्न थाल्छन् तब मात्रै सिङ्गो कर्मचारीतन्त्रको गरिमा अभिवृद्धि हुन्छ ।

प्रकाशित : भाद्र ७, २०८१ ०७:१४
x
×