कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनकोसीमा किन खस्यो पहाड

डा. सुबोध ढकाल

काठमाडौ — नेपालमा यो वर्षको सबैभन्दा ठूलो जनधनको क्षति हुनेगरी र चुनौतीपूर्ण हिसाबको प्राकृतिक प्रकोप...

सुनकोसीमा किन खस्यो पहाड
नेपालमा यो वर्षको सबैभन्दा ठूलो जनधनको क्षति हुनेगरी र चुनौतीपूर्ण हिसाबको प्राकृतिक प्रकोप सिन्धुपाल्चोकको जुरेमा देखियो र भोगियो। नदी नै थुनिनेगरी पहाडै खस्ने र नदीको तल्लो तटमा बस्ने नेपालका मात्र नभई भारतका बिभिन्न ठाउँमा पनि बाढीको जोखिम एक्कासी बढाइदिने यो पहिरो अलि भिन्न खालकै देखिन्छ। पहिरोले खोला थुनिई तल्लो भेगमा बाढी आउने यो प्रक्रियालाई वैज्ञानिक भाषामा ल्यान्डस्लाइड ड्याम्ड आउटबस्र्ट फ्लड भनिन्छ। हुन त नेपालको अन्य ठाउँमा पनि पहिरोले नदी थुनिएको घटना हामीमध्ये धेरैले देखेको र भोगेको पनि हुनसक्छ। जस्तो कि कालीगण्डकी खोलाको केही भागमा पहिरो आई नदी थुनिएको र तल्लो तटमा बाढी आएको वैज्ञानिक आधारहरू पनि छन्। सन् १९९८ मा सात घन्टासम्म थुनिएको तातो पानीको पहिरो यसको एउटा उदाहरण हो, जसले धेरै ठूलो क्षतिचाहिँ गर्न पाएन, किनकि त्यो थोरै समयका लागिमात्र थुनिएको थियो। त्यस्तो प्रक्रिया अन्य खोलाहरूमा पनि भएको हुनसक्छ। तर यस्तो प्रकोप नेपालमा धेरै सामान्यचाहिँ होइन। अहिलेको सुनकोसी नदीमा आएको पहिरोको मुख्य कारण र प्रक्रिया त विस्तृत अनुसन्धानपछि नै भन्न सकिएला, तर प्रारम्भिक सूचना, भू-बनोट र पहिरोको प्रकृतिलाई नियाल्दा यो निकै पुरानो र ठूलो पहिरोमा अहिले फेरि पहिरो गएको हुनसक्ने देखिन्छ। यो पहिला कहिले गएको पहिरोको भाग हो भनेर ठ्याक्कैचाहिँ अहिले नै भन्न सकिँदैन। तर ठूलठूला मेगा पहिरोहरू ठूलो क्षेत्रफलमा फैलिएको हुने हुँदा विशेषतः त्यो ठाउँमा चट्टान र माटोका प्रकृति र संरचना फरक-फरक हुन्छन्। त्यस्तै पहिरोको गति पनि ठाउँअनुसार फरक—फरक हुनसक्छ। असन्तुलित भएको पहाड कुनै बेला थोरैमात्र तलतिर बगे पनी केही समयका लागि सन्तुलित हुनसक्छ। तर त्यो पुरै सन्तुलित भैसकेको चाहिँ हुदैन। त्यसैले त्यो पछि कुनै बेला फेरि बग्न सक्छ।
यो प्रक्रियालाई हामी सामान्य प्रयोगबाट पनि बुझ्न सक्छौं। जस्तो कि हामीले कुनै पहाडको टुप्पोमा गएर एउटा ठूलो ढुङ्गालाई हावामा उड्न नदिइकन भित्तामा घिसारेर विस्तारै तल झारिदियौं भने त्यो ठूलो ढुङ्गा विस्तारै तल र्झछ। तर पहाडसम्म परेको नभई कुनै ठाउँमा भित्र पसेको त कुनै अर्को ठाउँमा बाहिर निस्केको हुन्छ। त्यो बाहिर निस्केको उडिल्को परेको भागले हामीले पहाडको टुप्पोबाट खसालेको अघिको ठूलो ढुङ्गालाई खस्न नदिई थामेर राख्छ। त्यो उडिल्को कुनै कडा चट्टान, ठूलो बोल्डर अथवा कुनै ठूलो रूख पनि हुनसक्छ। हामीले खसालेको ढुङ्गा कति समयसम्म त्यो उडिल्कोमा अड्किन सक्छ भन्ने कुरा त्यो ढुङ्गाको घनत्व, भार र त्यसको घाम—पानीजस्ता बाहिरी वातावरणसगको प्रतिक्रियाजस्ता कुराहरू अनि त्यसलाई रोक्ने अब्स्ट्रक्सनको पनि यी सबै गुणहरू र भार थाम्ने क्षमतामा भर पर्छ। जब खसालिएको ढुङ्गाको भारलाई अब्स्ट्रक्सनले थाम्न सक्दैन, त्यो ढुङ्गा फेरि पहाडको तलतिर र्झछ। झारिएको ढुङ्गालाई अब्स्ट्रक्सनले रोकेर राखे पनि अब्स्ट्रक्सनको प्रकृति हेरी केही न केही मात्रामा बगिरहेको हुनसक्छ, जुन हामीलाई तुरुन्तै अनुभव नहुन सक्छ। यो प्रयोग र अहिलेको सुनकोसी नदी थुन्ने पहिरोमा फरक यत्ति हुन्छ कि हामीले खसालेको ठूलो ढुङ्गाको ठाउँमा प्राकृतिक रूपमा झरेको ठूलो पहाड हुन्छ र सानो अब्स्ट्रक्सनको ठाउँमा चट्टान र माटोसहितको ठूलो जमिनको भाग नै हुन्छ। त्यसैले सुनकोसीको पहिरो पनि एक्कैचोटी गएको नभई धेरै पहिलेदेखिको अति सूक्ष्म गतिको भीर बग्ने प्रक्रियापछि तलको चट्टान र माटोले भार थाम्न नसकेपछि ठूलो गतिमा पहाड तल झरेको हुनसक्ने सम्भावना बलियो छ।
यस्तो सूक्ष्म गतिमा जमिन बग्ने प्रक्रियालाई प्राविधिक भाषामा 'कृपिङ' भनिन्छ। पुरानो पहिरोमा कृपिङ हुने प्रक्रिया सुनकोसी पहिरोको सुरुवात हुने मुख्य कारण भए पनि चट्टान र माटोको असमान संरचनाको कारण सम्पूर्ण क्षेत्रभरि एकै किसिमको पहिरो देखिँदैन। यो पहिरोमा संसारमा चलेका ल्यान्डस्लाइड क्लासिफिकेसन अन्तर्गका पहिरोका धेरै प्रकारहरू मिसिएको देखिन्छ। यसमा अर्थ फ्लोदेखि रक स्लाइट, कृपिङ, डेबृस स्लाइड, डेबृस फ्लोजस्ता पहिरोका सबै किसिमहरू मिसिएका छन्। साथै यसमा ल्यान्डस्लाइड क्लासिफिकेसन अन्तर्गत धेरैले बिर्सिएका र बाहिर पनि धेरैले नबुझ्ने 'ग्रेनुलर फ्लो' पनि मिसिएको पाइएको छ, जसमा ढुङ्गा—माटोका कणकण बीचको टकरावबाट भीरमा बगेको टुक्राहरू धेरै तलसम्म पुग्न सक्छ। त्यसैले सुनकोसीको यो पहिरोलाई असाधारण र जटिल अथवा प्राविधिक भाषामा 'कम्प्लेक्स ल्यान्डस्लाइड' भन्न सकिन्छ। यो लेखमा भनिएका कुरा अहिलेसम्मको प्रारम्भिक तर प्रबल अनुमान हो, यो कुरालाई विस्तृत अध्ययनपछि मात्र पुष्टि गर्न सकिन्छ। यस्ता प्रकोपको कारण राम्रोसँग पत्ता नलगाई गरिने रोकथामका कामहरू प्रभावकारी हुनसक्दैनन्। तर हाम्रो विडम्बना यस्ता छन् कि हामी कारण जान्नै नखोजिकन खर्चिला उपायहरू रोज्छौं। अनुसन्धानमा वास्तै गर्दैनौं, जसले जुन विषय पढेकै हुँदैन, उसैलाई उक्त विषयको विशेषज्ञ मान्छां,ै अनि उक्त विषय पढेका, जानेकाहरूलाई कुनै पनि जिल्लास्तरीय सरकारी निकायमा राख्दैनौं। सही ठाउँमा सही विधाका व्यक्तिहरू नहुँदा जति पैसा खर्च गरे पनि नतिजाचाहिँ बालुवामा पानी हालेसरह नै भैरहेको छ।
ढकाल त्रिचन्द्र क्याम्पस भूगर्भ विभागका उपप्राध्यापक हुन्।

प्रकाशित : श्रावण २१, २०७१ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?