कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिव्योपदेश र हेगियोग्राफी

काठमाडौ — 'वीर इतिहास' लेखनले शिखर छोइरहेका बेला नै कवि भूपी शेरचनले लेखेका थिए...

दिव्योपदेश र हेगियोग्राफी
'वीर इतिहास' लेखनले शिखर छोइरहेका बेला नै कवि भूपी शेरचनले लेखेका थिए, जब देख्छु यी सालिक बनेर दोबाटोमा उभिएका हजुरहरू, गलत लाग्छ मलाई मेरो देशको इतिहास । त्यसको पाँच दशकपछि पनि इतिहासका एकसेएक 'हजुर'का सालिक बनाउने, तिनको पूजाअर्चना गर्ने र तिनको विरुदावली (हेगियोग्राफी) लेखेर, प्रचार-प्रसार गरेर दिलदिमाग भुट्ने कार्य जारी छ । अतः हामी इतिहासका हजुरहरूबाट मात्रै होइन, तिनका सालिक निर्माता, विरुदावलीका रचयिता र तिनका प्रचारकहरूबाट पनि पीडित छौं । उनीहरू 'हजुरशाही'को पुनरावृत्ति गर्ने निहित स्वार्थका लागि 'छवि निर्माण उद्योग'मा उद्यत छन्, हामी हजुरशाहीबाट पीडित आम जनता तिनीहरूले निर्माण गरेका छविको जयजयकार गर्न कतिन्जेल अभिशप्त हुनुपर्ने हो, थाहा छैन ।
पुस २७ आउँदा-नआउँदै देशमा पृथ्वीनारायण शाहको छवि निर्माण र विरुदावली रचनाले पुनः उत्कर्ष लिँदैछ । राजनीतिमा यथास्थितिवादी वर्चस्वको विस्तारसँगै यसले थप शिखर छुने अनुमान गर्न सकिन्छ, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पुनःस्थापनसँगै । पञ्चायतकालमा महेन्द्रीय राष्ट्रवादद्वारा पृथ्वीनारायण शाहको नाममा निर्मित 'राष्ट्रिय एकताको छवि' पुनर्जीवित गर्ने प्रयास अब अरु तीव्र र सघन हुनसक्छ । र उनीबाटै नेपाल 'राष्ट्र निर्माण भएको' विरुदावलीको प्रचार-प्रसारले पनि व्यापकता पाउन सक्छ । यसको अर्थ नेपालमा जारी रहेको हजुरशाही वा कुलीन शासनले आफ्नो वर्चस्वका लागि अनुकूल व्यक्तिलाई राष्ट्रनिर्माता वा अन्य छवि निर्माण गर्ने र राष्ट्रिय एकताको विरुदावली लेख्ने कार्यलाई पछिल्लो एक साताको राष्ट्रिय कार्यभार बनाउन सक्छ । गैर-राजनीतिक शक्तिको सरकारले पुस २७ मा राष्ट्रिय विदा नै दियो भने अनौठो हुने छैन ।
विरुदावली रचनाको कार्यव्यापार
पृथ्वीनारायणलाई 'राष्ट्रनिर्माता' ठान्ने महेन्द्रीय राष्ट्रवाद धेरैजसो नेताहरूको विचार जगतमा प्रभावशाली छ । यस्तो स्थितिमा छवि निर्माणको उद्योग, सालिक निर्माणको व्यवसाय र विरुदावली रचनाको कार्यव्यापारबारे नयाँ सिराबाट खोज र बहस हुनु जरुरी छ । हजुरशाहीबाट उत्पीडित आम जनताको पक्षमा प्रतिवर्चस्वको संस्कृति निर्माण गर्ने हो भने यसको माने रहन्छ । सबै उत्पीडित पक्षको पनि स्वामित्व हुने 'राष्ट्रनिर्माण' गर्न चाहने हो भने छवि वा सालिक वा विरुदावली रचनाको कार्यव्यापारबारे नयाँ सिराबाट खोज र बहस गर्नुको उन्नत विकल्प पनि देखिएको छैन ।
पृथ्वीनारायण शाहको छवि वा सालिक वा विरुदावली निर्माणसँग उनको उपदेशको सन्दर्भ पनि जोडिएको छ । बाबुराम आचार्य र योगी नरहरिनाथद्वारा 'दिव्य-उपदेश'को नामकरण गरिएको उनको उपदेश आफै पनि विरुदावली रचनाकर्मको एउटा गतिलो उदाहरण हो । पृथ्वीनारायणका नाममा जेजति उपदेश वा महावाणी वा नीति-कार्यक्रम सार्वजनिक भएका छन्, तिनको स्रोत यही 'दिव्य-उपदेश' मानिन्छ । बाबुराम आचार्य र योगी नरहरिनाथद्वारा सम्पादित 'बडामहाराजधिराज श्री ५ पृथ्वीनारायण शाहको दिव्य-उपदेश' पुस्तकमा गरिएको दाबीअनुसार, यी उपदेश उनले नुवाकोटमा सम्भवतः १८३१ पुसको आधाआधीतिर दिएका थिए । आफ्नो जीवनको अन्तिम समयमा उनले आफ्ना भाइभारदारलाई दिएका अर्ति-उपदेश नै टिपोट गरेर राखिएको र ती टिपोटलाई एक-अर्काले श्रद्धापूर्वक सार्दै आएको सम्पादकद्वयले अनुमान गरेका छन् ।
इतिहासका अध्येता योगेश राजका अनुसार यो 'दिव्योपदेश'का 'लेखक र प्रवचनको समय विवादास्पद रहेको छ ।' उनले 'द जर्नल अफ क्याप्टेन किनलक'को पादटिप्पणीको रूपमा उक्त कुरा लेखेका हुन् । त्यसो त केही मानिसले उपदेशको पाठ राजा महेन्द्रले आफ्नो राष्ट्रवादी एजेन्डालाई अगाडि बढाउन 'उत्खनन' गरी पत्ता लगाएको दाबीसमेत गरेका छन् । तर योगेश राजको मत छ, त्यस्तो दाबीमा कुनै विश्वसनीय प्रमाण फेला परेको छैन । काठमाडौंको केलटोलमा फेला पारिएको बताइने उपदेश वास्तवमा कसरी लेखियो, तिनका पुराना पाठ के-कस्तो थियो, त्यसलाई सक्कली पाठको रूपमा डेढ सय वर्षसम्म कसरी सुरक्षित राखियो भन्ने प्रश्नमा सन्देहको कमी छैन, पाठमा संशोधन भएको हुनसक्ने गुञ्जायस त छँदैछ ।
उपदेशका खोजीकर्ताद्वयका अनुसार 'काजी अभिमानसिंह बस्नेतको घरमा रहेको प्रतिबाटै सारिएको यस उपदेशको अर्काे प्रति यिनकै घरमा लेखापढीको काम गर्ने यिनैका कर्मचारीको रूपमा काम गर्ने व्यक्तिका वंशधर मुखिया श्री भक्तबहादुरसँग पनि सुरक्षित रहेको रहेछ ।' उनीहरूको दाबी छ, 'यही प्रतिलाई बक्शी अभिमानसिंह बस्नेतकै वंशधर श्री बखतमानसिंह बस्नेतज्यूको सौजन्यबाट हामीले केही वर्ष पहिले प्राप्त गरेका हौं ।' उनीहरूका अनुसार, 'केलटोल मानमन्दिर निवासी गोरखाली बडावीर सरदार शिवरामसिंह बस्नेतका वंशधर बखतमानसिंह बस्नेतबाट प्राप्त प्रतिबाट साभार सम्पादित' पुस्तक नै आजको दिव्य-उपदेश हो । आचार्यका छोरा तथा उपदेशका परिष्कारकर्ता प्रा. कृष्ण आचार्य थप लेख्छन्, 'मेरा पिताजीको दृष्टिपथमा पर्नुभन्दा अगाडि प्रस्तुत उपदेश पुरानो नेपाली कागजमा लेखिएको एउटा काम नलाग्ने थोत्रो कितापको रूपमा बुइँगलको एउटा कुनामा यत्तिकै मिल्किइरहेको थियो ।'
'वीर इतिहास' लेखन
त्यसरी मिल्किएको थोत्रो कितापलाई दिव्योपदेशको गरिमा र भव्य प्रचार दिने काममा आचार्य र नाथसँगै सूर्यविक्रम ज्ञवालीको पनि महत्त्वपूर्ण योगदान छ । इतिहासविद् प्रत्यूष वन्तका भाषामा, बीसौं शताब्दीमा शाह राजाहरूको गुणगाण गर्दै देशभित्र र बाहिरबाट थालिएको 'वीर इतिहास' लेखनलाई उनीहरूले शिखरमा पुर्‍याएका थिए । 'वीर इतिहास'को सालनाल राजा महेन्द्र र उनको राष्ट्रवादसँग जोडिएको छ । राजदरबारबाट प्रकाशित 'श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी'का लेखक आचार्य र उनको सहयोगमा 'पृथ्वीनारायण शाह' नामको जीवनी लेख्ने ज्ञवाली र नाथको राष्ट्रवाद जगजाहेर छँदैछ । यहाँ दिव्योपदेश पनि त्यही राष्ट्रवादबाट प्रेरित 'वीर इतिहास' लेखनको एउटा प्रचारबाजी पो हो कि भन्ने प्रश्न उठ्नु अस्वाभाविक होइन ।
आचार्य र नाथ स्थापित इतिहासकार थिए, त्यसमा कुनै शंका छैन । तिनको वर्गीय र राजनीतिक पक्षधरताकै अभिव्यक्तिस्वरूप दिव्योपदेशको उन्खनन र प्रचारबाजी गरिएकोमा पनि कुनै सन्देह छैन । त्यस्तो प्रचारबाजीको क्रममा इतिहासकै अवमूल्यन वा अपव्याख्या हुनसक्ने सम्भावनालाई भने कदापि बेवास्ता गर्न सकिँदैन । त्यसमा इतिहासकार स्वयम् नै छवि वा सालिक वा विरुदावलीका निर्मातामा फेरिने उपक्रम पनि देखियो भने उनका रचना पनि अविश्वसनीय हुने खतरा बढ्दो रहेछ ।
इतिहासकार प्रचारक ?
सन्दर्भ पृथ्वीनारायण शाह र उनको उपदेशका सम्पादक बाबुराम आचार्य भएकाले यहाँ शाहको जन्मजयन्तीसँग जोडिएको प्रसंग उल्लेखनीय छ । पृथ्वीनारायणलाई नेपालको राजनीतिक एकीकरणकर्ता र भानुभक्तलाई सांस्कृतिक एकीकरणकर्ताको रूपमा प्रस्तुत गर्ने 'वीर इतिहास' लेखन २००७ सालपछि शाही राजतन्त्रको हातमा पुनः सत्ता आएपछि बढेको थियो । २००९ सालदेखि 'पृथ्वी जयन्ती' मनाउन समारोह समिति नै बनाइएको थियो । प्रत्येक वर्ष पुस २७ गते पृथ्वी जयन्ती मनाउने उद्देश्यसाथ गठन गरिएको 'पृथ्वी जयन्ती समारोह समिति'का अध्यक्ष शाह परिवारका 'चौतारिया' फत्यजंगपराक्रम शाह थिए भने उपाध्यक्ष बाबुराम आचार्य र सदस्य-सचिव योगी नरहरिनाथ थिए ।
प्रा. श्रीकृष्ण आचार्यका अनुसार, त्यतिबेलाका लब्धप्रतिष्ठित व्यक्ति, लेखक र साहित्यकार पनि सहभागी बनाइएको समारोह समितिले नै २०१० सालमा दिव्योपदेशको 'प्रामाणिक र संशोधित द्वितीय संस्करण प्रकाशित' गरेको थियो । त्यसको पहिलो संस्करण नाथको सम्पादनमा बनारसबाट २००९ सालमै 'श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश'को नाममा छापिएको थियो ।
शाही राजतन्त्रको छत्रछायामा बनेको पृथ्वी जयन्ती समारोह समितिमा इतिहासकार आचार्यको उपस्थिति सक्रियतावादी र प्रचारकको भूमिका पनि थियो । कुनै एक व्यक्तिको जन्मदिनलाई जन्म, वंश, कुलको आधार जयन्ती वा उत्सवका रूपमा मनाउनु आफैंमा सामन्ती संस्कृतिको द्योतक र निरन्तरता हो । जबकि जीवनभर गरेका काम, पोखेका विचार र बाँचेको संस्कृति जनमुखी, प्रगतिशील र रूपान्तरणकारी भए मृत्युको तिथिलाई सम्झनुचाहिंँ गैरसामन्तवादी संस्कृति हुनसक्छ । त्यस्ता सामन्ती सांस्कृतिक कर्ममा पनि इतिहासकारहरूको क्रियाशील उपस्थिति र त्यसकै आधारमाथि टेकेर किताप सम्पादन र प्रचारबाजीले व्यक्ति-विशेषको छवि वा सालिक वा विरुदावली निर्माणलाई मात्रै टेवा दिन्छ, व्यक्ति, समुदाय, समाज मिलेर बन्ने राष्ट्र निर्माणलाई भने खासै भरथेग गर्दैन ।
अतः डा. हर्क गुरुङले भनेझैं केही जातलाई मात्रै फूल, धेरैलाई झार ठान्ने दिव्योपदेशले पृथ्वीनारायण शाहद्वारा थालिएको गोरखा राज्यको विस्तारको क्रममा नेपाललाई 'राष्ट्र' बन्न नदिएको तथ्य पनि हेक्का राख्नलायक छ । आज राज्य पुनःसंरचनामार्फत नयाँ शिराबाट राष्ट्र-राज्य निर्माणतिर अगाडि जानुपर्ने बेला २ सय ५० वर्षअघि नै 'राष्ट्र' निर्माण भएको ठान्ने र त्यस्ता 'राष्ट्र निर्माता'को विरुदावली गाउँदै हिँड्ने हो भने नेपाल देश राष्ट्र त बन्दै-बन्दैन, राज्यमाथि दिव्योपदेशद्वारा सीमान्तकृत विभिन्न वर्ग, वर्ण, लिङ्ग, भाषा, क्षेत्र र समुदायको स्वामित्व र अपनत्वसमेत कायम गर्न दिँदैन ।

प्रकाशित : पुस २५, २०७० १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?