कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

पाँचथरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालकै : गृहमन्त्री लेखक

भाद्र १४, २०८१
पाँचथरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालकै : गृहमन्त्री लेखक

काठमाडौँ — पाँचथरको फालेलुङ गाउँपालिका-५ प्राङवुङको डाँडागाउँको एक घरमा विस्फोट भएको बम सशस्त्र द्वन्द्वकालको भएको पाइएको छ ।

बिहीबार माओवादी कार्यकर्ता आइतराज केरुङ (आईबी) को घरमा बस्दै आएका ज्ञानबहादुर राईका १० वर्षीय छोरा पवन बम विस्फोटबाट घाइते भएका थिए भने विस्फोटबाट घाइते दिलीप साँवाका ११ वर्षीय छोरा दिप्सन र अढाई वर्षीया छोरीको अस्पताल लैजाने क्रममा निधन भएको थियो ।

माओवादी कार्यकर्ताको घर नजिकै बम विस्फोट भएको घटनाले विस्फोट भएको बम द्वन्द्वकालीन विस्फोटक पदार्थकै एक हिस्सा रहेको आशंकासहित प्रहरीले माथिल्लो तहमा ब्रिफिङ गरेको थियो ।

गृहमन्त्री रमेश लेखकले शुक्रबार गृह मन्त्रालयमा पत्रकारहरुसँगको अन्तरक्रियामा पाँचथरमा विस्फोट भएको बम द्वन्द्वकालीन नै भएको बताएका हुन् ।

‘ग्रिनेड पड्कियो । अत्यन्त दुःखद घटना भयो । आज मात्रै प्रहरीसँग लामो कुराकानी भयो । यो कसरी पड्कियो भनेर सोधेको थिएँ,’ गृहमन्त्री लेखकले भने, ‘हामीलाई प्राप्त जानकारीअनुसार यो पुरानो ग्रिनेड नै हो, सशस्त्र द्वन्द्वका बेलाकै ग्रिनेड पड्केर दुःखद घटना भएको छ ।’

उनले भर्खर संक्रमणकालीन न्यायको कुरा टुंग्यायौं, शान्ति प्रक्रियाका बाँकी काम टुंग्यायौं भनेकोमा द्वन्द्वकालीन बम विस्फोटबाट बालबालिकाको मृत्यु हुनु दुःखद भएको बताए । ‘अहिलेपनि सशस्त्र द्वन्द्वको पीडा जिवित छ, अहिले पनि बम पड्केर दुःखद घटना भएका छन् ।’ उनले अर्को बम पनि झाडीमा फेला परेको र त्यसलाई नेपाली सेनाले निष्क्रिय बनाएको जानकारी दिए ।

प्रकाशित : भाद्र १४, २०८१ १६:२१
x
×