कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

मेडिकल व्यवसायी प्रसाईंविरुद्ध पक्राउ पुर्जी

आश्विन ३, २०८१
मेडिकल व्यवसायी प्रसाईंविरुद्ध पक्राउ पुर्जी

Highlights

  • विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंसहित ३ जनालाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौँ — मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईं, जीवन पाण्डे र प्रकाशचन्द्र दाहाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । 

तीनै जनाविरुद्ध उजुरी परेपछि प्रहरीको साइबर ब्युरोले उनीहरूलाई पक्राउ गर्न काठमाडौं अदालतसँग अनुमति मागेको थियो । न्यायाधीश महेन्द्र काफ्लेको इजलासले पक्राउ पुर्जी जारी गरेको अदालतका स्रेस्तेदार रामु शर्माले बताए । पुर्जी पाएलगत्तै सादा पोसाकका प्रहरी ठिमीस्थित प्रसाईंको घरमा पुगेका थिए । प्रसाईंले भने पत्रकार सम्मेलन गरेर सरकारको आलोचना गरेका छन् ।

प्रहरीका एक अधिकारीले उजुरीमाथि अनुसन्धान भइरहेको र आवश्यकताअनुसार पक्राउ गरेर वा निगरानी गरेर अनुसन्धान अघि बढाउने बताए । ‘बिहीबार संविधान दिवसविरुद्ध गतिविधि गर्न सक्ने भएकाले निगरानीमा राखिएको हो,’ ती प्रहरी अधिकारीले भने । प्रसाईं झापास्थित बीएन्डसी मेडिकल कलेजका सञ्चालक हुन् । बीएन्डसीले यसै वर्षदेखि एमबीबीएस अध्यापन गराउनकाठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाउने चिकित्सा शिक्षा आयोगले निर्णय गरेको छ ।

प्रसाईं पछिल्लो समय ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ अभियान’ सञ्चालन गरी देश दौडाहामा छन् । राजतन्त्र पुनःस्थापना गर्नुपर्ने उनले बताउँदै आएका छन् । संविधान दिवसको दिन अभियानले सर्लाहीको लालबन्दीमा कार्यक्रम राखेको छ ।

२०७४ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नो घरमा खाना खुवाएको तस्बिर सार्वजनिक भएपछि प्रसाईं राजनीतिक वृत्तमा चर्चामा आएका थिए । त्यसअघिसम्म उनी आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिलाउन सक्रिय थिए । झापा निवासी प्रसाईं त्यतिबेलासम्म माओवादी अध्यक्ष दाहालसँग निकट थिए ।

एमाले, माओवादी मिलाएर नेकपा स्थापना भएपछि उनको पहुँच ओलीसम्म पुगेको थियो । नेकपा विभाजित भएपछि प्रसार्इं २०७८ मा एमाले प्रवेश गरेका थिए । दसौं महाधिवेशनपछि ओलीले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरे । एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग उपप्रमुख पनि चयन भए । तर, एकाएक २०७९ फागुन ७ मा पूर्वराजा ज्ञानेन्द्र शाहबाट काँकडभिट्टामा उनले नेतृत्व गरेको अभियानको उद्घाटन गराएका थिए ।

त्यसयता उनले ओली, दाहालसहित केही व्यवसायी र बैंक तथा वित्तीय क्षेत्रविरुद्ध अभिव्यक्ति दिँदै मुलुकका विभिन्न स्थानमा कार्यक्रम गर्दै आएका छन् । गत चैत ५ मा सर्वोच्च अदालत परिसरबाट प्रसाईंका सहयोगीका साथबाट प्रहरीले अर्धस्वचालित हतियार र सय थान गोलीसमेत बरामद गरेको थियो । हतियार राख्न उनले झापा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको पाइएको थियो ।

प्रकाशित : आश्विन ३, २०८१ ०५:१३
x
×