कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

जीर्ण प्रहरी भवन पुनःनिर्माण नहुँदा इन्द्रजात्रा रौनकविहीन

आश्विन २, २०८१
जीर्ण प्रहरी भवन पुनःनिर्माण नहुँदा इन्द्रजात्रा रौनकविहीन

काठमाडौँ — प्रत्येक वर्ष इन्द्रजात्राको अवसरमा हनुमान ढोका दरबार क्षेत्रमा देखाइने विभिन्न नाच यसपटक देख्न पाइएन । त्यसैले पनि मंगलबार काठमाडाैंमा सम्पन्न इन्द्रजात्रा फिक्का र राैनकविहन बनेको हो ।

२०७२ सालको भूकम्पले जीर्ण बनेको प्रहरी भवन भत्काएर पुरानै स्वरुपमा पुनर्निर्माण हुन नसक्दा यी नाच देखाउन समस्या भएको सरोकारवालाको भनाइ छ ।

दरबार क्षेत्रको विशाल मूर्ति कालभैरवको पश्चिमपट्टि साढे २ दुई रोपनी क्षेत्रफलमा रहेको प्रहरी भवन स्थापना गर्नुअगाडि उक्त क्षेत्रमा सन् १९३४ सम्म तीनतले सत्तल थियो । वि.सं. १९९० सालको भूकम्पले सत्तल भत्किएपछि वि.सं. २०१५ सालमा प्रहरी भवन बनाएको हो ।

प्रहरी भवन बनेसँगै सत्तल, डबली मासेयता इन्द्रजात्राको बेला बाजा बजाउने, सेतो मत्स्येन्द्रनाथ रथ यात्राका क्रममा दियो बाल्ने, लिच्छविकालीन राज परिवारका सदस्यहरूले दिवंगत भएका आफन्तहरूको आत्माको शान्तिको कामना गरी द्वीप प्रज्ज्वलन गर्नेलगायत धार्मिक गतिविधि बन्द भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले हुनमान ढोका दरबार क्षेत्रको उक्त जीर्ण प्रहरी भवन भत्काएर सम्पदामैत्री पर्यटकीय प्रहरी भवन बनाउने बारेमा छलफल भइरहेको बताए । ‘पर्यटकीय क्षेत्र भएकाले पुरातात्विक महत्त्वलाई क्षति हुन नदिई ऐतिहासिक मौलिक शैलीमा पर्यटकीय प्रहरी रहने भवन बनाउने बारेमा सम्बन्धित सरोकारवाला निकायसँग छलफल भइरहेको छ,’ उनले भने ।

हुनमान ढोका दरबार क्षेत्रका तलेजुका पुजारी उद्धव कर्माचार्यले भने गृह मन्त्रालय, पुरातत्त्व विभागलगायत सरोकारवाला सबै मिलेर १९९० सालमा भत्कनुअगाडिको स्वरूपमा पुनर्निर्माण गर्नुपर्नेमा जोड दिए । ‘यसका लागि मन्त्रिपरिषद्लाई अनुरोध गर्छु,’ उनले भने, ‘पुरानै स्वरुपमा ल्याउन सकेमा दरबार क्षेत्रको मूर्त/अमूर्त दुवै सम्पदाको संरक्षण भई थप पर्यटकीय गन्तव्य बन्ने विश्वास छ ।’

पुरानै स्वरुपमा पुनर्निर्माण गर्न सकेमा नेपालको इतिहासमा दोस्रो ठूलो हत्याकाण्ड कोत पर्व क्षेत्र पनि सर्वसाधारणले सजिलै अवलोकन गर्न सकिने पुजारी कर्माचार्यको भनाइ छ । विश्व सम्पदामा सूचीकृत क्षेत्रमा मापदण्ड विपरीत बनेको तत्कालीन प्रहरी भवन रहेको जग्गा गृह मन्त्रालयको नाममा छ । प्राचीन स्मारक संरक्षण ऐनको दफा ३ (घ) अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिले महत्त्वपूर्ण मानिएका प्राचीन स्मारक स्थल तथा पुरातात्विक स्थलहरुको संरक्षण पुरातत्त्व विभागले गर्नुपर्ने व्यवस्था छ ।

पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले उक्त प्रहरी भवन गृह मन्त्रालय मातहत रहेकाले भत्काउन र पुरानै शैलीमा पुनर्निर्माण गर्न आवश्यक कानुनी अड्चन फुकाउन पत्राचार भइसकेको बताइन् । ‘उक्त निकायबाट कुनै जवाफ आएको छैन,’ उनले भनिन् ।

अहिले उक्त भवनले सम्पदा क्षेत्र कुरुप बनेको छ भने भवन भत्किएर मानवीय दुर्घटना हुन सक्ने उच्च जोखिम पनि छ । सम्पदा अभियन्ता यादवलाल कायस्थले हनुमान ढोका दरबार क्षेत्रको प्रतिष्ठा जोगाउन पटक–पटक सरोकारवाला निकायको ध्यानाकर्षण गर्दा पनि कसैले चासो नदिएको बताए । ‘समयमा भवन भत्काएर पुरानै शैलीमा पुनःनिर्माण गर्न सकेमा दुर्घटनाको जोखिम टर्नेछ,’ उनले भने । जिल्ला प्रहरी परिसरको भद्रकालीस्थित नवर्निर्मित भवनबाट यही भदौ १० गतेबाट सेवा सुरु गरिसकेको छ ।

प्रकाशित : आश्विन २, २०८१ २१:५९
x
×