कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लुम्बिनीका पहाडी जिल्लामा टिमुरबाटै आर्थिक समृद्धिको लक्ष्य

आश्विन ३, २०८१
लुम्बिनीका पहाडी जिल्लामा टिमुरबाटै आर्थिक समृद्धिको लक्ष्य

दाङ — फ्रान्सका इक्वेडिसका प्रमुख पिरे अलेक्डेन्डरले नेपाली टिमुर विश्वकै नमुना मानिने भएकाले विश्व बजारमा खपत हुने आधार रहेको बताएका छन् ।

उनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित मन्त्री र वनसचिव मोहनराज काफ्लेसँगको बिहीबार देउखुरीमा भेटघाटमा नेपाली टिमुरलाई पूर्ण विषादीमुक्त अवस्थामै बचाउनुपर्ने, जसले गर्दा अर्गानिक उत्पादनका रूपमा मूल्यसमेत राम्रो पाउने बताए । उनी टिमुरका बारेमा अध्ययन गर्न नेपाल आएका हुन् । विश्व बजारमा पुर्‍याउँदा त्यहाँबाट राम्रो आम्दानी हुन सक्ने भएपछि सर्वेक्षणसमेत सुरु भएको छ ।

रोल्पा जिल्लाका विभिन्न स्थानमा टिमुरको व्यावसायिक खेती हुँदै आएको छ । विषादी रहित टिमुरको माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा खेती गर्दै आएका छन् । यहाँ पाइने अर्गानिक टिमुरलाई विश्व बजारमा पुर्‍याउन सकिने बारेमा विदेशी कम्पनीहरूले चासो देखाएर अध्ययन सर्वेक्षण थालेका हुन् ।

लुम्बिनी प्रदेश सरकारले टिमुरलाई लुम्बिनीको आर्थिक समृद्धिको बलियो आधार मान्दै यसको खेतीलाई विस्तार गर्ने योजना अगाडि बढाएको छ ।

रोल्पासहित पहाडी जिल्लाका ५० हजार हेक्टरमा खेतीको सम्भावना देखिएको छ । लुम्बिनी प्रदेशको देउखुरीमा जेठ १८ मा टिमुर सम्मेलन भएको थियो । लुम्बिनी प्रदेशमा १० लाख हेक्टर वन क्षेत्र छ, जसमध्ये ५० हजार हेक्टरमा टिमुर खेती गर्न सकिने सम्भावना रहेको वन तथा वातावरण मन्त्रालयको विवरणमा उल्लेख छ । एक हेक्टर जमिनमा चार सय विरुवा हुर्काउन सकिने, एउटा विरुवाबाट मात्रै ३ केजीसम्म टिमुर उत्पादन गर्न सकियो भने प्रतिवर्ष ६ करोड किलो टिमुर उत्पादन गर्न सकिने आधार रहेको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताए ।

प्रशोधन नगरिएको टिमुर प्रतिकिलो ५ सयदेखि ८ सय रुपैयाँमा सहजै बिक्री हुने गरेको छ र यसलाई कालो सुन भनेर पनि चिन्ने गरिन्छ । उनका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २ लाख ९० हजार ५ सय १९ किलो टिमुर निर्यात भएको छ ।

छलफलमा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्गानिक टिमुर खेतीबाट स्थानीयको आर्थिक समृद्धि गर्ने कार्यक्रम ल्याएको बताए । पहाडी जिल्ला रोल्पा, रुकुम, प्यूठान, अर्घाखाँची, गुल्मी र पाल्पाका वनजंगल र खर्‍यानमा टिमुर खेती हुँदै आएको छ ।

विदेशी दातृ निकाय तथा उद्यमीहरूसँग छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले चालु आर्थिक बर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा टिमुर खेतीको विकासका लागि सम्बोधन गरेको बताए ।

‘हाम्रा पहाडी भू–भागमा राम्रो टिमुर उत्पादन हुन्छ । किसानलाई बढी फाइदा हुने गरी टिमुर उत्पादन गर्न प्रदेश सरकार सहयोग गर्न तयार छ,’ उनले भने, ‘युरोप, अमेरिकामा यसको व्यापार राम्रो रहेको हुँदा लुम्बिनीको टिमुरलाई विश्व बजारसम्म पुर्‍याउन सकिन्छ ।’ प्रदेश सरकारले चालु आर्थिक वर्षमा टिमुर खेती प्रवर्द्धन गर्न ७० लाख बजेट विनियोजन गरेको छ ।

पूर्वमुख्यमन्त्री तथा कांग्रेस नेता डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा टिमुरको उत्पादन राम्रो रहेको र यसबाट किसानले धेरै आम्दानी गर्न सक्ने आधार रहेको बताए । ‘लुम्बिनी प्रदेशले टिमुरबाट राम्रो गर्न सक्छ । यसको आधार छ,’ उनले भने, ‘किसानले पाउने मूल्य कम छ । प्रदेश सरकारले किसानलाई समृद्ध बनाउने अभियानका रूपमा यो कार्यक्रम जोड्नुपर्छ ।’

भेटघाट कार्यक्रममा प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य बसीउद्दीन खान लगायत सहभागी थिए ।

प्रकाशित : आश्विन ३, २०८१ १६:१२
×