कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

जनजीवनको आँखीझ्याल

सुदर्शन घिमिरे

पत्रकार मोहन मैनालीको यो पुस्तक उच्च पहाडी जीवनशैली चिहाउने एउटा गतिलो आँखीझ्यालका रुपमा आएको छ ।

पहाड, कुना कन्दरा, घुम्ने मानिस त धेरै हुन्छन् । कोही सोखले घुम्ने हुन्छन् त कोही कामले । तर यस्ता बिरलै मानिस हुन्छन्, जसले त्यस्ता यात्राको बारेमा कलम चलाउँछन् । पत्रकार मोहन मैनालीले भने झन्डै डेढ दशकअघिको गोरखाको उत्तरी हिमाली क्षेत्रको यात्रा संस्मरणको पुस्तक प्रकाशित गरेका छन्- 'उपल्लो थलो ।'
वातावरण पत्रकार समूहलेे जनस्तरमा सकारात्मक प्रभाव र परिवर्तन ल्याउने खालका खोजमूलक सामग्रीहरू समाविष्ट गरेर नेपाल टेलिभिजनमार्फत 'आँखीझ्याल' नामक भिडियो म्यागेजिन प्रसारण गर्दथ्यो । छापा पत्रकारिताबाट खारिएर टेलिभिजन पत्रकारितातिर पनि खुट्टा हालेका मैनालीलाई यही भिडियो म्यागेजिनले उत्तरी गोरखाको भ्रमणको मेलोमेसो मिलाइदिएको हो ।
'उपल्लो थलो'मा मूलतः उत्तरी गोरखाको जनजीवनलाई समेटिएको भए पनि समग्र उच्च पहाडी र हिमाली जनजीवनको आँखीझ्यालको रूपमा यसलाई लिन सकिन्छ । किनभने नेपालको राजनीतिक नक्साभित्रको हिमाली र उच्च पहाडी जनजीवनका पीडा, दुःख र परिवेश पुस्तकको भूमिकामा पत्रकार हस्त गुरुङले भनेझैं मध्ययुगीन नै छन् । पुस्तक पढ्दै जाँदा थाहा हुन्छ, हाम्रो राज्ययन्त्र कति निष्प्रभावी छ, शिक्षा क्षेत्र कति रुग्ण अवस्थामा छ, जनजीवन कति दुरूह र कष्टकर छ, दुई छाक खान र एक सरो लाउन कति धेरै दुःख कष्ट झेल्नुपर्छ । र, अन्तरकुन्तरमा थोरै मात्र संवदेना भएका पाठकका आँखा रसाउन बेरै लाग्दैनन् । पढ्दै जाँदा पाठकलाई यो पनि छर्लङ्ग हुन्छ कि जनताको दुहाई दिएर कहिल्यै नथाक्ने हाम्रो राजनीतिक नेतृत्वले यथार्थमा जनताको न्यूनतम आवश्यकताप्रति कति उपेक्षा गर्दारहेछन् । पुस्तकमा यस्ता विष्यमकारी दृष्टान्तहरू बग्रेल्ती भेटिन्छन्, जसले पाठकलाई राजनीतिक नेतृत्वप्रति आक्रोश मात्र पैदा गर्दैन, 'आफैँ केही गर्न अग्रसर हुनुपर्छ' भन्ने भाव पनि जगाउँछ ।
बितेको १५ वर्षदेखि नेपालमा कुनै एउटा कुराको निरन्तर चर्चा भएको छ भने त्यो हो, माओवादी । माओवादीले हिंसात्मक गतिविधि सुरु गर्नुअघि नै लेखकले उत्तरी गोरखाको यात्रा प्रारम्भ गरेको भए पनि दोहर्‍याएर २०५९ सालमा जादा सिंगो देशलाई छपक्क छोपेको थियो । त्यसैले पुस्तकमा माओवादी हिंसाको प्रतिध्वनि र कम्पन थोरै भए पनि सुन्न सकिन्छ । त्यस बखत जुन शक्ति र पार्टीले अन्याय र अत्याचार भयो, विकास भएन भनेर बन्दुक बोकेको थियो, कालान्तरमा त्यही पार्टी आज सत्तामा आइपुगेको छ । संयोगवश गोरखाकै ग्रामीण बस्तीमा हुर्के बढेका व्यक्ति -बाबुराम भट्टराई) ले सरकारको नेतृत्व गरेका छन् र पनि उत्तरी भेगमा बसोबास गोरखालीहरूको जीवनमा आज पनि मौलिक परिवर्तन आउन सकेको छैन ।
त्यसो त पुस्तक निराशाभावले भरिएको छ भन्नेचाहिँ किमार्थ होइन । यात्रा वृत्तान्त भएकाले यात्रामा जे भोगिए, देखिए त्यसमध्ये लेखकलाई छोएका र पाठकले थाहा पाउन सान्दर्भिक छ भन्ने ठानेका कुरा मात्र यस पुस्तकमा लिपिबद्ध भएका छन् । यात्राका दौरान देखिएका मनमोहक दृश्यहरूको अक्षरमार्फत रसस्वादन गर्ने अवसर पनि उत्तिकै पाइन्छ । पढ्दै जाँदा 'म पनि त्यो ठाउँमा पुग्न पाएको भए..' भन्ने भाव कैयन ठाउँमा उब्जन्छ, सायद यसलाई पनि लेखकीय सफलतासित जोडेर हेर्दा अन्यथा ठहरिँदैन । र, पुस्तक पढिसक्दा हरेक पाठक 'एकपटक त घुम्न जानै पर्ने ठाउँ हो है' भन्ने निष्कर्षमा पुग्छ । पुस्तक रसिलो छ । कसिलो छ । नेपाली जनजीवनमाथि नेपालीले लेखेका यति जीवन्त पुस्तक सायदै होलान् ।
नेपाल र नेपाली जनजीवन बारेको यात्रा वृत्तान्त अक्सर नेपाल घुम्न आएका विदेशीले मात्र लेख्ने गरेका थिए । भिन्न भौगोलिक, सामाजिक र सांस्कृतिक परिवेशबाट आएका मानिसले नेपाली जनजीवन र संस्कृतिलाई नौलो अनुभूत गर्नु अस्वाभाविक होइन । तर अब बिस्तारै नेपालीहरूले पनि कलम चलाउन थालेका छन्, जुन खुसीको कुरा हो । यसले हामीलाई नयाँ तरिकाले सोच्न मद्दत गर्दछ । प्रसिद्ध विद्वान् डा. हर्क गुरुङको यस्तै यात्रा वृत्तान्त -मैले देखेको नेपाल) प्रकाशमा आउँदा नेपाली समाज र जनजीवनलाई बुझ्ने सन्दर्भमा महत्त्वपूर्ण सामग्रीको उपमा मिलेको थियो । मैनालीको यस पुस्तक नेपाली जनजीवनको अध्ययन र चिन्तन गर्नेहरूका लागि मौलिक सामग्री सिद्ध हुनसक्छ । त्यस दृष्टिले यस पुस्तकको गरिमा र महत्त्व आउने दिनहरूमा अझ बढ्न सक्ने देखिन्छ ।
पंक्तिकारको दृष्टिमा यो पुस्तक ती राजनीतिक नेता/कार्यकर्ताहरूका लागि बहुमूल्य रत्न हो, जसले राजनीति जनताका लागि हो भन्छन् । तिनलाई यसले राजनीतिको चलन चल्तीको अर्थ र परिभाषा कति फिका छ भन्ने वोध दिन्छ र जनताको जीवनमा दिगो र अग्रगामी सुधारमा जोडिएर मात्र राजनीतिको अर्थ खोज्न प्रेरित गर्दछ । र, ती राजनीतिक नेता/कार्यकर्ता र प्रशासकका लागि यो पुस्तक ऐना हो, जसले आफ्नो पद, कुर्सी र पैसा र दुनो सोझ्याउनु नै सबथोक हो भन्ने भन्ने बुझेका छन् । विकासविद् र योजनकारहरूका लागि पनि यो पुस्तक एउटा त्यस्तो सन्दर्भ सामग्री बन्न सक्छ, जसले गाउँको विकासको परम्परागत मोडलमा पुनर्विचार गर्ने सोच पैदा गरिदिन्छ ।
पुस्तकले लेखनीमा समेत नयाँ आयाम थपिदिएको छ । यो पुस्तकमा न साहित्यको कल्पनाशीलताको गन्ध भेटिन्छ, न त पत्रकारिताको टर्रोपना । पुस्तकको रचनागर्भ लेख्ने सन्दर्भमा मैनालीले भनेका पनि छन्, 'पत्रकारिताका सिलसिलामा भेला गरेका र भोगेका तर पत्रकारितामार्फत व्यक्त गर्न नसकेका जानकारी र अनुभव व्यक्त गर्ने जमर्को गरेको छु । ..पत्रकारले दैनिक रिपोर्टिङ र साहित्यका बीचको यस्तो एउटा ठिमाहा विधाको सहारा लिनुपर्छ जसमा काल्पनिक कुराको गन्ध नआओस् र टर्रोपनाको मात्रा पनि हदैसम्म घटेको होस् ।' मैनालीको यस प्रयासबाट नेपाली पत्रकारिता जगत्ले पनि प्रशस्त लाभ उठाउन सक्छ । मोफलस र राजधानी दुवैतिर गरी नेपाली मिडियामा पत्रकारितालाई मूल पेसा बनाएर क्रियाशील भइरहेका मानिसहरूको संख्या हजारभन्दा माथि छ, जो नित्य समाचारकै खेतीपातीमा संलग्न रहिरहन्छन् । तिनले समाचार लेखनको क्रममा अभिव्यक्त गर्न नपाएका तर उपयोगी सूचना, जानकारी, दस्ताबेजसमेतलाई समेटेर मनालीले झैं पुस्तकहरू लेख्न सक्छन् ।
अप्रासाङ्गकि र असान्दर्भिक कुरामा एक अक्षर पनि खर्चन हच्कने र सम्पादनका क्रममा निमर्मतापूर्वक कैंची चलाउन पछि नहट्ने स्वभावका मैनालीले आफनै अनुभूतिहरूमाथि पनि अति नै कैंची चलाएको भान हुन्छ । सायद उनले निजी अनुभूतिको अर्थ त्यति देखेनन् । तर यथार्थमा यो पुस्तकमा उनले जति बढी अनुभूतिहरू मिसाउन सक्थे, उति नै बढी यो पुस्तक चित्ताकर्षक हुन्थ्यो । सायद यसले पुस्तकको गरिमा पनि बढाउनै मद्दत गथ्र्यो । त्यसैगरी, च्याप्टरै पिच्छे कम्तीमा एउटा तस्बिर पनि समाविष्ट गर्न पाएको भए पुस्तक योभन्दा अझै शक्तिशाली बन्ने थियो । यसले अवश्य पनि पुस्तकको आकार केही बढाउँथ्यो । तर त्यसले पाठकलाई न्याय नै गर्दथ्यो, अन्याय गर्दैनथ्यो । बरु मानसरोवरको यात्रासम्बन्धी विवरणलाई यहाँबाट हटाएर छुट्टै पुस्तकको रूप दिएको भए हुन्थ्यो ।
उपल्लो थलो
लेखक : मोहन मैनाली
प्रकाशक : जगदम्बा प्रकाशन
मूल्य : ३००


प्रकाशित : पुस १४, २०६९ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?