कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

मेलम्चीले बगाउन नसकेको ‘ट्राउट सपना’

मेलम्चीले बगाउन नसकेको ‘ट्राउट सपना’

Highlights

  • मेलम्चीमा आएको बाढीले २०७८ असारमा किउलमा रहेको रिसोर्टसहितको ट्राउट फार्म बग्यो, उत्तममणि भण्डारी, जयराम भण्डारी र इन्द्र भण्डारीले बाढीका कारण करोडौंको क्षति बेहोरे पनि उनीहरूले आफ्ना सपना भने बाढीमा बग्न दिएनन् 

हेलम्बु, सिन्धुपाल्चोक — २०७८ असार १ गते । हेलम्बु गाउँपालिका–२ किउलमा रहेको रिसोर्टसहितको ट्राउट फार्म बाढीले बगायो । बजार पठाउने तयारीमा रहेका १८ टन रेन्बो ट्राउट माछा हेर्दाहेर्दै बाढीमा बगे । त्यो साँझ माछा मात्र बगेनन्, छिनभरमै रिसोर्ट भएको ठाउँ बगर बन्यो । यो ठाउँमा अहिले न माछा फार्म छ, न रिसोर्ट नै । 

यति ठूलो नोक्सानी व्यहोरेका उत्तममणि भण्डारीसहितको समूहले हिम्मत हारेन । कारण, यो बाढीले माछा फार्म, रिसोर्ट मात्र बगाएको थिएन । मेलम्ची खानेपानी आयोजनाको मुहान पनि पुरेको थियो । खोला किनार आसपासको बजार र उब्जनीयुक्त जमिन बगरमा परिणत भएका थिए । यिनै दृश्यले भण्डारीको समूहले मन बुझाएको थियो । उक्त ठाउँमा ऊ बेला जयराम भण्डारी र इन्द्र भण्डारी मिलेर ट्राउट माछा पालेका थिए । उनीहरूको यहाँ मात्र होइन, हेलम्बु–६ चालिसेमा रहेको ट्राउट फार्म पनि बाढीले बगाइदियो ।

‘७ वर्ष दुबई बसेर नेपाल फर्किएको थिएँ,’ उत्तममणिले भने, ‘जयराम र इन्द्र भण्डारीसँग भेटेपछि ट्राउट पाल्ने हिम्मत मिलेको थियो ।’ उनी नेपालमै केही नयाँ व्यवसाय गरौं भन्दै स्वदेश फर्किएका थिए । ‘एकचोटि युट्युबमा फ्रान्सका नागरिकले नेपालमा गाई पालेर राम्रै आम्दानी गरेको भिडियो हेरेको थिएँ,’ उनले भने, ‘विदेशीले नेपालमा गाई पालेर मनग्य आम्दानी गर्न सक्ने, हामी नसक्ने हुन्न भनेर नेपाल फर्किने हिम्मत मिलेको थियो ।’

बाढीले १० करोड बढीको क्षति भएको भण्डारी समूहको दाबी छ । यसको पालनमा सम्भावना देखेका उनले फेरि ट्राउट पालनमै लाग्ने निधो गरे । त्यसका लागि ठाउँ हेर्दै नुवाकोटसम्म पुगे । त्यता चित्त नबुझेपछि हेलम्बु गाउँपालिकै वडा नम्बर ७ स्थित महांकाल ठूलोढुंगामा ट्राउट फार्म सुरु गरे । ०७८ चैतमा पूर्वाधार निर्माण थाले । सिन्धुपाल्चोककै हैबुङ र नुवाकोटको सुनखानीबाट ट्राउटका भुरा ल्याएर ०७९ वैशाख अन्तिमबाट राख्न सुरु गरे ।

‘दुबईमा कमाएर ल्याएको पैसा यसैमा लगानी गरेको थिएँ, बाढीले बगायो,’ उनले भने, ‘अहिले १२ रोपनी जग्गा भाडामा लिएर एक लाख २० हजार भुरा हालेका छौं ।’ लस्करै ४० वटा रेसवे पोखरी निर्माण गरिएको छ । यो ठाउँमा ट्राउट पालनमा उनीसँगै लगानी गर्नेमा जयराम भण्डारी, पूर्ववडाध्यक्ष खेतनाथ घिमिरे, कृष्ण घिमिरे, विवेक पौडेल, वेदमणि भण्डारी र नीलबहादुर खड्का छन् ।

‘पहिलाको ठाउँमा बाढी आए पनि हामी आफूले गरिरहेको काममा अलमलिएनौं । बाढीलगत्तै अर्को ठाउँ खोजेर ट्राउट पाल्न थाल्यौं,’ उनले भने, ‘प्राकृतिक प्रकोप कसैले बोलाएर आउने कुरा होइन । एकै मिनेटले गर्दा बाढीबाट म जोगिएकै कारण फेरि ट्राउट फार्म खोल्न सक्यौं ।’ उत्तममणिले ३७ वर्ष टेके । उनी फार्ममा व्यवस्थापकका रूपमा पनि काम गर्दै आएका छन् । अहिले महांकाल ठूलोढुंगामा फार्म छ । गोहोरे खोलाको पानीमा ट्राउट पालिएको छ । आफैं सडक बनाएर ट्राउट पालिएको हो । महांकालबाट ठूलोढुंगासम्म करिब डेढ किलोमिटर कच्ची सडक निर्माण गरिएको छ । फार्मको नाम भण्डारी रेन्बो ट्राउट एन्ड रिसर्च सेन्टर राखिएको छ । फार्ममा ५ जनाले रोजगारी पाएका छन् ।

ट्राउटको मुख्य बजार काठमाडौं हो । त्यसपछि काभ्रेको बनेपा, पनौती, नुवाकोटको ककनीसम्म यहींबाट ट्राउट माछा पठाउने गरेको उनले सुनाए । ‘रिसोर्ट खोल्ने सोच पनि छ, यहीं भुरा उत्पादन गरेर पाल्ने र बिक्री गर्ने तयारीमा पनि छौं,’ उनले भने, ‘त्यहीअनुसार काम भइरहेको छ ।’ अहिले मागअनुसार ट्राउट पठाउने गरिएको छ । ‘पिस वा जिउँदो जे माग हुन्छ, त्यहीअनुसार पठाइन्छ,’ उनले भने, ‘ढुवानी आफैंले गर्छौं ।’ यो ठाउँमा पानीको तापक्रम उच्च भएकाले सामान्यतया भुरा राखेको १० महिनाबाट बिक्री गर्न थालेको उनले सुनाए । ‘१ सय ८० देखि २ सय ग्रामसम्मका भएपछि बजारमा पठाउन थाल्छौं,’ उनले भने, ‘ट्राउट माछाको बजार कोभिडअगाडि राम्रो थियो । कोभिडले गर्दा केही समय बजार बिग्रियो, अहिले सुधार हुँदै गएको छ ।’

बढी माछा रिसोर्टहरूमा खपत हुन्छ । केहीकेही होटलहरूमा पनि जाने गरेको छ । ‘यहाँ सडक निर्माणसहित दुई करोड बढी लगानी भएको छ,’ उनले भने, ‘फार्ममा सबैजना समय मिलाएर खटिने गरेका छौं ।’ फार्ममाथि रहेको ठूलोढुंगामा बस्ने ठाउँ बनाइएको छ । त्यहाँबाट पारिपट्टि सानो झरना देख्न सकिन्छ । ‘यो एकान्त र रमणीय ठाउँ छ,’ उनले भने, ‘त्यसैले रिसोर्ट खोल्न पाए आगन्तुकलाई बास बस्ने व्यवस्था गरेर ट्राउटको स्वाद चखाउन सकिन्थ्यो ।’

फार्ममा साँझबिहानै भेटिने भनेका अर्का लगानीकर्ता हुन्, नीलबहादुर खड्का । महांकालका स्थानीय उनी नेपाल प्रहरीको हवल्दारबाट अवकाश प्राप्त हुन् । ‘यसको बजार राम्रो देखें, पहिला गरिरहनु भएकाहरूले पनि यसमा लगानी गरौं भन्नुभयो,’ उनले भने, ‘केही नयाँ व्यवसाय गरौं भनेर हात हालेको हो ।’ विदेशमा गएर दुःख गर्नुभन्दा यही केही गरौं भनेर ट्राउट पालनमा लागेको उनले सुनाए । ‘रसुवाको धुन्चेमा ट्राउटपालनसम्बन्धी तालिम लिएर पनि आएँ,’ उनले भने, ‘अहिले मेरो दैनिकी ट्राउटको दानापानीमै बितेको छ ।’

रेन्बो ट्राउट पालन गर्न नेपालका ५४ जिल्ला उपयुक्त रहेको रेन्बो ट्राउट मस्त्य अनुसन्धान केन्द्र धुन्चेका प्रमुख महेन्द्र भण्डारीले बताए । ‘अहिले ४१ जिल्लामा ट्राउट पालन प्रविधिको विस्तार भएको छ ।

त्यसमा पनि सबैभन्दा धेरै वाग्मती प्रदेशमा ट्राउट पालिएको छ,’ उनले भने, ‘जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै ट्राउट सिन्धुपाल्चोकमा उत्पादन हुन्छ ।’

प्रकाशित : माघ २०, २०८० ०८:०६
×