कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

आशा भोसलेदेखि मेलिना राईसम्मलाई गाउन लगाएका संगीतकार

आश्विन ३, २०८१
आशा भोसलेदेखि मेलिना राईसम्मलाई गाउन लगाएका संगीतकार

Highlights

  • बुबा भगत सिंहको सान्निध्य र प्रेरणाले संगीत सिर्जनामा लागेका राजुले ४० भन्दा बढी एल्बममा संगीत भरेका छन्, उनीसँग गुलाम अली, आशा भोसले, उदितनारायण झा, रामकृष्ण ढकाल, नवीन के भट्टराईदेखि पछिल्लो पुस्ताका मेलिना राईसम्म काम गरेको अनुभव छ

विराटनगर — जताततै ओमविक्रम विष्टको पप गायनको चर्चा थियो । राजु सिंह भने पप ‘जनरा’ कै गीतहरूबाट ‘बामे’ सर्ने मेसो गर्दै थिए । चर्चित वाद्यवादक भगत सिंहका छोरा राजुको गीत/संगीतप्रतिको मोह सानैदेखि थियो । परिवारिक वातावरण पनि ‘गाना बजाना’ वाला थियो । जसले उनलाई संगीतको दुनियाँ चिनाउन मौका दियो ।

७ वर्षको कलिलो उमेरबाटै गीत–संगीतसँग नजिकिएका उनी संगीत सिर्जनामा निरन्तर सक्रिय छन् । ‘खासमा म आफूलाई संगीतकार मान्दिनँ,’ राजु भन्छन्, ‘म मात्रै संगीत साधक हुँ । संगीतलाई म साधना ठान्छु । संगीतको महासागरमा एक थोपा पानी हुँ म ।’

कोलकाताबाटै वाद्यवादन बजाउन सिकेर आएका थिए, भगत सिंह । भगतका बुबा दरबारका भित्रिया थिए । जसले उनलाई भारत गएर संगीत सिक्न सहज भयो । उनी ठान्थे, छोरा पनि आफूजस्तै बनोस् । त्यसैले राजुलाई सानैदेखि संगीतमा अर्जाप्न थाले । राजुका शास्त्रीय संगीत गुरु नै तीन जना थिए, जितेन्द्र जोशी, शकुन्तला प्रधान र बीबी जंगम । एसएलसीपछि उनले तिनै गुरुहरूसँग संगीतका सात सुरदेखि बाजाका सात धुनसम्म सिके । काठमाडौंका रैथाने उनलाई अरूलाई जस्तो गाह्रो थिएन । पढाइ पनि सँगै अघि बढाए । पढेर संगीतकार बन्नुपर्छ भन्ने सपना बाबुको थियो । त्यहीँ भएर पढाइमा जोड दिए । पाश्चात्य संगीत पनि पढे । शास्त्रीयमा विसारित गरे । सँगै अर्थशास्त्रमा स्नातकोत्तर पनि ।

१२/१३ वर्षको उमेरमै राजु भ्वायलिन, पियानो, मेन्डोलियनजस्ता दर्जन जति बाजा मज्जाले बजाउँथे । पारिवारिक वातावरण पनि संगीतमय थियो । ऊ बेलाका दिग्गज संगीतहस्ती नातिकाजी, पन्नाकाजी, अम्बर गुरुङ, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी, रामशरण दर्नाल, मदन परियारसँग उनको राम्रै चिनापर्ची थियो । ‘वाद्यवादक भगत सिंहको छोराका रूपमा मलाई उहाँहरूले चिन्नुहुन्थ्यो,’ राजुले करिब ४ दशकअघिका स्वर्णिम दिन सम्झिए, ‘उहाँहरूले धेरै माया गर्नुहुन्थ्यो । संगीत सिक्न धेरै ऊर्जा थप्नुहुन्थ्यो । तर, मलाई मेरो पहिचान बनाउनु थियो ।’ १७ वर्षका उमेरमै चर्चित पाकिस्तानी गायक गुलाम अलीको एउटा गीत एरेन्ज गर्ने मौका उनको काँधमा आइलाग्ग्यो । ‘सम्बन्ध’ नामको एल्बममा संकलित राजेन्द्र थापाद्वारा लिखित गीत यस्तो थियो :

रेशमले छोपेर नाङ्गाहरू आफूलाई नाङ्गो ठान्दैनन्

आँखैमा जालो लागेर हो कि बांगोलाई बांगो मान्दैनन्

यो गीत गाइसकेपछि गुलाम अलीले उनलाई धाप मार्दै भनेछन्, ‘तिम्रो भविष्य उज्ज्वल छ । गीत–संगीतबाटै कहिल्यै नटाढिनू ।’ त्यही बेला रेडियो नेपालमा करारको जागिरे जीवन सुरु भयो । त्यसले उनलाई नातिकाजीदेखि नारायणगोपालसम्मका गीतमा बाजा बजाउने अवसर मिल्यो । जसले वाद्य शिल्पमा थप निख्खारता ल्याउने काम गर्‍यो । सिनेमाकर्मी नीर शाहले लेखेको, शम्भुजित बाँस्कोटाले संगीत भरेको र प्रकाश श्रेष्ठले गाएको

गहिराइमा डुब्दै नडुब,

डुबिसकेको छौ भने मोती नटिपी नफर्क...

यो गीतले उनको जीवनमा ठूलो भूमिका खेल्यो । संगीतको गहिराइमा डुबेका राजु मोती टिप्ने बाटोतिर लम्किए । पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलको आरम्भको पूर्वार्द्धमा मन मिल्ने केही साथीसंगी मिलेर पप ‘जनरा’ बाटै सांगीतिक यात्रा तय गर्ने निधो गरे । अनि जन्मियो, ‘प्रतिविम्ब ब्यान्ड’ ।

कहाँ तिम्रो मायालुलाई छाडिराख्यौं

त्यही गोरेटोमा तेस्को माया छ कि छैन

ऊ बेला निक्कै लोकिप्रय थियो यो गीत । नेपालमा हिन्दी, अंग्रेजी गीतको प्रभाव उग्र बन्दै गएको त्यो समयमा अब युवालाई लक्षित गरेर गीत ल्याउनुपर्ने महसुस ब्यान्डका सदस्यहरूले गरेका थिए । ब्यान्डमा राजुसँगै सुदीप रिजाल, पुनम प्रधान, पारु, जोन, शाश्वतलगायत आवद्ध थिए । ‘त्यो समयमा पप गीत गाउनु नै चुनौती थियो,’ राजुले पावरवाला चश्माले दायाँ हातको चोरऔंलाले उँभो ठेल्दै भने, ‘ब्यान्ड टिकाउन झनै ठूलो चुनौती थियो ।’

राजु त्यो बेलाका आफ्ना गीतलाई पपभन्दा पनि आधुनिक नै ठान्छन् । तर, त्यो समयको चर्चित ब्यान्डको सदस्य भएर पनि राजुलाई पहिचान संकट भयो । त्यसमाथि क्रसरोड, नेपथ्य, कन्दराजस्ता समकालीन ब्यान्डसँगको प्रतिस्पर्धा कम चुनौतीपूर्ण थिएन ।

२०४५ सालमा जन्मेको ब्यान्ड करिब एक दशकपछि छिन्नभिन्न भयो । उनका साथीसंगी लाखापाखा लागे । कोही बिदेसिए । कोही भने अझै पनि गायनमै सक्रिय छन् । ‘खासमा हाम्रो ब्यान्ड टुक्रिनुको कारण आर्थिक नै थियो,’ राजुले रहस्य खोले, ‘आम्दानी आठाना, खर्च रुपैयाँको स्थितिपछि ब्यान्ड विघटन भएको हो ।’ २०५० को दशकको अन्त्यतिर राजुको भेट भयो वसन्त बित्यासी थापासँग । गीतकार बित्यासीसँगको भेट छोटो समयमै जम्यो । संगीतकार–गीतकारको यो जोडीले चार एल्बम गर्न भ्याए । यो जोडी अहिलेसम्म जमेकै छ ।

निकट भविष्यमा ‘तिमी मेरो साथी’ नामक एल्बम सार्वजनिक गर्ने तयारी उनीहरूको छ । राजु र गीतकार डम्बर विकेलको जोडी पनि पछिल्लो समय जमेको छ । डम्बरको शब्दमा बलिउड गायिका श्रेया घोषालले गाएको गीतमा पनि राजुले संगीत भरेका छन् । त्यो गीत चाँडै रिलिजको तयारीमा छ । कक्षा १ र ३ को कक्षागत गीतमा पनि राजुले संगीत भरेका छन् । त्यो गीत डम्बरले लेखेका हुन् । ‘ऊ बेला गायक–गीतकारको जोडी थियो । गायक–संगीतकारको जोडी थियो । तर, गीतकार–संगीतकारको जोडी थिएन,’ राजु भन्छन्, ‘हामीले पनि जोडी बाँधेर काम गर्न थाल्यौँ ।’

पछिल्लो समय पप संगीतको रूप फेरिएको हो कि फ्युजन भएको हो ? उनले ठम्याउनै सकेका छैनन् । ‘अब हरेका गायक भर्सटाइल भइरहेका छन्,’ राजुलाई लाग्छ, ‘लोक, पप, आधुनिक, फिल्मी सबै नगाईकन अब इन्डस्ट्रिजमा टिक्न गाह्रो छ ।’

***

एक दिन गायक आनन्द कार्कीसँग उनको जम्का भेट भयो, काठमाडौंको कुनै गल्लीतिर । ब्यान्डबाट उदाएका राजुलाई आनन्दले भने, ‘राजु भाइ, अब ब्यान्डको संगीतकार हैन, देशकै संगीतकार बन्नुपर्छ ।’ अनि जन्मियो ‘फेरि तिम्रो याद आयो’ एल्बम । गीतकार दिनेश अधिकारीको यो गीतलाई आनन्दले स्वर दिए, राजुले धुन । यो गीतपछि राजुले पप ‘जनरा’ को बाटो त्यागेर आधुनिक सुगम संगीतको यात्रा तय गरे ।

तर, आनन्द कार्कीसँग भेटिनुअघि नै २०४७ ताका उनको भेट इलामका गीतकार ज्ञानेन्द्र गदालसँग भएको थियो । त्यतिबेला राजु प्रतिविम्ब ब्यान्डमै सक्रिय थिए । गदालले उनलाई भनेका थिए, ‘बाजा बजाएर मात्रै हुन्न, नाम कमाउनका लागि तिमीले अब संगीतकार बन्नुपर्छ ।’ अन्ततः उनै ज्ञानेन्द्रले लेखेको गीत राजुको पहिलो रेकर्डेड आधुनिक गीत हो । रत्ना बरालले गाएको गीत रेडियो नेपालमा निरन्तर गुन्जिरह्यो :

कहींकतै देखेजस्तो

कहींकतै भेटेजस्तो

२०४७ पुस २६ गते यो गीत रेडियो नेपालमा रेकर्ड भयो । रेकर्डिङ भएको गीत बज्नलाई एक साता कुर्नुपर्थ्यो । ‘त्यो धैर्यताले मेरा सांगीतिक जीवनमै ठूलो महत्त्व राख्थ्यो,’ राजु सम्झिन्छन्, ‘गीत रिलिजपछि एक हप्ताभरि नै रेडियो सुनिरहेँ ।’

राजुले पप, आधुनिक हुँदै फिल्मी गीतमा पनि धुन भरे । तर, फिल्मी दुनियाँमा रमाउन सकेनन् । ‘मालती’ उनको डेब्यु फिल्म थियो । त्यसपछि अर्बपति, द युगदेखि युगसम्म, सानो संसार, कलाकारलगायत फिल्म गरे । केही फिल्म त रिलिज पनि भएनन् । एक दशकमा दर्जन हाराहारीमा फिल्मी संगीत भरेपछि उनले त्यो बाटो हिँड्नै छाडिदिए । अहिले उनी सुगम संगीतमै सक्रिय छन् । गुलाम अली, आशा भोसले, उदितनारायण देखि पछिल्लो पुस्ताका मेलिना राईसम्म काम गरेको अनुभव उनीसँग छ ।

सिंहले संगीत भरेका ४० बढी एल्बम बजारमा छन् । उनका दर्जनौं गीत हिट छन् । ‘एउटा गीत हिट हुनुको पछाडि कसको बढी योगदान हुन्छ ?’ प्रश्न खस्न नपाउँदै भन्छन्, ‘गायकको बढी योगदान हुन्छ । यो युनिभर्सल ट्रुथ हो ।’ यादव खरेलका गीतहरू संग्रहित ‘टुहुरो ईश्वर’ लाई उनी आफ्नो ‘मास्टर पिस’ भन्न रुचाउँछन् । ‘हुन त हरू गीतहरू पनि मलाई मन पर्छ तर यो एल्बमको गीतहरूले चाहिँ मेरो जीवनमा धेरै प्रभाव पार्‍यो,’ थोरै भावुकझैं बनेका राजु बोले, ‘यसमा संगीत भर्दा धेरैपटक रोएँ । ज्येष्ठ नागरिकहरूप्रति मेरो दृष्टिकोण नै फेरियो ।’

‘रित्तो सडकमा...’ बोलको गीतले भने राजुको सांगीतिक यात्राको घुम्ती नै मोडिदियो । वसन्त वित्यासी थापाको लेखन र जोनको स्वर रहेको यो गीतले पप संगीतलाई उचाइ दियो । राजुको अर्को गीत हो, ‘फेरि तिम्रो याद आयो ।’ ब्यान्ड छाडेर पहिलो पटक एकल संगीत गरेको आनन्द कार्कीको यो गीत अहिले पनि उत्तिकै चर्चित छ । त्यस्तै ‘मेरो साथ बिताएका...’ कुनै समय युवामाझ अत्यधिक रुचाइएको थियो नवीन के भट्टराईको यो गीत । राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना र अर्चना बाँस्तोलाको स्वर रहेको ‘कति राम्रो अलि अलि ढल्किएको छाया...’ गीत पनि उनको मन पर्ने सूचीमा छ । रामकृष्ण ढकालको ‘आश्रय’ एल्बमको ‘वचन तोडे कसम नि तोडे....’ गीतले पनि राजुलाई बेग्लै परिचय दिलायो ।

उनलाई गायक फुटबलको स्ट्राइकरझैं लाग्छ । स्ट्राइकरले जब राम्रो प्रदर्शनपछि गोल गर्छ त्यसले सिंगो टिम जिताउन मद्दत मिलेझैं गायकले राम्रो गाएपछि संगीतकार, गीतकार पनि सफल बन्छन् । ‘जबसम्म स्ट्राइकरले राम्रो खेल्दैन, तबसम्म टिमले जित्दैन भनेझैं जबसम्म गायकले राम्रो गाउँदैन तबसम्म संगीतकार, गीतकार पनि सफल हुने कुरै हुँदैन’, उनी भन्छन् ।

संगीतको ‘प्लेटफर्म’ सजिलो गरी पाएका उनका सामु अहिलेसम्मको उपलब्धि बचाइराख्ने चुनौती छ । त्यो चुनौतीलाई परास्त गर्न उनी निरन्तर संगीत साधनमा तल्लीन छन् । ‘साधना, इमानदारिता र निरन्तरता नै मेरो ठूलो हतियार हो,’ उनी थप्छन्, ‘अग्रजहरूको आशीर्वाद, समकालीनको सद्भाव र नयाँ पुस्ताको माया सदैव साथमा छ ।’

प्रकाशित : आश्विन ३, २०८१ ०९:४५
×