कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

मण्डलामा युवाले आयोजना गर्दै नाट्य महोत्सव 

मण्डलामा युवाले आयोजना गर्दै नाट्य महोत्सव 

काठमाडौँ — मण्डला थिएटरका पूर्व विद्यार्थीले नयाँ नाट्य महोत्सव आयोजना गर्दैछन् । असार २१ देखि २३ सम्म आयोजना हुने नाटकको नाम 'म्याड फेस्ट– २०२४' राखिएको छ । 

'यो फेस्टबारे सुरुमा यहीँ मण्डलाको छतमा दयाहाङ राईसँग कुरा गरेको सम्झन्छु । हामी युवाहरु मिलेर यस्तो एउटा महोत्सव गरे कस्तो होला भनेर सोधिरहँदा दयादाईले तिमीहरु आँट न भनेर हौसला दिनु भएको थियो । आज त्यतिबेला सोचेको कुरा साकार हुँदैछ । मञ्चन हुने नाटक लगभग तयार नै भइसके,'महोत्सवका निर्देशक अनुप न्यौपानले भने ।

महोत्सवको यो पहिलो संस्करण हो । अनुपका अनुसार अभिनय सिकेका पुर्व विद्यार्थीहरुका लागि अवसरका खोजीका लागि पनि यस किसिमको महोत्सवको योजना बनाइएको हो ।

महोत्सवमा युवा रंगकर्मीहरुले बनाएका ६ नाटकसहित विभिन्न शीर्षकमा प्यानल छलफल, कविता, संगीत प्रस्तुतिलगायत समाचार नाटक जस्ता फरक विधामा अन्तरक्रियात्मक कार्यक्रमहरु हुने जनाइएको छ ।

महोत्सवमा 'रेल्वे टु नोव्हेर', 'मिरर', 'सिल्पिनी', 'नुग्धा', 'आगम' र 'अंकुरन' नाटक मञ्चनका लागि छनौट भएका छन् । सामाजिक समकालीन मुद्दा र प्रयोगात्मक एबसर्ड नाटकहरुलाई छनोट गरिएको निर्देशक न्यौपानेले बताए ।

महोत्सवमा १८ कथाहरुबाट आठ वटा छनोट गर्दै १५ दिने प्रडक्सन वर्कशपमार्फत छ नाटक मञ्चनका लागि छानिएको हो । महोत्सवको यो पहिलो संस्करण भएकोले अहिले मण्डलाकै टिम समावेश भएपनि आगामी संस्करणमा नेपाल भरिका थिएटर र कलाकारहरुसँग पनि जोड्ने महोत्सव टोलीको योजना छ ।

यस्ता खाले महोत्सवले युवा पुस्तामा लागि पहुँच, ज्ञान निर्माण गर्ने, सिर्जनाको अवसर प्रदान गर्ने र सहकार्यको वातावरण तय गर्न सकिन्छ भन्ने आयोजक टोलीको विश्वास छ ।

प्रकाशित : असार ६, २०८१ १७:०१
×