कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

कोशिश र ऋचा उत्कृष्ट

काठमाडौ — अभिनेता कोशिश क्षेत्री र अभिनेत्री ऋचा शर्माले चलचित्र समीक्षक समाज (फिक्सन) द्वारा प्रदान गरिने क्रिटिक्स अवार्ड जितेका छन्।

कोशिश र ऋचा उत्कृष्ट
सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले सोमबार आयोजित एक कार्यक्रममा सात विधाका विजयीलाई उक्त अवार्ड प्रदान गरेका हुन्। कोशिशले आफ्नो डेब्यु फिल्म 'मोक्ष' बाटै उक्त अवार्ड हत्याएका हुन्। उनले अवार्ड पनि पहिलोपटक नै जितेको भन्दै त्यसमा खुसी व्यक्त गरे। प्रवीण श्रेष्ठ निर्देशित उक्त फिल्ममा कोशिशले एक रक गायकदेखि मेरुदण्डमा चोट बोकी पक्षघात भएको अशक्त युवकको चरित्रलाई न्याय गरेका छन्। अभिनेत्री विधामा उत्कृष्ट ऋचाले छिरिङ रितार शेर्पा निर्देशित फिल्म 'उमा' मा छापामार युवतीको भूमिकाका लागि अवार्ड थापेकी हुन्। अनुप सुवेदीको संयोजनमा समाजकै सदस्यले गरेको भोटिङका आधारमा उत्कृष्ट छनोट गरिएको थियो। विजेताको नाम असार १ मै सार्वजनिक गरेको समाजले अवार्ड भने सोमबार अनामनगरस्थित मण्डला थिएटरमा सानो जमघटमा प्रदान गरेको हो।
अब हरेक वर्ष प्रदान गरिने बताइएको क्रिटिक्स अवार्डमा यसपटक फिल्म 'वधशाला' लाई उत्कृष्ट फिल्मको अवार्ड प्रदान गरियो। विगतको माओवादी सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा सरकारी सेनाको हिरासतभित्र भएको ज्यादतीको कथा बोलेको उक्त फिल्मबाट शैलेन्द्र डी कार्कीले पनि छायांकारको अवार्ड हात पारे। निर्देशकको अवार्ड लिन फिल्म 'साँघुरो' का निर्देशक जोयश पाण्डेलाई बोलाइयो। जोयशलाई पनि पहिलो फिल्मबाटै सफलता मिलेको हो। सुकुम्बासी बस्तीको एक झुपडीमा बस्ने परिवारभित्रको जीवन संघर्ष र गोपनीयतालाई सूक्ष्म केलाइएको 'साँघुरो' फिल्मबाट पटकथा लेखक विनोद पौडेल पनि समीक्षक समाजको नजरमा अब्बल ठहरिएका थिए। उत्कृष्ट सम्पादनको अवार्ड फिल्म 'कर्कश' का लागि लोकेश बज्राचार्यलाई प्रदान गरियो।
'हामीकहाँ फिल्म अवार्ड नै नभएर यो सुरु गरेका होइनौं,' समीक्षक समाज अध्यक्ष यज्ञशले क्रिटिक्स अवार्डको औचित्य पुष्टि गर्दै भने, 'नयाँ ढंगबाट गरौं भनेर हो। समीक्षकको नजरमा कस्ता फिल्म राम्रा हुन्? र, सरकारले कस्ता फिल्मलाई प्रमोट गर्नुपर्छ र दर्शकले पनि कस्ता फिल्ममा ध्यान दिनुपर्छ भनेर यसको थालनी गरेका हौं। यसले अब बर्सेनी निरन्तरता पाउनेछ।' उनले समीक्षकका लागि पनि वर्कसप चलाउँदै लाने र हरेक साता फिल्म हेर्ने र त्यसमा बहस चलाउने उद्देश्यले 'मन्डे मुभी' शृंखला सुरु गर्न लागेका योजना सुनाए। अवार्ड प्रदानपछि मन्त्री रिजालले केही समय फिल्मसँग जोडिएका आफ्ना केही किस्सा संस्मरणमा खर्चेपछि उनले नेपालमा पनि राम्रा फिल्म बन्न
थालेकोमा खुसी व्यक्त गरे। 'यहाँ बर्सेनी ८० बढी फिल्म लगानी पनि नउठ्ने गरी असफल हुन्छन् रे। तर मलाई यो पनि थाहा छ कि १०/१२ राम्रा फिल्म पनि बनिरहेका छन् रे,' मन्त्रीले मन्तव्यमा 'साँघुरो', 'उमा' र 'वधशाला' ले उठान गरेका विषयबारेमा पनि आफ्नो जानकारी पेस गरेका थिए।
अवार्ड कार्यक्रममा बोल्दै पत्रकार महासंघ अध्यक्ष डा. महेन्द्र विष्टले लोकतन्त्रको उन्नत अभ्यास गर्ने क्रममा फिल्ममाथि हुने गरेका सेन्सरका उपक्रममा सरकारले सोच्नुपर्नेमा मन्त्रीको ध्यानाकर्षण गराएका थिए। मन्त्री रिजालले फिल्म सेन्सर हुनु हुँदैन भन्ने तर्कमा आफू सहमत हुँदाहुँदै पनि त्यसलाई रेटिङ गर्न सके वैज्ञानिक हुन सक्ने जिकिर गरे। भने, 'त्यही कुरा पश्चिमा समाजले सजिलै लिन सक्छ तर हाम्रो समाजले लिन सक्छ कि सक्दैन त? बरु त्यसलाई युनिभर्सल, प्यारेन्टल गाइडेन्स वा रेस्टिक्टेडमा रेटिङ गरौं न।' उनले यस्ता कुराहरू बन्दै गरेको फिल्म नीतिका लागि सुझाव पेस गर्न पनि फिल्मकर्मीलाई आग्रह गरे।

 

प्रकाशित : भाद्र १०, २०७१ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धितोपत्र बोर्डको सञ्चालक समितिमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका प्रतिनिधि नरहने व्यवस्थासहित बनेको नयाँ विधेयकको प्रावधानबारे तपाईंको के धारणा छ ?

×