१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३१

गायक कुमार कान्छा रहेनन्

जिन्दगीको के भर छ र...

मुम्बई — 'जिन्दगीको के भर छ र...', 'बतासले उडाइलग्यो माया मेरो...', 'आमैले भन्थिन् धाराको पानी...' लगायत चर्चित गीतका गायक कुमार कान्छा अब रहेनन् । पाँच महिनादेखि मेरुदण्ड (स्पाइनल कर्ड)को उपचार गराइरहेका उनको सोमबार मुम्बईमा निधन भएको छ ।

मुम्बईको माहिमस्थित एसएल रहेजा अस्पतालमा उपचारत ५३ वर्षे कान्छाको स्वास्थ्यस्थिति शनिबारदेखि अचानक बिग्रेको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबारबाट उनलाई अक्सिजन दिएर राखिएको थियो । सोमबार झन्डै १२ बजे उनले धर्ती छाडेका हुन् ।
एक सयभन्दा बढी नेपाली चलचित्रमा गीत गाएका कान्छाले 'कोसेली' र तुलसी घिमिरे निर्देशित चर्चित नेपाली चलचित्र 'लाहुरे'मा अभिनयसमेत गरेका छन्् । सन् १९५७ जुलाई २३ मा कोलकातामा जन्मिएका कान्छाको पुख्यौली घर दैलेख हो । बुबा मानबहादुर शाह र आमा तुलसीदेवी शाहका एक्ला छोरा कुमारले सानै उमेरदेखि सबैले मायापूर्वक 'कान्छा' भनेर बोलाएकाले शाह थर हटाएर 'कान्छा' उपनाम राखेका थिए ।
उनले हिन्दी, मराठी, बंगाली, भोजपुरी, मैथिलीलगायत २५ भाषामा १२ सयभन्दा बढी गीत गाएका छन्् । उस्ताद सुल्तान खाँका चेला कान्छाको पहिलो गीत नेपाली चलचित्र 'साइनो'को 'आमैले भन्थिन्् धाराको पानी...' हो । त्यसपछि उनले स्वर दिएको 'चिनो' को 'बतासैले उडाइलग्यो माया मेरो...' 'जिन्दगीको के भर छ र...' लगायतका गीतहरू लामो समय चर्चामा रहे । 'गोरेटो', 'दोबाटो' र 'साइनो' गरी तीन सोलो एल्बम बजारमा ल्याइसकेका कान्छा पछिल्लोपटक एकसाथ दुइटा एल्बमका लागि काम गरिरहेका थिए ।
उनको उपचारमा खटेका डा. सुरेश आडवानीले कान्छालाई ननअडकेन लिमफोमा क्यान्सर भएको बताएका थिए । उपचारका क्रममा कमाएको सबै सम्पत्ति सकेपछि कान्छाले युट्युवमार्फत सम्पूर्ण नेपालीलाई सहयोगका आग्रह गरेका थिए । उनको उपचारमा झन्डै १६ लाख रुपैयाँ खर्च भएको बताइएको छ । सोमबार उनको पार्थिव शरीर अस्पतालबाट निकाल्दा डेढ लाख रुपैयाँ तिर्नुपरेको थियो । नेपाली श्रमिक मजदुर युनियनका अध्यक्ष मास्टर थापाले अस्पताल पुगेर ४० हजार डिस्काउन्ट गराएका थिए । केही साताअगाडि मात्रै कान्तिपुरसँगको कुराकानीमा उनले 'देश-विदेशका सम्पूर्ण नेपालीको सहयोग र आर्शीवादले आफू बाँच्न सफल भएको' बताएका थिए ।
'उनको निधनले नेपाली गीत-संगीतको क्षेत्रमा ठूलो क्षति पुगेको छ,' संगीतकार रञ्जित गजेमरले भने, 'यो हामी सबैका लागि दुःखद् कुरा हो ।' गायक मुरलीधरले भारत प्रवासमा सँगै उठ्बस गर्ने साथी गुमाउनुपर्दा स्तब्ध भएको प्रतिक्रिया दिए । दुई छोरा (विवेक र विनायक) र पत्नी कविताका साथ मुम्बईको गोरेगाउँ पश्चिममा बस्दै आएका कान्छा मुम्बईका प्रवासी नेपालीहरूले गर्ने प्रायः सबै कार्यक्रममा सहभागी हुन्थे ।
उपचारक्रममा उनले चार लाख भारतीय रुपैयाँमा घरसमेत बन्धक राखेका थिए । अस्पतालको शय्याबाटै सहयोगको अपिल गरेपछि चारैतिरबाट सहयोगी हातहरू जुटिरहेका थिए । उनको सहयोगार्थ सर्वप्रथम मुम्बईमा नेपाल न्युज दैनिकले सांस्कृतिक कार्यक्रम गरेको थियो, जसमा गायक रामकृष्ण ढकाल, नायिका सञ्चिता लुइँटेल, अभिनेता टीका पहाडीलगायतका कलाकार थिए । नेपालमा 'कुमार कान्छा उपचार सहयोग समिति' गठन गरिएको थियो । अभिनेत्री नम्रता श्रेष्ठको नेतृत्वमा काठमाडांैमा सांस्कृतिक कार्यक्रम गरेर तीन लाख रुपैयाँ पठाइएको थियो । अमेरिकाबाट अभिनेता सरोज खनाललगायतले एक लाखभन्दा बढी पठाएका
थिए । हङकङ, अस्ट्रेलिया, बेलायतलगायतका नेपालीले सहयोग पठाउने क्रम जारी थियो ।
सोमबार साँझै उनको पार्थिव शरीरलाई गोरेगाउँस्थित घरमा ल्याएर श्रद्धाञ्जली कार्यक्रम गरियो । श्रद्धाञ्जलीमा संगीतकार रञ्जित गजमेर, गायक तथा अभिनेता मुरलीधर, गायिका जमुना शर्मा, संगीतकार शिखर सन्तोषलगायत विभिन्न संघ/संस्थाका प्रतिनिधिहरू सहभागी भए । उनको सोमबार साँझै दाहसंस्कार गरियो ।


प्रकाशित : माघ ४, २०६७ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?