कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

अमेरिकामा इन्ट्रा कप भलिबल प्रतियोगिता, रुकुम र बेलमण्ट विजयी

भाद्र ३१, २०८१
अमेरिकामा इन्ट्रा कप भलिबल प्रतियोगिता, रुकुम र बेलमण्ट विजयी

काठमाडौँ — अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा सम्पन्न इन्ट्रा कप भलिबल प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन् ।

नेपाली समयअनुसार भदौ ३१ गते साँझ सम्पन्न फाइनल खेलमा रुकुम टिमले सजनी टिमलाई ३—२ को सेटले जितेको थियो । नेपालको मध्यपश्चिमको रुकुमबाट आएर अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने खेलाडीहरु रुकुम टिममा सम्मिलित छन् भने नेपालको नेपालको सुदूरपश्चिमबाट अमेरिका आई टेक्सासमै बसोबास गर्ने खेलाडीहरु सजनी टिममा समावेश छन् । प्रथम हुने रुकुम टिमले १० तोला सुनको गोल्ड कप र १२ हजार अमेरिकी डलर(१६ लाख ९हजार नेरु) जितेका छन् । उनीहरुलाई आयोजक संस्था इन्ट्रा—नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले सो पुरस्कार हस्तान्तरण गरेका थिए । त्यसैगरी महिला भलिबलतर्फ मेरिल्याण्ड राज्यको नेपाली क्लब बेलमण्टले जितेको छ । चर्चित नेपाली राष्ट्रिय खेलाडीहरु सिपोरा गुरुङ्ग र रमिला तण्डुकारसम्मिलित बेलमण्टले १० तोला सुनको गोल्ड कप र ९ हजार अमेरिकी डलर(१२ लाख ६ हजार रुपैयाँ ) जितेको थियो ।

यसैगरी सो प्रतियोगितामा पुरुषतर्फ उपविजेता बनेको सजनी टिमले ८ हजार अमेरिकी डलर( १० लाख ७२ हजार रुपैयाँ ) र महिलातर्फको उपविजेता बीवाईएससी मिनिसोटाले ६ हजार अमेरिकी डलर(८ लाख ४ हजार रुपैयाँ ) पुरस्कार प्राप्त गरेको छ ।

पुरस्कार वितरण गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले खेल जितेर पुरस्कार रकम, ट्रफी र कपमात्र लिएर खेलाडीहरु फर्किएको नभई नेपालीपन, नेपाली मन र नेपाली जातीय एकतालाई मजबुत बनाइएको बताए । उनले नेपालीपन र नेपाली सांस्कृतिक एकतालाई संसारभर मजबुत बनाउन फाउण्डेसनले मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको दोस्रो संस्करण सन् २०२५ मा देखि सुरु गर्ने बताए ।

पुरस्कार वितरण गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपालीपन र नेपाली मनलाई अमेरिकामा एकताबद्ध बनाई खेलकुद प्रतियोगिता गराएको देख्न पाउँदा आफूलाई गर्व लागेको बताए ।

खेल व्यवस्थापन समितिका संयोजक ओमराज गुरुङ्गले दिएको जानकारीअनुसार, इन्ट्रा कप भलिबलको सर्वोत्कृष्ट खेलाडीमा महिलातर्फ बेलमण्टकी सिपोरा गुरुङ्ग र पुरुषतर्फ रुकुम टिमका डेमोण्ड खड्का घोषित भएका थिए ।

प्रकाशित : भाद्र ३१, २०८१ २२:५०
x
×