कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

बेलायतमा दक्षिणपन्थी समूहले गर्‍यो नेपालीको पब-रेस्टुरेन्टमा आगजनी

भाद्र ७, २०८१
बेलायतमा दक्षिणपन्थी समूहले गर्‍यो नेपालीको पब-रेस्टुरेन्टमा आगजनी

लन्डन — बेलायतको नर्दन आयरल्यान्डस्थित नेपाली व्यवसायीको एक पब तथा रेस्टुरेन्टमा आगजनी भएको छ । बालीक्लेयर रोड, न्यूटाउन आबीमा रहेको रेलवे बार एन्ड स्टीम डाइनिङमा मंगलबार राती करिब १:५० बजे पेट्रोल बम प्रहार गरि आगजनी गरिएको व्यवसायी अब्जन आचार्यले जनाए । 

आगजनीपछि पबको भित्तामा ‘मुस्लिम आउट’ लेखिएको छ । प्रहरीले घटनालाई जातीय उत्प्रेरित घृणाजन्य अपराध भनेको छ। दक्षिणपन्थी समूहले आगजनी गरेको हुन सक्ने बताउँदै आचार्यले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए ।

व्यवसायी आचार्यले आगजनीपछि आफ्नो पब र रेष्टुरेन्ट पूर्ण रुपमा क्षति भएर बन्द गर्नु परेको बताएका छन् । अब सोही ठाउँमा पुन: सञ्चालन गर्न असम्भव रहेको पनि उनले बताए ।

आचार्यले गत मार्चमा मात्र करिब एक लाख पाउन्ड लगानी गरेर उक्त व्यवसाय सुरु गरेका थिए ।

‘म हिन्दू परिवारमा जन्मिएको, बेलफास्टमा हुर्केको र शिक्षित भएको नेपाली मेरो छालाको रंग र धर्मले हामीलाई यस्तो घृणित कार्यको निशाना बनाउँछ भन्ने कल्पना पनि गरेको थिइनँ’,आचार्यले दुखेसो पोखे ।

बाग्लुङ स्थायी घर भएका आचार्य सन् २००६ देखि बेलायतमा छन् । नेपाली कम्युनिटी नर्दन आयरल्यान्डका पूर्व अध्यक्ष आचार्यले यस्तो जघन्य जातीय घटनाबाट नेपाली समुदाय त्रसित रहेको पनि बताए । यद्यपी स्थानीय समुदाय, प्रहरी र राजनीतिक दलले पूर्ण सहयोग गरेको उनको भनाइ छ ।

बेलायतमा केही साता अघिमात्र एक साता लामो हिंसात्मक दंगा भएको थियो । दक्षिणपन्थी समूहले आप्रवासी र मुस्लिमहरूलाई मुख्य निसाना बनाएर गरेको उक्त दंगा १३ वर्षयता सबैभन्दा उग्र मानिएको छ ।

नेशनल पुलिस चिफस् काउन्सिलले बेलायतमा हिंसात्मक दंगामा १०२४ जनालाई पक्राउ गरिएको र ५७५ लाई अभियोग लगाइएको जनाएको छ ।

गत जुलाई २९ मा उत्तरपश्चिम इंग्ल्यान्डको साउथपोर्टमा एक १७ वर्षीय युवाले छुरा प्रहार गरेर ६, ७ र ९ वर्षका तीन बालिकाको हत्या गरेपछि हिंसा फैलिएको थियो ।

प्रहरीले बालिका हत्या गर्ने संदिग्ध युवा बेलायतमा जन्मिएको जनाए पनि दक्षिणपन्थीहरूले ती युवा शरणार्थी र मुस्लिम भएको हल्ला फैलाए । त्यसपछि आप्रवासी र मुस्लिमविरोधी प्रदर्शनहरू हिंसामा परिणत भएको थियो ।

प्रकाशित : भाद्र ७, २०८१ १६:५३
x
×