कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

पूर्वाधार सम्मेलनमा विकासको चिन्ता

भाद्र २९, २०८१

काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू सरकारमा रहँदा लगानीमैत्री वातावरण बनाउन धेरै ऐन, कानुन तथा नीतिनियम परिवर्तन गरेको बताएका छन् ।

नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको पाँचौं नेपाल पूर्वाधार सम्मेलन, २०२४ को दोस्रो दिन समापन समारोहमा उनले मुलुकमा लगानी भित्र्याउनकै लागि गत वैशाखमा लगानी सम्मेलनसमेत गरेको सम्झिए ।

‘प्रत्यक्ष विदेशी लगानी भित्र्याउन र स्वदेशकै निजी क्षेत्रबाट लगानीका लागि लगानीमैत्री वातावरण बनाउन धेरै काम गरेको छु,’ उनले भने, ‘सरकारले गरेका लगानी सम्मेलनबाट धेरै महत्त्वपूर्ण सुझाव तथा प्रतिक्रिया आएका थिए ।’

परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनले पनि आर्थिक गतिविधि बढाउन र निर्माणका लागि थप सकारात्मक भूमिका खेल्ने उनले विश्वास गरे । दाहालले मुलुकमा राजनीतिक फेरबदल भइरहे पनि आर्थिक गतिविधि बढाउन र निर्माण गर्न सहज वातावरण बनाउन नसकेको उनको भनाइ छ । ‘राजनीतिक परिवर्तनका बीच आर्थिक निर्माणका लागि सहज वातावरण बनाउन हामीले प्रयास गरिरहेका छौं,’ उनले भने ।

दुईदिने पूर्वाधार सम्मेलनमा पूर्वाधारसँगसम्बन्धित १२ वटा सत्र सञ्चालन गरियो । परिसंघले सन् २०१४, २०१७, २०१९ र २०२२ मा पनि नेपाल सरकार (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय), लगानी बोर्ड, युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर (वाईसीएनसी) लगायतको साझेदारीमा नेपाल पूर्वाधार सम्मेलन गरेको थियो ।

बिहीबार सुरु भएको पूर्वाधार सम्मेलनको समापन समारोहमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सम्मेलनमा गरिएको बहसले पूर्वाधार विकासका क्षेत्रमा सही दिशातर्फ लैजाने बताए । मुलुकको दिगो विकासका लागि रणनीतिक उपायहरूको पहिचान भएको उनको भनाइ छ । पूर्वाधारका योजना वित्तीय रूपमा मात्र तयार नभई जलावायु परिवर्तनलगायत वातावरणीय रूपमा तयार हुनुपर्ने उनको भनाइ छ ।

सम्मेलनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डले लगानी प्रवर्द्धन गर्न र निजी–सार्वजनिक साझेदारीमा काम गरिरहेको जनाए । बोर्डको बिजनेस प्लान स्ट्र्याटिजी परिमार्जन गर्ने प्रस्तावमा समेत शुक्रबार हस्ताक्षर गरिएको उनले बताए । सरकारको १६औं योजनाअनुसार लगानीका लक्ष्य तयार गरेर बोर्ड त्यहीअनुसार अघि बढ्ने उनको भनाइ छ ।

सम्मेलनका विभिन्न सत्रमा नवप्रवर्तन, वित्तीय स्रोतका उपाय, सरकार र निजी क्षेत्रबीच समन्वय, नीतिगत चुनौती छलफल गरिएको परिसंघका उपाध्यक्ष वीरेन्द्र पाण्डेले बताए । सम्मेलनको दुईदिने छलफलमा दिगो विकासअन्तर्गत पूर्वाधार विकासका विभिन्न आयामबारे छलफल गरिएको भौतिक मन्त्रालयका सचिव केशव शर्माले जनाए ।

प्रकाशित : भाद्र २९, २०८१ ०६:५६
×