कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चुरोटको अवैध आयात प्रकरण : सौर्य सिमेन्टसँग राजस्वले माग्यो जवाफ

भाद्र १८, २०८१
चुरोटको अवैध आयात प्रकरण : सौर्य सिमेन्टसँग राजस्वले माग्यो जवाफ

सिरहा — सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगमा अवैध विदेशी चुरोट भेटिएको विषयमा उद्योगसँग जवाफ माग गरिएको छ । राजस्व अनुसन्धान कार्यालय, इटहरीले उद्योगसँग अवैध चुरोटका विषयमा जवाफ मागेको हो ।

उद्योगभित्र विदेशी ब्रान्डका राजस्व छलीका मार्लबोरो चुरोट भण्डारण गर्ने गरिएको र पोल खुल्ने डरले अढाई ट्रक जति चुरोट जलाइएको घटना सार्वजनिक भएपछि उद्योगसाग जवाफ माग गरिएको कार्यालयका प्रमुख खेमराज ओझाले पुष्टि गरे ।

प्रहरी र सञ्चारमाध्यममार्फत जानकारी पाएलगत्तै उद्योगमै पुगेर खानतलासी पनि गरेको उनले जानकारी दिएका छन् । तर, उद्योगभित्र बाँकी रहेका चुरोट भने उद्योगले गायब पारिदिएको पाइएको छ । उद्योगभित्र चुरोट जलाइएको अवस्थामा मात्र भेटिएको र थप चुरोट नभेटिएको ओझाले बताए ।

उद्योगमा शनिबार साँझ होहल्ला भएपछि पुगेको मिर्चैया प्रहरीले तीन वटा कार्टुनमा ल्याएको चुरोट लिएर राजस्वको टोली फर्किएको र उद्योगले मंगलबार साँझसम्म जवाफ दिनुपर्ने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, सिमेन्ट उद्योगमा चुरोट कसरी आयो, कहिले आयो, किन आयोलगायतका विषयमा जवाफ माग गरिएको छ ।

कार्यालय प्रमुख ओझाले यस विषयमा चित्तबुझ्दो जवाफ नआए सम्बन्धित व्यक्तिहरुसाग बयान पनि लिनसक्ने जानकारी दिए । ‘त्यो त सिमेन्ट उद्योग हो नि, चुरोटको त होइन,’ ओझाले कान्तिपुरसित भने, ‘उनीहरू जलाउन ल्याएको भन्छ, तर त्यसरी मिल्दैन, यस विषयमा हामीले बयान पनि लिन सक्छौं ।’

उद्योगबाट मार्लबोरो र मार्लबोरो गोल्ड गरी दुई प्रकारका चुरोट फेला परेका थिए । आन्तरिक राजस्व विभागको स्टिकर टाँस गरिएका दुवै प्रकारका चुरोटका बट्टामा वास्तविक मूल्य लेखिएको ठाउँमा बढी रकम उल्लेख गरिएको अर्को स्टिकर टाँस गरी बिक्री गरिँदै आएको समाचार कान्तिपुरले सार्वजनिक गरेको थियो ।

मार्लबोरो मात्रै लेखिएको चुरोटको बट्टामा मुनिको कालो भागमा वास्तविक मूल्य नेपाली २ सय ३० रुपैयाँ उल्लेख छ । तर, वास्तविक मूल्य लेखिएकै ठाउँमा प्लास्टिक कभरको माथिबाट नेपाली २ सय ८० रुपैयाँ लेखिएको कालो स्टिकर टाँस गरिएको छ ।

यस्तै, मार्लबोरो गोल्ड उल्लेख गरिएको चुरोटको बट्टाको मुनिको भागमा वास्तविक मूल्य नेपाली २ सय ८० लेखिएकोमा त्यसमा पनि उसैगरी प्लास्टिक कभरको माथिबाट ३ सय ५० रुपैयाँ उल्लेख गरिएको कालो स्टिकर लगाइएको कान्तिपुरले फेला पारेको छ ।

यसले मार्लबोरो चुरोटले नेपाललाई वास्तविक मूल्यको मात्रै राजस्व तिरी एउटै चुरोटका बट्टामा ५० र ७० रुपैयाँ बढी लिएर उपभोक्तालाई ठग्दै आएको तथा उक्त रकमको हुन आउने राजस्वसमेत छली गर्दै आएको प्रस्ट हुन्छ ।

इन्डोनेसियास्थित पीटी फिलीप मोरिस नामक कम्पनीमा उत्पादित यो चुरोट नेपालमा शंकर ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतका जगदम्बा ओभरसिजले नेपालमा आयात गर्छ । मार्लबोरो चुरोट भेटिएको सौर्य सिमेन्ट उद्योग पनि शंकर ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत नै पर्छ ।

प्रकाशित : भाद्र १८, २०८१ ०९:१४
x
×