कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

मार्लबोरो चुरोट सौर्य सिमेन्टको फ्याक्ट्रीमा जलाइयो

भाद्र १७, २०८१
मार्लबोरो चुरोट सौर्य सिमेन्टको फ्याक्ट्रीमा जलाइयो

Highlights

  • रिलेबलिङको आशंकामा प्रहरी र राजस्वको अनुसन्धान सुरु 
  • आयातकर्ता कम्पनीले म्याद नाघेको र पानीमा भिजेको भनेर अढाई ट्रक चुरोट जलाउँदा सम्बद्ध नियामक निकायसँग अनुमति लिएको छैन 

सिरहा — विदेशी ब्रान्डको चुरोट मार्लबोरोलाई ‘रिलेबलिङ’ गरी बिक्री गर्ने गरेको आशंकामा प्रहरी र आन्तरिक राजस्व कार्यालयले अनुसन्धान थालेका छन् । सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगभित्र भण्डारण गरिएको चुरोटमा लेबलिङ गरेका विषयमा आफू जानकार भएको र प्रहरीको सहयोगमा अनुसन्धान भइरहेको आन्तरिक राजस्व कार्यालय, लहानका प्रमुख पुण्य रिजालले पुष्टि गरे । 

चुरोटको बट्टामा अर्को स्टिकर लगाएर बेच्नु अवैध ठहरिने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगन्ज कार्यालयका सूचना अधिकारी दिलीप खंगले बताए । ‘वास्तविक मूल्य भएको ठाउँमा बढी मूल्य लेखिएको स्टिकर टाँस गरी बेच्न मिल्दैन,’ उनले भने, ‘यस्तो काम रिलेबलिङ हो ।’ सिरहा भन्सार कार्यालय, माडरका प्रमुख तोयानाथ सापकोटाले भने बट्टामा लगाइएको बढी मूल्यकै राजस्व बुझाएको भए गलत नहुने बताए । तर आयात गर्दाको कम मूल्यको राजस्व बुझाएको र नयाँ मूल्य बढी कायम गरी बेचेको भए ठगी र राजस्व छली हुने उनको भनाइ छ ।

इन्डोनेसियास्थित पीटी फिलिप मोरिस नामक कम्पनीबाट उत्पादित चुरोटको बट्टामा वास्तविक मूल्य लेखिएको ठाउँमा बढी मूल्य लेखिएको स्टिकर टाँस गरिएको छ । आन्तरिक राजस्व विभागको स्टिकर टाँस गरिएका चुरोटका बट्टामा फेरि नयाँ स्टिकर टाँस गरी बिक्री गरिएको हो ।

मार्लबोरोका दुई प्रकारका चुरोट ‘मार्लबोरो’ र ‘मार्लबोरो गोल्ड’ मा यस्तो फेला परेको हो । उपभोक्ता संरक्षण ऐन ०७५ ले रिलेबलिङलाई निषेध गरेको छ । यस्तो काम गैरकानुनी हो । कान्तिपुरलाई प्राप्त विवरणअनुसार मार्लबोरो मात्रै लेखिएको चुरोटको बट्टामा वास्तविक मूल्य २ सय ३० रुपैयाँ लेखिएको छ ।

मूल्य लेखिएकै ठाउँमा प्लास्टिक कभरको माथिबाट २ सय ८० रुपैयाँ लेखिएको स्टिकर टाँस गरिएको छ । मार्लबोरो गोल्डको वास्तविक मूल्य पनि २ सय ८० लेखिएको ठाउँमा माथिबाट ३ सय ५० रुपैयाँको नयाँ स्टिकर टाँस गरिएको छ ।

यसरी एउटै बट्टामा ५० र ७० रुपैयाँ बढी लिएको भेटिएको छ । उक्त रकमबाट हुन आउने राजस्वसमेत छली भएको आशंका गरिएको छ ।

चुरोटको गोदाम सौर्य सिमेन्ट उद्योगमा !

राजस्व छलीको आशंकासमेत गरिएको मार्लबोरोको रिलेबलिङ चुरोट सिरहा मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगभित्र भण्डारण गरिएको थियो । त्यहाँ कार्यरत मजदुरले आशंका गरे पनि चुरोट राखेको विषयमा कसैलाई जानकारी दिइएको थिएन ।

गत साउन २१ मा केही मजदुर लगाएर उद्योग परिसरभित्रै चुरोट जलाएपछि सबैतिर हल्ला भयो । ‘उद्योगभित्रका गतिविधि शंकास्पद थिए । हामी काम गर्ने मजदुर, केही बोल्यो भने निकालिदेला भन्ने डर । यसबारे व्यापक गाइँगुइँ चलेपछि म्याद नाघेको र पानीमा भिजेको भनेर करिब अढाई ट्रक चुरोट जलाइयो,’ एक मजदुरले भने, ‘त्यसपछि सबैलाई थाहा भयो ।’ कम्पनीले म्याद नाघेको र पानीमा भिजेको भनेर अढाई ट्रक चुरोट जलाउँदा सम्बद्ध नियामक निकायसँग अनुमति लिएको छैन ।

चुरोट जलाएको एक सातापछि मजदुरहरूले फेरि चुरोटका कार्टुन देखे । उनीहरूले उद्योगमा कार्यरत माथिल्ला पदका कर्मचारीहरूको कोठा–कोठामा देखे । यसै विषयमा शनिबार साँझ उद्योगमा होहल्ला नै भयो । त्यसपछि उद्योगमा प्रहरी पुगेको थियो । इलाका प्रहरी कार्यालय, मिर्चैयाको टोलीले उद्योगबाट चुरोटका तीन कार्टुन नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले चुरोट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको मिर्चैयाका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले बताए । ‘तीन वटा कार्टुनमा रहेका केही चुरोट ल्याएका छौं, यसबारे अनुसन्धान हुँदै छ,’ डीएसपी बाखुले भने, ‘अनुसन्धानपछि सबै कुरा बाहिर आउला ।’

आयातकर्ता शंकर ग्रुप अफ इन्डस्ट्रिजको भगिनी संस्था जगदम्बा ओभरसिजका शैलेन्द्र खत्रीले चुरोट विदेशमा बन्ने भएकाले यस विषयलाई जटिल नबनाइदिन आग्रह गरे । ‘यो विषयलाई गिजोलेर काम छैन, यो विदेशमा बन्ने चुरोट हो, त्यस्ता चुरोट हामीले बजारबाट फिर्ता ल्याएर जलाइसकेका पनि छौं । कतै बाँकी छ भने विवरण दिनू, त्यसलाई नष्ट गर्छौं ।’

सिमेन्ट उद्योगमा कार्यरत मजदुर भने सिमेन्ट उद्योगमा अझै थुप्रै चुरोट रहेको बताउँछन् । यस विषयबारे बुझ्न खोज्दा सौर्य सिमेन्ट उद्योगका महाप्रबन्धक जीवन नेपाल सम्पर्कमा आएनन् । उद्योगका प्राविधिक प्रमुख गुरुदयाल सिंहले भने काम नलाग्ने चुरोट जलाउन मात्रै सिमेन्ट उद्योगमा राखिएको दाबी गरे । ‘चुरोट आयातकर्ता जगदम्बा ओभरसिज शंकर ग्रुपअन्तर्गतकै हो । सिमेन्ट उद्योग पनि शंकर ग्रुपकै हो,’ सिंहले भने, ‘चुरोट पानीमा भिजेर काम नलाग्ने भएको थियो, त्यसैले जलाउन मात्र यहाँ ल्याइएको हो ।’

प्रकाशित : भाद्र १७, २०८१ ०६:१५
x
×