कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

चित्लाङमा १५ करोड लगानीमा गोब्रे च्याउ फार्म

भाद्र ३०, २०८१
चित्लाङमा १५ करोड लगानीमा गोब्रे च्याउ फार्म

हेटौंडा — मकवानपुरको थाहा नगरपालिकामा रहेको चित्लाङ पर्यटकका लागि मात्र आकर्षक छैन, च्याउ खेती गर्नेका लागि पनि उर्वर छ । चित्लाङको टुपी खेलमा करिब १५ करोड लगानीमा ७ वर्षदेखि गोब्रे च्याउ उत्पादन गरिँदै आएको छ । 

थाहा नगरपालिका–९ टुपी खेलको टुप्पामा ०७४ देखि ३९ जना किसानले सामूहिक रूपमा इन्द्रेणी मसरुम फार्म स्थापना गरेर च्याउ उत्पादन गर्दै आएका छन् । यस फार्ममा गत वर्ष ४ करोड १५ लाख रुपैयाँ बराबरको च्याउ बिक्री भएको थियो । सुरुमा किसानले ८० लाख लगानीमा च्याउ खेती सुरु गरेका थिए । काठमाडौंका र स्थानीय बासिन्दाको संयुक्त लगानीमा सञ्चालित उक्त फार्मबाट उत्पादित च्याउको मुख्य बजार काठमाडौं नै हो ।

‘यहाँ उत्पादित च्याउ राजधानीका होलसेल व्यापारीलाई बिक्री गर्दै आएका छौं,’ फार्मका प्रबन्धक राजु श्रेष्ठले भने, ‘प्रतिकिलो चार सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । गाब्रे च्याउको माग अनुसार उत्पादन गर्न सकेका छैनौं ।’ राजधानीदेखि नजिक र चिसो हावापानी भएको चित्लाङको टुपी खेलमा गोब्रे च्याउका लागि उपयुक्त हावापानी छ । तसर्थ च्याउ उत्पादन राम्रो भइरहेको कृषि प्राविधिक सुजित खड्कीले बताए । यो च्याउलाई १४ देखि २७ सेन्टिग्रेटसम्मको वातावरण चाहिन्छ ।

दुई वटा टनेलसहित ६ वटा टहरामा च्याउ उत्पादनलाई वातावरण मिलाउन एसी जडान गरिएको छ । १० किलोको प्रत्येक ‘ बल्ब’मा नरिवलका जटाको धुलो, माटो र अर्गानिक मल हालेर प्याक गरिन्छ । बल्बमा प्याक गरेको २० दिनमा मल तयार भएपछि त्यसमा च्याउको बीउ रोपिन्छ ।

रोपेको ३५ दिनपछि च्याउ बिक्रीका लागि तयार हुन्छ । एउटा बल्बबाट करिब तीन किलो च्याउ उत्पादन हुने गर्छ । च्याउ निकालिसकेको बल्बको मल, माटो खन्याएर पुन पहिलकै जसरी नरिवलका जटाको धुलो, माटो र कुखुराको मल हालेर बल्ब बनाइन्छ । मल र माटो कृषि वस्तु उत्पादनका लागि मलका रूपमा बेचिन्छ ।

प्रकाशित : भाद्र ३०, २०८१ ०७:२८
×