कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

नारायणी नदीपारिको सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

भाद्र ३०, २०८१
नारायणी नदीपारिको सुस्तामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको बिजुली

काठमाडौँ — नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सुस्ता गाउँपालिका–५स्थित सकरदिनयीबाट करिब ५ किलोमिटर ११ केभी लाइन निर्माण गरी नारायणी नदीपारिको सुस्ताबस्तीमा राष्ट्रिय प्रसारण ग्रीडको विद्युत् पुर्‍याएको छ ।

नारायणी नदीमा निर्माण गरिएको १ हजार ५ सय ७१ मि. लामो झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पूर्ण रूपमा पालना हुने गरी दायाँबायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्ताबस्तीमा विद्युत् पुर्‍याइएको हो ।

प्राधिकरणले ११ केभी लाइन पुर्‍याएसँगै तीनतिरबाट नारायणी नदीबाट घेरिएको र एकातर्फ भारतसँग सीमाना जोडिएको सुस्ताबस्ती राष्ट्रिय प्रसारण लाइनको विद्युत्सँग जोडिएको छ । सुस्ताबस्तीलाई जोड्न नारायणी नदीमा झोलुङ्गे पुल निर्माण भएसँगै विद्युत् लाइन विस्तार पनि सम्भव भएको हो ।

गाउँपालिका, लुम्बिनी प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा जडान गरिएको १०० किलोवाटको सौर्य ऊर्जाबाट सुस्ताबस्तीमा विद्युत् आपूर्ति हुँदै आएको थियो । सौर्य ऊर्जा प्लान्टको नियमित मर्मतसम्भार हुन नसक्दा विद्युत् आपूर्ति भरपर्दो हुन सकिरहेको थिएन ।

सुस्ताबस्तीमा विद्युत् आपूर्तिका लागि १०० केभिए क्षमताका दुईवटा वितरण ट्रान्सफर्मर राखिएका छन् । विद्युत् लाइन र ट्रान्सफर्मको जडान र परीक्षण सम्पन्न गरिएको छ । अब त्यहाँबाट उपभोक्ताको घरघरमा विद्युत् आपूर्ति दिन सुरु गरिनेछ । सुस्ताबस्तीमा करिब ३ सय ५० घरधुरी छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्तामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको बताए । ‘सुस्ताबस्तीमा सौर्य ऊर्जाबाट विद्युत् आपूर्ति दिइरहेको भए तापनि भरपर्दो र गुणस्तरीय थिएन, स्थानीयबाट विद्युतीकरणका लागि माग हुँदै आएको थियो, भारतसँग सीमाना जोडिएको सुस्ताबस्तीमा राष्ट्रिय ग्रिड पुग्नु राष्ट्रियताको दृष्टिकोणबाटसमेत महत्त्वपूर्ण छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

१ करोड ३३ लाख रुपैयाँ अनुमानित लागत रहेको सुस्ताबस्तीको विद्युतीकरण कार्य आर्थिक वर्ष २०७९/०८०मा सुरु गरिएको थियो । लाइन नारायणी पार गराउन नदीमा पोल गाड्न सम्भव नभएपछि झोलुङ्गे पुल निर्माण सम्पन्न नहुन्जेलसम्म पर्खनु परेको थियो ।

प्रकाशित : भाद्र ३०, २०८१ १२:१८
×