कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

शिक्षा दिवसमा वाग्मती प्रदेशका १० विद्यालय पुरस्कृत

आश्विन २, २०८१
शिक्षा दिवसमा वाग्मती प्रदेशका १० विद्यालय पुरस्कृत

काठमाडौँ — शिक्षा दिवसको अवसरमा वाग्मती प्रदेशका १० विद्यालयलाई पुरस्कृत गरिएको छ । दिवसको अवसरमा ५ सामुदायिक र ५ संस्थागत विद्यालयलाई नगदसहित पुरस्कृत गरिएको हो । 

शिक्षा विकास निर्देशनालय वाग्मती प्रदेशले छनोट गरेका सामुदायिकतर्फका मेघा माध्यमिक विद्यालय तेखापुखु भक्तपुर, बलम्बु माध्यमिक विद्यालय चन्दागिरि नगरपालिका काठमाडौं, पृथ्वी माध्यमिक विद्यालय विदुर–४ नुवाकोट, तरुण माध्यमिक विद्यालय बालाजु काठमाडौं र श्रम राष्ट्रिय माध्यमिक विद्यालय कुमारीगाल काठमाडौं उत्कृष्ट भएका छन् ।

यसैगरी संस्थागततर्फका ह्विज किड्स इन्टरनेसनल स्कुल बालुवाटार काठमाडौं, रिलायन्स इन्टरनेसनल एकेडेमी बूढानीलकण्ठ काठमाडौं, गोकर्णेश्वर लाइट एकेडेमी गोकर्णेश्वर काठमाडौं, शांकरी स्कुल छाउनी काठमाडौं र माउन्ट ग्लोरी इंग्लिस बोर्डिङ हाइस्कुल उत्कृष्ट भएका थिए ।

उत्कृष्ट सामुदायिक र संस्थागत विद्यालयहरूलाई क्रमशः १ लाख, ८० हजार, ७० हजार, ६० हजार र ५० हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

शिक्षा दिवसको सन्दर्भमा आयोजित निबन्ध लेखन प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कृत गरिएको थियो । जसमा स्कृति चौलागाई बाँसबारी मावि काठमाडौं प्रथम, सुमना बुढाथोकी स्याउरी भूमि मावि शिवपुरी नुवाकोट द्वितीय, अविना कार्की भालेश्वर मावि पनौती काभ्रे तृतीय भएका थिए । उनीहरूलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

उत्कृष्ट विद्यालय र विद्यार्थीलाई वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले शिक्षाको गुणस्तर वृद्धिमा जोड दिएका थिए । उनले शिक्षाको गुणस्तर सुधार्न अभिभावकले चासो लिनुपर्ने बताएका थिए ।

सामाजिक विकासमन्त्री खड्गीले सामुदायिक विद्यालयको अवस्था सुधारमा प्रदेश सरकारले लगानी बढाउने बताउँदै सरकारको पहलमा मात्र शिक्षा क्षेत्र सुधार सम्भव नरहेकाले सबै सरोकारवाला निकाय गम्भीर रहनुपर्ने बताइन् । सामुदायिक विद्यालयको नतिजा सुधार गर्न शिक्षक तथा अभिभावक र विद्यालय व्यवस्थापन समितिलाई ठोस योजना बनाउन उनले निर्देशन दिइन् ।


प्रकाशित : आश्विन २, २०८१ १७:२४
x
×