कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अलमलमा विद्यालय शिक्षा

समाजमा कस्तो पुस्ता निर्माण गर्ने भन्ने औजार विद्यालयमै हुन्छ । त्यसको सही सदुपयोगले बालबालिकाको मस्तिष्कमा विचारको सूक्ष्म बीजारोपण गर्न सकिन्छ ।
विणा झा

के तपाईंले अहिले विद्यालय तहमा पढ्नुभएको कुनै पाठ वा विषय याद गर्न सक्नुहुन्छ ? कुनै कक्षाकार्य वा गृहकार्य सम्झनामा छ ? अनि त्यस समय सिकेका पाठहरूलाई हुबहु जीवनमा जस्ताको तस्तै गरी उपयोग गरेको स्मरण गर्नुभएको छ कि छैन ? हामीलाई दुई दशकअगाडि पढेका विषयसमेत याद गर्न कठिनै हुन्छ ।

अलमलमा विद्यालय शिक्षा

किनकि त्यसबेला हामीले व्यावहारिक ज्ञान सिक्न सकेनौं । अहिलेको समस्या पनि यही हो । कुनै पनि बालबालिकालाई सुरुदेखि नै सैद्धान्तिकभन्दा व्यावहारिक शिक्षा दिन सकेनौं भने भविष्यमा उसले ठूलो डिग्री त हासिल गर्ला तर सीप र क्षमताले युक्त हुन सक्दैन ।

एउटा बच्चा जुन परिवारमा जन्मन्छ, पारिवारिक वातावरणमा उसले त्यहाँ बोलिने भाषा सिक्छ । किनकि उसले परिवारका हरेक सदस्यबाट माया पाउनुका साथै सिक्ने क्रममा गरेका गल्तीलाई सहज स्वीकार्छ पनि । प्रोत्साहन र हौसलाले छोटो समयमै मज्जाले उक्त भाषा बोल्न सक्ने बन्छ । विद्यालय शिक्षा भनेको त्यस्तै हो । विशेषगरी आधारभूत तहमा सिक्ने प्रक्रिया, सोच्ने शैली, सामाजिक तथा प्राकृतिक विषयवस्तुसँगको मानवीय सहसम्बन्धलाई पूर्ण आत्मविश्वासका साथ सिक्न सक्ने वातावरण बनाइनुपर्छ ।

विद्यालय शिक्षा मानव जीवनको जग पनि हो । जसले कस्तो सोचको व्यक्ति निर्माण गर्ने भन्नेमा अहम् भूमिका निर्वाह गर्छ । समाजमा कस्तो पुस्ता निर्माण गर्ने भन्ने औजार पनि विद्यालयमै हुन्छ । त्यसको सही सदुपयोगले बालबालिकाको मस्तिष्कमा विचारको सूक्ष्म बीजारोपण गर्न सकिन्छ । जसले समाज मात्रै होइन देशकै भविष्यको खाका कोर्न सक्ने पुस्ता तयार पार्न सक्छ । कुनै पनि बच्चा जहाँ जन्मियो त्यहीं हिँड्न सिक्छ र पाँचै ज्ञानेन्द्रीयको सहायताले वरिपरिकै वातावरणमा निर्भर रही संज्ञानात्मक ज्ञानको विकास गर्छ । विद्यालय तहको शिक्षा एउटा व्यक्तिको सामाजिकीकरणमा अहम् भूमिका खेल्ने एक महत्त्वपूर्ण इकाइ हो । विद्यालय शिक्षालाई समुदायकेन्द्रित बनाउँदै तिनलाई ज्ञान खोज्ने प्रक्रिया सिकाउने, सोच्ने, कल्पना गर्न सक्ने क्षमताको विकास गराउने लक्ष्य बोकेको हुनुपर्छ ।

विद्यालय शिक्षाको अति नै संवेदनशील महत्त्वपूर्ण पक्ष ओझेलमा पारिँदै गएको देखिन्छ । त्यो भनेको शिक्षक–विद्यार्थीबीचको विश्वास र सम्मानको सम्बन्ध । विद्यार्थी–विद्यार्थीबीचको सम्बन्ध । विद्यालयमा रहेका सम्पूर्ण मानवस्रोतसँगको सम्बन्ध । विद्यालयसँग जोडिएको प्रकृति, पाठ्यक्रम र समुदायसँगको सम्बन्ध, इत्यादि । मानव जीवनका लागि असाध्यै महत्त्वपूर्ण पक्ष भनेको सम्बन्धहरूको स्पन्दन बुझ्नु हो । तर यी पक्षलाई ओझेलमा पारिनु दुर्भाग्यपूर्ण छ ।

जस्तो : कर्णालीका विद्यालयले आफ्ना विद्यार्थीको दैनिकीमा कहाँकहाँ विज्ञान जोडिएको छ, कहाँकहाँ गणित जोडिएको छ, कहाँकहाँ समाजका विविधता प्रस्ट हुने गरी देखिएको छ भन्ने महसुस गराउँदै पाठ्यक्रमलाई डोर्‍याउन सक्नुपर्छ । काठमाडौंका विद्यालयले आफ्ना विद्यार्थी, तिनका पृष्ठभूमि र विद्यालयमा उपलब्ध स्रोतसाधनको आधारमा मूल्यांकन गर्नुपर्छ । तर अस्वस्थ प्रतिस्पर्धाको बढ्दो चापमा विद्यालय तहका बालबालिका निस्सासिएको देखिन्छ ।

ए–फर एप्पल र बी फर बलमै सम्पूर्ण ज्ञान लुकेको भ्रममा रुमल्लिएको अवस्था छ । उसको दैनिकीलाई पाठपुस्तकका विषयवस्तुसँग जोडेर बुझाउनु कता हो कता, उल्टै उसले देख्दै नदेखेको समाजमा प्रचलित विविध परिभाषाको रटानमै अभ्यस्त गराउन थालिएको छ । कर्णालीका विद्यार्थीले पिपलको रूख देख्दा त्यसको वरिपरि शीतल हावा पाउँदा त्यहाँ विज्ञान किन खोज्दैन ? त्यसै गरी काठमाडौंका विद्यार्थीले कोठामा भएको कुलर र एसीको कारण कोठा शीतल किन हुन्छ भन्ने कारण किन खोतल्न जाँदैन ? विद्यार्थी चाहे कर्णालीको होस् वा वागमती प्रदेशको, खेल्दा खुसी हुने, उफ्रिने प्रक्रिया उस्तै होइन र ? वरिपरिको विषयवस्तुप्रति जिज्ञासा बढ्नुपर्ने होइन र ? यसमा शिक्षकहरूले उनीहरूको भावना बुझेर त्यहीअनुसार ज्ञान भरिदिनुपर्ने होइन र ?

अर्को उदाहरण यसरी बुझौं, विद्यालय शिक्षा भनेको हिँड्न सिकाउने प्रक्रिया हो । त्यो भनेको कुन ठाउँमा जन्म्यो, घर आँगन कस्तो छ, उसको वरिपरिको भौगोलिक अवस्था कस्तो छ, पोषण पुगेको छ कि छैन । बच्चाले पहिलो पाइला आफ्नै घरमा टेकेको हुन्छ । यसको अर्थ पाइला चाल्दै हिँड्न सिकेपछि उसले दगुर्न पनि सिक्छ र भर्‍याङ चढ्न थाल्छ । यो प्राकृतिक सिकाइ हो । यसबेला ती पाइलालाई कुनै निश्चित नियमभित्र जकडिदिने हो भने उसको हिँडाइमा अवरोध आउन थाल्छ ।

विद्यालय शिक्षालाई पनि समुदायकेन्द्रित गरी प्राकृतिक रूपले सिकाइ गर्ने वातावरण बनाइदिन जरुरी छ । सिकाइलाई समाज र संस्कृतिसँग जोड्न सक्ने हो भने विद्यालय शिक्षा उत्कृष्ट बन्छ । वास्तवमा एक सक्षम शिक्षकले विद्यालयमा सिर्फ अंक र अक्षर मात्रै पढाएका हुँदैनन्, समाजसँग जोडिएका हरेक विषयवस्तुलाई बुझाउन त्यसको प्रक्रिया बुझाउने गर्छन् । त्यसैले समाज बुझेका, विद्यार्थीसँग गहिरो भावनात्मक सम्बन्ध जोड्न सक्ने, अभिभावकको सामाजिक, आर्थिक र सांस्कृतिक पाटो बुझेका शिक्षकलाई प्रशिक्षित गराउन जरुरी छ ।

विद्यालयमा खासमा जीवन सिक्ने हो । विद्यालय शिक्षाले सिर्फ अंक र अक्षर पढ्ने मात्रै नभई भावनात्मक सम्बन्धको निर्माण गर्छ । त्यसको महसुसले सिर्जित दायित्वबोधको खोजी गराउँछ । यदि विद्यालय तहको शिक्षामा कुनै विद्यार्थीलाई उसको समाजको स्पन्दनसँग जोड्न सकिएन भने उसले समाजभित्रको विविधता बुझ्न सक्दैन । पछि ऊ विश्वको जुनसुकै ठाउँमा गएर पनि जतिसुकै उत्कृष्ट ज्ञान हासिल गरेको प्रमाण पत्र बोकेर जुनसुकै पेसामा फर्के पनि उसको पढाइको अर्थ हुँदैन । समाज पढ्नु र समाज बुझ्नु फरक कुरा हो ।

ज्ञान कहाँ छ भनेर खोज्ने बनाउने हो भने विद्यालय तहको शिक्षाप्रति थप संवेदनशील बन्नुपर्छ । सामाजिक विज्ञान वा प्राकृतिक विज्ञान दुवै क्षेत्रमा निर्मित र स्थापित कुनै पनि ज्ञान, सिद्धान्त वा अन्वेषणलाई गहिरिएर हेर्ने हो भने तिनका जरा समुदायमै भेटिन्छ । जस्तो कि गाडीको आविष्कारको आधारदेखि लिएर विज्ञान प्रविधिमा आएको परिवर्तनसम्मलाई नियाल्ने हो भने त्यसको सूक्ष्म बीउ समाजमै रहेको छ । कम्प्युटरबाट गर्न सकिने सम्पूर्ण कार्य होस् वा आइन्स्टाइनको गुरुत्त्वाकर्षणको सिद्धान्त, कुनै वैज्ञानिक आविष्कारको मूल विचार समाजबाटै लिइएको हुन्छ । विद्यालय शिक्षा सूचनाको संकलनमा मात्र निर्भर हुनुहुन्न । सिकाइलाई कल्पना गर्न सक्ने क्षमताको विकास नगरी र सिर्जनशीलतालाई प्रोत्साहन नगरी विद्यालय शिक्षाको मूल उद्देश्य पूरा हुन सक्दैन ।

प्रकाशित : जेष्ठ २४, २०८१ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

×