कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

किन हुँदैन गाजामा युद्धविराम ?

भाद्र १९, २०८१
किन हुँदैन गाजामा युद्धविराम ?

Highlights

  • अमेरिकाले यसै साता दुवै पक्षलाई युद्धविरामको प्रस्ताव पेस गर्ने योजना बनाइरहेको भए पनि राष्ट्रपति बाइडेनले त्यसको प्रस्ट मार्गचित्र भने प्रस्तुत नगरेको अलजजिराले जनाएको छ, हमास र इजरायलबीच युद्ध सुरु भएयता बाइडेन र नेतान्याहुबीच कैयौं पटक कुराकानी भइसकेको छ

काठमाडौँ — इजरायल र हमासबीच गाजा क्षेत्रमा करिब ११ महिनादेखि युद्ध जारी छ । २०२३ अक्टोबर ७ मा युद्ध सुरु भएयता दुई पक्षबीच युद्धविरामका लागि चरणबद्ध वार्ताहरू भइसकेका छन् । तर ती वार्ता अझैसम्म निष्कर्षमा पुग्न सकेका छैनन् ।

यसको प्रमुख कारण हो, दुवैले एकअर्काको अस्तित्व स्वीकार नगर्नु । हमासले यहुदी समुदाय र इजरायललाई पूर्ण रूपमा नष्ट गर्नुपर्ने बताउँछ भने इजरायलले हमासलाई ध्वस्त नपारेसम्म युद्ध नरोकिने बताउँछ ।

इजरायल र हमास एकअर्काप्रति निकै आक्रामक, क्रुद्ध र असह्य हुनुको कारण भने दोस्रो विश्वयुद्धका क्रममा विकसित घटनाक्रम हो । भूमध्यसागर र जोर्डन नदीबीच रहेको प्यालेस्टाइनलाई १५१६ मा अटोमन साम्राज्यले कब्जा गरेको थियो । तर, पहिलो विश्वयुद्धमा अटोमन साम्राज्यको हार भएपछि बेलायतले प्यालेस्टाइनमाथि नियन्त्रण कायम गर्‍यो । दोस्रो विश्वयुद्धपछि यहुदीहरूका लागि छुट्टै देशको माग उठेको थियो ।

१९४७ नोभेम्बर २९ मा राष्ट्रसंघीय महासभाले प्यालेस्टाइनमा यहुदी र मुसलमानका लागि दुई राज्य बनाउने निर्णय गर्‍यो । दुवै पक्षले दाबी गरेको जेरुसेलम र वरपरको क्षेत्रलाई भने अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरियो । १९४८ जुन १४ मा बेलायती सत्ता समाप्त भएपछि प्यालेस्टाइनको केही भाग समेटेर यहुदी राज्य इजरायल बन्यो । पहिलेदेखि त्यहाँ बसेका मात्र नभई विश्वको कुनै पनि भागका यहुदीले इजरायलमा बस्न पाउने व्यवस्था गरियो ।

तर, प्यालेस्टाइनका छिमेकी राष्ट्रहरू इजरायल देश बनाउने निर्णयमा सहमत भएनन् । जसका कारण प्यालेस्टाइनका मुसलमान, इजिप्ट, सिरिया, जोर्डनलगायतका देशले इजरायलमाथि आक्रमण गरे । १० महिनासम्म चलेको युद्धमा इजरायल विजयी मात्र भएन, प्यालेस्टाइनीका लागि छुट्याइएको ठूलो भूभाग पनि कब्जामा लियो । तर, इजरायललाई मान्यता नदिने राष्ट्रहरू जोर्डन, इजिप्ट, सिरिया, साउदी अरब, कुवेत, इराकले १९६७ मा पुनः इजरायलमाथि आक्रमण गरे । त्यसयता इजरायलको प्यालेस्टाइनसँग मात्र नभई वरपरका मुस्लिम देशहरूबीच पनि तनाव जारी छ ।

त्यसयता पटकपटक इजरायल र अरब क्षेत्रका विभिन्न सशस्त्र समूहबीचका आक्रमण सामान्य बनेका छन् । इजरायलले १९७३, १९८२, २००६ र २०१४ मा युद्ध लडेको छ । पछिल्लो समय भने प्यालेस्टिनी समूह हमासले २०२३ अक्टोबर ७ मा इजरायलमाथि भीषण आक्रमण गर्‍यो । इस्लामिक चरमपन्थी संगठन हमासले २००७ यता गाजा स्ट्रिपमा शासन गर्दै आएको छ । २३ लाख मानिसको बसोबास रहेको गाजा स्ट्रिप इजरायल, इजिप्ट र भूमध्यसागरबीचको ४१ किमि लामो र ६ देखि १२ किमि चौडा क्षेत्र हो ।

गाजाको आकाश (हवाई क्षेत्र) र समुद्री तटमाथि भने इजरायलको नियन्त्रण छ । आफूसँग जोडिएको सीमा भएर आउजाउ तथा सामान ओसारपसार इजरायलको नियन्त्रणमा छ । त्यस्तै, इजिप्टले पनि आफूसँग जोडिएको नाकामा नियन्त्रण गर्छ । इजरायललाई विनाश गर्ने शपथ लिएको हमासले त्यसयता कैयौं पटक इजरायलसँग लडाइँ गरिसकेको छ । इजरायलले इजिप्टसँग मिलेर २००७ यता गाजा स्ट्रिपमाथि नाकाबन्दी गर्दै आएको छ ।

सन् १९८७ मा शेख अहमद यासिनले गठन गरेको हमासले इजरायललाई देश मान्दैन । प्यालेस्टाइनमा स्वतन्त्र इस्लामिक राज्य स्थापनाको लक्ष्य लिएको हमासले १९८८ मा जारी गरेको बडापत्रमा यहुदी समुदाय र इजरायललाई पूर्ण रूपमा नष्ट गरेर मात्रै हमासको मृत्यु हुने उल्लेख छ । हमास इजरायली सेनाको तुलनामा भने कमजोर छ । तर पछिल्लो समय उसले मोर्टार, ड्रोन र रकेट आक्रमणसँग सम्बन्धित प्रविधि विकसित गरिरहेको छ ।

गाजा क्षेत्रमा ठूलो मात्रामा हतियार कारखाना सञ्चालन गर्ने हमासले इरानबाट अत्याधुनिक हतियार बनाउने प्रविधिसमेत भित्र्याएको मानिन्छ । इजरायल, अमेरिका, यूके, युरोपेली संघलगायतले भने हमासलाई आतंकवादी समूह ठान्छन् । उनीहरूले हमासलाई सन् १९९७ मा ‘आतंकवादी संगठन’ घोषणा गरेका थिए । तर, उक्त समूहलाई सघाउँदै आएको इरानले आर्थिक सहायतासँगै हतियार र प्रशिक्षण दिँदै आएको छ ।

२०२३ अक्टोबर ७ को आक्रमणमा करिब १२ सय जनाको ज्यान गएको थियो भने हमासले २ सय ५१ जनालाई बन्धक बनाएको थियो । त्यसपछि इजरायलले सुरु गरेको जवाफी आक्रमणमा गाजामा ४० हजार ७ सयभन्दा बढीको ज्यान गइसकेको छ । बन्धक बनाएर लगिएकामध्ये ६ जनाको दक्षिणी गाजाको रफाह क्षेत्रस्थित भूमिगत सुरुङमा शनिबार शव फेला परेको थियो । ९७ जना अझै पनि हमासको नियन्त्रणमा छन् । तीमध्ये कम्तीमा २७ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ । इजरायली सेना (इजरायली डिफेन्स फोर्स–आईडीएफ) का अनुसार शव भेटिएका पाँच जना इजरायली र एक अमेरिकी नागरिक हुन् ।

शनिबार ६ जना बन्धकहरूको शव भेटिएपछि भने इजरायल केही तातेको छ । बाँकी बन्धकलाई मुक्त गराउन युद्धविराम सम्झौताका लागि प्रधानमन्त्री नेतान्याहुलाई दबाब दिने उद्देश्यले इजरायलमा आइतबार र सोमबार सरकारविरोधी प्रदर्शन गरिएको थियो । इजरायलको सबैभन्दा ठूलो ट्रेड युनियन ‘हिस्टाड्रुट’ विपक्षी दल, तेल अभिभका नगर प्रमुख र प्रमुख उत्पादक संघलगायत देशव्यापी हडतालको समर्थनमा उत्रेका थिए ।

प्रदर्शनकारीले नेतान्याहु र प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । हमासले बन्धक बनाएका बेपत्ता परिवारहरूको समूह ‘द मिसिङ फ्यामिलिज फोरम’ ले इजरायल सरकार र प्रधानमन्त्री नेतान्याहुले बन्धकलाई रिहा गर्नका लागि गम्भीर नभएको आरोप लगाउँदै आएका छन् । सोमबार अदालतले आम हडताल रोक्न आदेश दिएसँगै विरोध प्रदर्शन मत्थर भएको जनाइएको छ ।

प्रदर्शन चर्किएसँगै नेतान्याहुले ‘बाँकी बन्धकको मुक्ति र देशको सुरक्षा सुनिश्चित गर्ने सम्झौताका लागि प्रतिबद्ध रहेको’ बताएका थिए । कतिपयले आइतबार र सोमबारका प्रदर्शनसँगै प्रधानमन्त्री नेतान्याहुको नेतृत्वको सरकार अप्ठ्यारोमा पर्न सक्ने आकलन गरेका थिए । तर पूर्वराजदूत तथा सरकारका सल्लाहकार अलोन पिन्कासले त्यस्तो आकलन गर्ने समय आइनसकेको बताउँछन् । ‘त्यसो भन्नु धेरै नै चाँडो हुन्छ,’ पिन्कासले भने ।

गत नोभेम्बरमा दुई पक्षबीच केही समयका लागि युद्ध रोक्ने सहमति जुटेको थियो । त्यससँगै केही बन्दीहरू साटासाटसमेत गरिएको थियो । त्यसले युद्धविरामका लागि मार्ग प्रशस्त गरेको ठानिएको थियो । विभिन्न चरणका वार्तापछि गत मे महिनामा दुवै पक्ष युद्धविराम सम्झौताको नजिक पुगेको समाचारहरू पनि सार्वजनिक भएका थिए । तर नेतान्याहुले नयाँ र छलफल नै हुन नसक्ने मुद्दा उठाएपछि सम्झौता हुन नसकेको बताइएको छ ।

त्यसयता इजरायलले गरेका आक्रमणमा गाजामा हजारौंको ज्यान गइसकेको छ । पछिल्ला दिनमा इजरायलले वेस्ट बैंक र लेबनानमा समेत आक्रमण गरेको छ । त्यसका साथै, इजरायलले वार्तामार्फत भन्दा पनि सैन्य कारबाही गरेर नै बन्धक रिहा गर्ने रणनीति लिएको छ । तर उसको यो रणनीतिप्रति इजरायलीको तीव्र असन्तुष्टि थियो । शनिबार ६ जनाको शव भेटिएपछि भने त्यसको विरोध प्रदर्शनका रूपमा सडकमै पोखिएको हो ।

‘सरकार र प्रधानमन्त्री अब रक्षात्मक बनेका छन्,’ इजरायली राजनीतिका जानकार ओरी गोल्डबर्ग भन्छन्, ‘यो अहिलेको अवस्था हो ।’ यसअघि नेतान्याहुविरुद्ध २०२३ मा पनि प्रदर्शन भएको थियो । देशको न्यायिक प्रणालीलाई परिमार्जन गर्ने उनको योजनाविरुद्ध हजारौं इजरायलीहरू सडकमा उत्रिएका थिए । आलोचकहरूले नेतान्याहुले विगतमा गरेका भ्रष्टाचारबाट बच्ने उपायस्वरूप न्याय प्रणाली सुधारको प्रयास गरेको बताएका थिए ।

त्यस्तै, २०२४ अप्रिलमा पनि हमासले बन्धक बनाएकाको रिहाइ र युद्धविरामको माग गर्दै नेतान्याहुविरुद्ध प्रदर्शन चर्केको थियो । ‘नेतान्याहुलाई बन्धक रिहा गर्ने वा युद्धविराम सम्झौता गर्नेमा कुनै चासो छैन र यो स्पष्ट छ,’ पिनकासले भने, ‘के भयो भनेर आक्रोशित हुनेहरूले अचम्म मान्नुपर्दैन किनभने रक्षामन्त्री र हामी सबैले चेतावनी दिएका थियौं । उनको अनिच्छाले नै यो सब भयो ।’

गत जुलाईमा गरिएको एक सर्वेक्षणअनुसार ७२ प्रतिशत इजरायलीले अक्टोबर ७ मा हमासको आक्रमण रोक्न असफल भएकामा नेतान्याहुले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताएका थिए । त्यसयता उनको लोकप्रियता निरन्तर ओरालो लाग्ने क्रममा छ । तर पनि नेतान्याहु उनका मुख्य प्रतिस्पर्धी बेनी गान्ट्जभन्दा अगाडि नै देखिएका छन् ।

पछिल्लो अवस्था हेर्दा नेतान्याहु युद्धविराम सम्झौताका लागि लचक हुने देखिएका छैनन् । नेतान्याहुले युद्धविरामका लागि ‘फिलाडेल्फी करिडोर’ इजरायलको नियन्त्रणमा आउनुपर्ने प्रस्ताव अघि सारेका छन् । ‘फिलाडेल्फी करिडोर’ इजिप्टसँगको गाजाको सीमाको १४ किलोमिटर लम्बाइ र सय मिटर चौडाइ भएको जमिन हो ।

१९७९ मा इजिप्टसँग भएको क्याम्प डेभिड शान्ति सन्धिले इजरायललाई उक्त करिडोरमा भारी हतियारबिना केही सेना राख्ने अनुमति दिएको थियो । पछि २००५ मा गाजाबाट इजरायली बस्ती र सेना हटाइएपछि यसलाई गैरसैनिक सीमा क्षेत्रका रूपमा तोकिएको थियो । इजरायली सेना फिर्ता भएसँगै करिडोरबाट तस्करी रोक्ने जिम्मेवारी इजिप्ट र प्यालेस्टाइनको थियो । हमासले २००७ मा गाजामाथि नियन्त्रण कायम गर्नुअघिसम्म करिडोरमा ७ सय ५० जना इजिप्टका प्रहरी परिचालन गरिएको थियो । करिडोर गत मे यता भने इजरायलले नियन्त्रणमा लिएको हो ।

करिडोरबाट हमासले हतियार तस्करी गर्ने गरेको इजरायलको दाबी छ । तर इजिप्ट र हमासले त्यस्ता गतिविधिलाई अस्वीकार गर्दै आएका छन् । प्यालेस्टाइनी समूह हमासले पनि ‘फिलाडेल्फी करिडोरमा इजरायलको कुनै पनि उपस्थिति अस्वीकार गरेको छ ।

नेतान्याहुले गाजा क्षेत्रलाई नियन्त्रण गर्ने हमासले पुनः सशस्त्र सुरुङहरू बनाउन सक्ने भएकाले त्यो रोक्न करिडोरमाथिको नियन्त्रण निकै महत्त्वपूर्ण भएको बताएका छन् । ‘फिलाडेल्फी करिडोर हमासको अक्सिजन हो,’ उनले भनेका छन्, ‘बन्धकहरूलाई मुक्त गर्न मभन्दा बढी प्रतिबद्ध कोही छैन । यस विषयमा मलाई कसैले सिकाइरहन पर्दैन ।’

पछिल्लो समय इजरायलको प्रमुख सहयोगी अमेरिका भने नेतान्याहुको आक्रामकताबाट केही थाकेको देखिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘युद्धविरामका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रयास गरेको आफूलाई नलागेको’ प्रतिक्रिया दिएका छन् ।

ह्वाइटहाउसमा पत्रकारहरूसँग बोल्दै बाइडेनले युद्धविराम सम्झौताको नजिक पुगेको र गाजाका बन्धकहरू रिहा हुने बताएका छन् । शनिबार साँझ अमेरिकी नागरिक पोलिनको शव भेटिएपछि राष्ट्रपति बाइडेनले एक विज्ञप्ति जारी गर्दै हमास नेताहरूले चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

बाइडेनका अनुसार अमेरिकाले यसै साता दुवै पक्षलाई युद्धविरामको विषयमा अन्तिम प्रस्ताव पेस गर्ने योजना बनाइरहेको जनाएका छन् । ‘हामी त्यसको धेरै नजिक छौं,’ बाइडेनले भनेका छन् । तर बाइडेनले युद्धविरामको प्रस्ट मार्गचित्र भने प्रस्तुत नगरेका अलजजिराले जनाएको छ । हमास र इजरायलबीच युद्ध सुरु भएयता बाइडेन र नेतान्याहुबीच कैयौं पटक कुराकानी भइसकेको छ ।

हमासका वरिष्ठ नेता सामी अबु जुहरीले अमेरिकी राष्ट्रपति बाइडेनको आलोचना युद्धविराम सम्झौता निष्कर्षमा पुग्न नदिनका लागि नेतान्याहु जिम्मेवार रहेको अमेरिकी मान्यता भएको बताएका छन् । उनले प्यालेस्टिनी भूमिबाट पूर्ण रूपमा इजरायलीको फिर्ती सुरक्षित गर्न सक्ने युद्धविराम प्रस्तावलाई समूहले स्वीकार गर्ने बताएका छन् ।

युद्धविरामका लागि नेतान्याहुलाई दबाब दिने उद्देश्यले बेलायतले इजरायलसँगको हतियार बिक्री स्थगन गरेको छ । बेलायतका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार पिटर रिकेट्सले इजरायललाई हतियार बिक्री स्थगन गर्ने निर्णय लामो समयदेखि पर्खिरहेको भए पनि यसले इजरायली प्रधानमन्त्री नेतान्याहुको युद्धप्रतिको सोचमा कुनै परिवर्तन नआउने उनले बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हतियार बिक्री स्थगत गर्ने निर्णयलाई ‘लाजमर्दो’ कार्य भनेका छन् । ‘बेलायतको भ्रामक निर्णयले हमासलाई थप हौसला दिन्छ,’ उनले भनेका छन् । बेलायतका हतियार हुन् वा नहुन्, इजरायलले यो युद्ध जित्नेछ र आफ्नो भविष्य सुनिश्चित गर्नेछ,’ नेतान्याहुले भनेका छन् ।

प्रमुख हतियार निर्यातकर्ता भएपछि इजरायली सेनाले लडाकु विमान, निर्देशित बम र क्षेप्यास्त्र विभिन्न देशबाट खरिद गर्दै आएको छ । पछिल्लो समय इजरायलले अमेरिका, जर्मनी, इटाली र बेलायतबाट हतियार खरिद गर्दै आएको छ ।

स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (एसआईपीआरआई) का अनुसार इजरायलले सन् २०१९ देखि २०२३ सम्म आयात गरेका मध्ये ६९ प्रतिशत अमेरिकी हतियार हुन् । त्यस्तै २०१३ देखि २०२३ सम्ममा इजरायलले ६५.६ प्रतिशत हतियार अमेरिकाबाट, २९.७ प्रतिशत जर्मनीबाट र ४.७ प्रतिशत इटालीबाट खरिद गरेको (एसआईपीआरआईको तथ्यांकमा उल्लेख छ । अक्टोबर ७ मा युद्ध सुरु भएयता इजरायलले अमेरिकाबाट १० करोड ६० लाख अमेरिकी डलर बराबरका ट्यांकमा प्रयोग हुने गोलाबारुद र १४ करोड ७० लाख बराबरको तोपका गोला खरिद गरिसकेको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलले सैन्य दबाब जारी राखेमा बन्धकहरू कफिनभित्र फर्काइने चेतावनी दिएको छ । इजरायली सेनाले आक्रमण गरेको खण्डमा बन्दीहरूको सुरक्षामा रहेका सेनालाई कारबाही गर्न नयाँ निर्देशन दिएको हमासले जनाएको छ ।

पछिल्लो समयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सम्झौताको सट्टा सैन्य दबाबको माध्यमबाट कैदीहरूलाई मुक्त गर्ने जिद्दी गरेको दोष हमासले लगाउँदै आएको छ । हमासले शान्ति नचाहेकाले बन्धकको हत्या गरेको नेतान्याहुले दाबी गरेका थिए । यस्तो स्थिति कायम रहिरहे बन्धकलाई कफिनमा फर्काइदिने इजेदिन अल–कसम ब्रिगेडका प्रवक्ता अबु ओबिडाले बताएका हुन् ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित : भाद्र १९, २०८१ ०९:३५
x
×