कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

किन टसमस हुँदैनन् नेतान्याहु ? 

भाद्र १७, २०८१
किन टसमस हुँदैनन् नेतान्याहु ? 

Highlights

  • हमासले बन्धक बनाएकालाई मुक्त गराउन र युद्धविराम सम्झौताका लागि दबाब दिन इजरायलमा देशव्यापी प्रदर्शन

काठमाडौँ — प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमाथि इतिहासकै ठूलो आक्रमण गरेको करिब ११ महिना पुगेको छ । गत अक्टुबर ७ मा गरिएको आक्रमणमापछि हमासले २ सय ५१ जनालाई बन्धक बनाएको थियो । बन्धक बनाएर लगिएका मध्ये ६ जनाको दक्षिणी गाजाको रफाह क्षेत्रस्थित भूमिगत सुरुङमुनि शव फेला परेको थियो । 

इजरायली सेना (इजरायली डिफेन्स फोर्स–आईडीएफ) ले शव भेटिएकाहरूको नाम सार्वजनिक गर्दै त्यसमध्ये पाँच जना इजरायली नागरिक रहेको जनाएको थियो । आईडीएफका अनुसार कार्मेल गाट, एडेन यरुसल्मी, अलेक्जेनडर लोबानोभ, अल्मोग सारुसी र ओरी डानियो र एक अमेरिकी गोल्डबर्ग पोलिनको शव भेटिएको हो ।

अक्टुबर ७ को आक्रमणमा इजरायलमा करिब १२ सय जनाको ज्यान गएको थियो । त्यसको जवाफी कारबाहीमा इजरायलले सुरू गरेको आक्रमणमा गाजामा ४० हजार ७ सयभन्दा बढीको ज्यान गइसकेको छ । बन्धक बनाइएकामध्ये एक नेपालीसहित ९७ जना अझै पनि हमासको नियन्त्रणमा छन् । तीमध्ये कम्तीमा २७ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ ।

करिब एघार महिनासम्म शान्त रहेका इजरायलीहरू ६ जनाको शव फेला परेसँगै आक्रोशित भएका छन् । जसका कारण इजरायलका विभिन्न स्थानमा सरकारविरोधी प्रदर्शन चर्केको छ । बाँकी बन्धकलाई मुक्त गराउन युद्धविराम सम्झौताका लागि दबाब दिने उद्देश्यले इजरायलका विभिन्न स्थानमा दशौं हजारले प्रदर्शन सुरू गरेका छन् ।

इजरायलको सबैभन्दा ठूलो ट्रेड युनियन ‘हिस्टाड्रुट’ ले सोमबारका लागि देशव्यापी हडतालको आह्वान गरेको हो । युनियनका नेता आर्नन बार–डेभिडले ‘अन्य कुराभन्दा बन्धकहरुको रिहाइ महत्त्वपूर्ण’ भएको बताएका छन् । ‘तर विडम्बना हामीले युद्धविराम सम्झौताभन्दा पनि शव राखिएका झोलाहरू पाइरहेका छौं,’ उनले भनेका छन् । हमासले बन्धन बनाएकाहरुकाे रिहाइका लागि दबाब दिन इजरायलमा गरिएकाे सरकारविराेधी प्रदर्शन । तस्बिर : एपी

‘हिस्टाड्रुट’ देशव्यापी आन्दोलनको आह्वान गर्नुअघि आइतबार साँझ देशभर सरकारको विरोधमा जुलुस निकालिएको थियो । प्रदर्शनकारीहरू इजरायलको झण्डा अंकित लुगा लगाएर तेल अभिभ, जेरुसलेम र अन्य सहरका सडकमा उत्रिएका थिए । तेल अभिभमा प्रदर्शनकारीले प्रहरीको घेरा तोड्दै राजमार्गमा अवरोध गरेका थिए । त्यहाँ प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले पानीका फोहोरा प्रयोग गरेको थियो ।

हमासले गाजामा बन्धक बनाएका इडानका पिता एली स्टिभी पनि प्रदर्शनमा सहभागी भएको बीबीसीले जनाएको छ । ‘मलाई मेरो छोराको धेरै न्यास्रो लागेको छ । सबै परिवारहरू पनि एक किसिमले बन्धकजस्तै भएका छन्,’ उनले भनेका छन् ।

विपक्षी दल, तेल अभिभका नगर प्रमुख र प्रमुख उत्पादक संघले समेत देशव्यापी हडतालको समर्थन गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार विपक्षी नेता तथा पूर्वप्रधानमन्त्री याअर लापिड पनि प्रदर्शनमा सहभागी भएका छन् । ‘येश आतिड’ पार्टीका नेता लापिडले बन्धकहरूको रिहाइका लागि नेतान्याहुलाई बाध्य पार्नका लागि हडतालको समर्थनमा उत्रेको जनाएका छन् ।

हमासले बन्धक बनाएका बेपत्ता परिवारहरूको समूह ‘द मिसिङ फ्यामिलिज फोरम’ ले एक सातादेखि नेतान्याहुको सरकारलाई हमाससँग युद्धविराम गर्न दबाब दिने उद्देश्यले विगत केही सातादेखि आमहडताल गर्नुपर्ने बताउँदै आएकाे थियो ।

इजरायल सरकार र प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बाँकी बन्धकलाई रिहा गर्नका लागि हमाससँग सहमति गर्न गम्भीर नभएको प्रदर्शनकारीको आरोप छ । आइतबार साँझ र सोमबार दिनभर गरिएका प्रदर्शनमा कम्तीमा तीन लाख जनाको उपस्थिति रहेको अल जजिराले जनाएको छ । हमासले बन्धन बनाएकाकाे रिहाइका लागि दबाब दिन इजरायलमा गरिएकाे सरकारविराेधी प्रदर्शन । तस्बिर : एपी

प्रदर्शनमा उत्रिएका कतिपयले प्रधानमन्त्री नेतान्याहुको मुखुन्डो लगाएका व्यक्तिलाई घेरा हाल्दै ‘हामीलाई उनीहरू जीवित चाहियो, जीवत, जीवित, जीवित’ भन्दै नाराबाजी गरेको बताइएको छ । प्रदर्शनकारीले बोकेका प्लेकार्डमा नेतान्याहुलाई लक्षित गर्दै ‘तिमी प्रमुख हौं, दोष तिम्रो हो’ लेखिएका थिए । त्यसका साथै, कतिपय प्रदर्शनकारीले प्रहरीविरुद्ध पनि नाराबाजी गरेको जनाइएको छ ।

अदालतले आमहडताल रोक्न आदेश दिएको छ । इजरायली श्रम अदालतले स्थानीय समयअनुसार दिउँसो साढे २ बजेसम्ममा प्रदर्शन रोक्न आदेश दिएको थियो । तर साँझ अबेरसम्मै प्रदर्शन जारी रहेको बीबीसीले जनाएको छ । उनीहरूले बन्धकको रिहाइको सुनिश्चितता नभएसम्म विरोध जारी राख्ने बताएका छन् ।

त्यसमाथि अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि ‘युद्धविरामका लागि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रयास गरेको आफूलाई नलागेको’ प्रतिक्रिया दिएका छन् । ह्वाइटहाउसमा पत्रकारहरूसँग बोल्दै बाइडेनले युद्धविराम सम्झौतानको नजिक पुगेको र गाजाका बन्धकहरू रिहा हुने बताएका छन् । शनिबार साँझ अमेरिकी नागरिक पोलिनको शव भेटिएपछि राष्ट्रपति बाइडेनले एक विज्ञप्ति जारी गर्दै हमास नेताहरूले यसको चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

आइतबार र सोमबार इजरायलमा देखिएका अभूतपूर्व प्रदर्शनसँगै प्रधानमन्त्री नेतान्याहुको नेतृत्वको सरकार नै अप्ठ्यारोमा पर्ने आकलनहरू समेत गरिएका छन् । प्रदर्शन चर्किएसँगै उनले ‘आफू बाँकी बन्धकको मुक्ति र देशको सुरक्षा सुनिश्चित गर्ने सम्झौताका लागि प्रतिबद्ध रहेको’ बताएका छन् ।

तर प्रदर्शनकारीले प्रतिबद्धता भन्दा पनि त्यसको कार्यान्वयमा जोड दिएका छन् । त्यसमाथि इजरायलका तीव्र दक्षिणपन्थी अर्थमन्त्रीको प्रतिक्रियाले पनि उनीहरू थप आक्रामक हुने देखिएको छ । अर्थमन्त्री बेजालेल स्मोट्रिचले ‘अहिले हडताल आह्वान गर्नेहरूले हमासको स्वार्थको प्रतिनिधित्व गरिरहेको’ बताएका छन् ।

नेतान्याहुको अटेरी र उनको मन्त्रिपरिषद्का सदस्यको ‘गैरजिम्मेवार’ अभिव्यक्तिसँगै आगामी दिनमा प्रदर्शन थप चर्किने अनुमान गरिएको छ । त्यसका साथै अमेरिकी राष्ट्रपति बाइडेनको प्रतिक्रियाले पनि नेतान्याहु बन्धक रिहाइका लागि गम्भीर नभएको देखिन्छ । जसका कारण आगामी दिनमा हुने विरोध प्रदर्शनले प्रधानमन्त्री नेतान्याहुको कुर्सी हल्लाउने निश्चित छ । हमासले बन्धन बनाएकाहकाे रिहाइका लागि दबाब दिन इजरायलमा गरिएकाे सरकारविराेधी प्रदर्शन । तस्बिर : एपी

तर कतिपय विश्लेषकले भने त्यस्तो आकलन गरिहाल्ने समय आइनसकेको बताएका छन् । ‘त्यसो भन्नु धेरै नै चाँडो हुन्छ,’ पूर्वराजदूत तथा सरकारका सल्लाहकार अलोन पिन्कासले अलजजिरासँग भनेका छन् । यी प्रदर्शन लामो समयसम्म नचल्ने पनि उनको दाबी छ ।

गत नोभेम्बरमा दुई पक्षबीच केही समयका लागि युद्ध रोक्ने सहमति जुटेको थियो । त्यससँगै केही बन्दीहरू साटासाट समेत गरिएको थियो । त्यसले युद्धविरामका लागि मार्ग प्रशस्त गरेको ठानिएको थियो । विभिन्न चरणका वार्तापछि गत मे महिनामा दुवै पक्ष युद्धविराम सम्झौताको नजिक पुगेको समाचारहरू पनि सार्वजनिक भएका थिए । तर नेतान्याहुले नयाँ र छलफल नै हुन नसक्ने सर्तहरू राखेपछि सम्झौता हुन नसकेको बताइएको छ ।

त्यसयता इजरायलले गरेका आक्रमणमा गाजामा हजारौंको ज्यान गइसकेको छ । पछिल्ला दिनमा इजरायलले वेस्ट ब्यांक र लेबनानमा समेत आक्रमण गरेको छ । त्यसका साथै, इजरायलले वार्तामार्फत भन्दा पनि सैन्य कारबाही गरेर बन्धक रिहा गर्ने रणनीति बनाएको छ । तर उसको यो रणनीतिप्रति इजरायलीको तीव्र असन्तुष्टि थियो । शनिबार ६ जनाको शव भेटिएपछि भने त्यसो विरोध प्रदर्शनका रूपमा सडकमै पोखिएको हो ।

‘सरकार र प्रधानमन्त्री अब रक्षात्मक बनेका छन्,’ इजरायली राजनीतिका जानकार ओरी गोल्डबर्ग भन्छन्, ‘यो अहिलेको अवस्था हो ।’ यसअघि नेतान्याहुविरुद्ध २०२३ मा पनि प्रदर्शन भएको थियो । देशको न्यायिक प्रणालीलाई परिमार्जन गर्ने उनको योजनाविरूद्ध हजारौं इजरायलीहरू सडकमा उत्रिएका थिए । आलोचकहरूले नेतान्याहुले विगतमा गरेका भ्रष्टाचारबाट बच्ने उपायस्वरूप न्याय प्रणाली सुधारको प्रयास गरेको बताएका थिए ।

त्यस्तै, २०२४ अप्रिलमा पनि हमासले बन्धक बनाएकाको रिहाइ र युद्धविरामको माग गर्दै नेतान्याहुविरुद्ध प्रदर्शन चर्केको थियो । ‘नेतान्याहुलाई बन्धक रिहा गर्ने वा युद्धविराम सम्झौता गर्नेमा कुनै चासो छैन, र यो स्पष्ट पनि छ,’ पिनकासले भने, ‘के भयो भनेर आक्रोशित हुनेहरूले अचम्म मान्नुपर्दैन किनभने रक्षामन्त्री र हामी सबैले चेतावनी दिएका थियौं । उनको अनिच्छाले नै यो सब भयो ।’

गत जुलाईमा गरिएको एक सर्वेक्षणअनुसार ७२ प्रतिशत इजरायलीले अक्टोबर ७ मा हमासको आक्रमण रोक्न असफल भएकामा नेतान्याहुले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताएका थिए । त्यसयता उनको लोकप्रियता निरन्तर ओरालो लाग्ने क्रममा छ । तर पनि नेतान्याहु उनका मुख्य प्रतिस्पर्धी बेनी गान्ट्जभन्दा अगाडि नै देखिएका छन् । नेतान्याहुले अझै पनि तीव्र दक्षिपन्थीको समर्थन कायम राखेका छन्, जसमा उनका मन्त्रीहरू इटामार बेन-गवीर (राष्ट्रिय सुरक्षा) र बेजलेल स्मोट्रिच (वित्त) अग्रपंक्तिमा छन् ।

(एजेन्सीहरूकाे सहयोगमा)

प्रकाशित : भाद्र १७, २०८१ २१:५७
x
×