कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

गाजामा बन्दुकको नालमुनि पोलियो खोप 

भाद्र १६, २०८१
गाजामा बन्दुकको नालमुनि पोलियो खोप 

जेरुसलेम — द्वन्द्वग्रस्त गाजा क्षेत्रमा १० वर्षमुनिका बालबालिकालाई पोलियोविरुद्धकाे खोप लगाउनु सुरू गरिएको छ । गाजा क्षेत्रमा २५ वर्षयता पहिलोपटक पोलियो संक्रमण देखिएपछि खोप अभियान सुरु गरिएको हो । बीबीसीका अनुसार खोप लगाउन हजारौं बालबालिका लाममा बसेका छन् । 

हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयअन्तर्गतको प्राथमिक स्वास्थ्य निर्देशक डा. मोउसा अबेदले खोप अभियान निकै उत्साहजनक रूपमा चलिरहेको जनाएका छन् । ‘खोप केन्द्रहरूमा निकै लामा-लामा लाइन देखिएका छन्,’ उनले भने । उनका अनुसार संयुक्त राष्ट्रसंघका र स्थानीय स्वास्थ्यकर्मीले बालबालिकालाई खोप दिइरहेका छन् ।

खोप अभियानका लागि पहिलो चरणमा आइतबारदेखि तीन दिनसम्म स्थानीय समयअनुसार बिहान ६ देखि दिउँसो ३ बजेसम्म युद्ध रोक्ने सहमति भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । आवश्यक परेको खण्डमा अर्को एक दिन युद्ध रोक्ने सहमति भएको डब्लूएचओले जनाएको छ ।

अभियानका लागि गाजामा १२ लाख ६० हजार डोज ‘नोभेल ओरल पोलियो भ्याक्सिन टाइप–२ (एनओपीभी–२) गाजा पुगिसकेको छ । थप ४ लाख डोज केही समयमा पुग्ने जनाइएको छ । गाजाका कम्तीमा ६ लाख ४० हजार बालबालिकालाई पोलियो खोप दिइने जनाइएको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले अक्टुबार ७ मा गरेको आक्रमणमा इजरायलमा करिब १२ सय जनाले ज्यान गुमाएका थिए । आक्रमणपछि हमासले २ सय ५१ जनालाई बन्धक बनाएको थियो । तीमध्ये ९७ जना अझै पनि हमासको नियन्त्रणमा छन् । उक्त आक्रमणको जवाफी कारबाहीमा इजरायलले सुरू गरेको आक्रमणमा गाजामा ४० हजार ५ सय ३० जनाको ज्यान गइसकेको छ । त्यसयता युद्धविरामका लागि गरिएका पहल असफल हुँदै आएका छन् ।

प्रायः पाँच वर्षमुनिका बालबालिकालाई असर गर्ने पोलियो गम्भीर र संक्रामक रोग हो । यो भाइरसको कारणले हुन्छ, जुन संक्रमित व्यक्तिको दिसा र दूषित खाना वा पानीको माध्यमबाट सजिलैसँग फैलिन सक्छ ।

यो भाइरसको संक्रमणपछि सबैमा लक्षणहरू नदेखिन सक्छन् । तर दुई सय संक्रमणमध्ये कुनै एक मस्तिष्क र स्नायु प्रणालीमा प्रवेश गर्न सक्छ र पक्षाघात हुन सक्छ । यस्तो समस्या केही घण्टामा नै हुन सक्छ । संक्रमणपछि यसले सास फेर्न प्रयोग हुने मांसपेशीलाई स्थिर बनाउने भएकाले ५ देखि १० प्रतिशत पक्षाघात भएकाहरूको ज्यान जान सक्छ ।

अहिले बाल्यकालमा नै पोलियो रोक्ने खोप लगाएका कारण यो रोग दुर्लभ छ । तर १९८८ मा विश्वव्यापी रूपमा पोलियो उन्मूलन अभियान सुरु हुनुअघि लाखौं बालबालिकामा पोलियो देखिने गरेको थियो । अधिकांश देशले पोलियोविरुद्धको खोपलाई उच्च प्राथमिकतामा राखेका छन् । बेलायतमा सन् १९८४ यता पोलियोका कारण पक्षघात भएको पुष्टि भएको छैन । तर अफगानिस्तान र पाकिस्तानमा यो निरन्तर देखिने गरेको छ ।

प्रकाशित : भाद्र १६, २०८१ १५:०८
x
×