कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

के अमेरिका असुरक्षित छ ? 

भाद्र १६, २०८१
के अमेरिका असुरक्षित छ ? 

Highlights

  • अमेरिकामा बन्दुकका कारण प्रत्येक ११ मिनेटमा एक जनाले ज्यान गुमाउँछन् 

काठमाडौँ — अधिकांश नेपालीका लागि ‘सपनाको देश’ हो अमेरिका । अध्ययन, रोजगारी वा भ्रमणकै लागि किन नहोस्, जीवनमा एकपटक अमेरिका टेक्न चाहने नेपाली निकै छन् । तर, पछिल्लो समय अमेरिकामा भएका गोलीकाण्ड र हत्याका घटनामा नेपालीहरूले एकाएक ज्यान गुमाएका समाचारहरू बाहिरिन थालेका छन् ।

भदौ पहिलो साता अमेरिकाको भर्जिनियमा नेपाली नर्स ममता काफ्लेको हत्या भएको समाचार प्रकाशित भएको थियो । त्यसको एक साता नबित्दै टेक्सास राज्यको ह्यूस्टन सहरमा अर्की नेपाली युवतीको हत्या भएको छ । अध्ययनका लागि अमेरिका पुगेकी भोजपुरकी २१ वर्षीया मुना पाण्डेको ह्यूस्टनमा गोली हानेर हत्या गरिएको हो ।

मुना आफ्नै अपार्टमेन्टमा एक सातअघि मृत अवस्थामा भेटिएकी हुन् । सन् २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका गएकी मुना ह्यूस्टन कम्युनिटी कलेजमा नर्सिङ विषय अध्ययनरत थिइन् । ह्यूस्टन प्रहरीले हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाहलाई पक्राउ गरी हत्या अभियोगमा मुद्दा चलाएको छ । शाहलाई हत्या अभियोगमा सेप्टेम्बर ३ र गैरकानुनी हतियार राखेको अभियोगमा सेप्टेम्बर ५ मा अदालतमा पेस गर्ने प्रहरीको तयारी छ ।

यसअघि अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेको पनि हत्या भएको थियो । अनुसन्धानका क्रममा ममताको हत्या पति नरेश भट्टले गरेको र हत्यापछि शव लुकाएको खुलेको छ । प्रहरीका अनुसार भट्टले घरमै ममताको हत्या गरेका थिए । मनासस प्रहरीले नरेशलाई शव लुकाएको आरोपमा गत बिहीबार पक्राउ गरेको छ । घटनाबारे सुनुवाइ जारी छ । मुना पाण्डे र बबीसिंह शाह

पछिल्लो समय बारम्बार सार्वजनिक भइरहेका यस्ता समाचारले अमेरिका पुगेर अध्ययन, रोजगारी वा व्यवसाय गरिरहेका हुन् वा जाने तयारीमा रहेका नेपाली– सबैका आङ सिरिङ्ग बनाइदिएको छ । त्यससँगै सर्वसाधारणका लागि ‘अमेरिका सुरक्षित छैन’ भन्ने भाष्य पनि निर्माण भएको छ ।

पछिल्लो तथ्यांकअनुसार अमेरिकामा बन्दुकका कारण प्रत्येक ११ मिनेटमा एक जनाले ज्यान गुमाउने देखिन्छ । तीमध्ये कम्तीमा ५५ प्रतिशत घटना आत्महत्याका हुन् । त्यस्तै, ४० प्रतिशत घटना हत्या र हिंसात्मक अपराधसँग जोडिएका विभिन्न तथ्यांकहरूले देखाएका छन् । अन्य घटना अन्जानमा भएका र प्रहरी अधिकारीको कारबाहीसँग सम्बन्धित छन् ।

हतियारको सहज पहुँच भएको अवस्थामा आत्महत्याको जोखिम बढिरहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । घरमा बन्दुकको पहुँचले आत्महत्याको सम्भावनालाई तीन गुणा भन्दा बढी बढाउँछ । आत्महत्या गर्न चाहने कुनै पनि व्यक्तिले बन्दुक पाएको खण्डमा ज्यान गुमाउने सम्भावना ९५ प्रतिशतभन्दा बढी हुन्छ ।

एकपटक आत्महत्या प्रयासबाट बच्न सफल भएका ९९ प्रतिशत मानिसले पुनः त्यस्तो प्रयास गर्दैनन् । तर आत्महत्याका लागि बन्दुकको प्रयोग गरिएको खण्डमा दोस्रो अवसर पाउने सम्भावना निकै कम हुन्छ ।

त्यस्तै, हत्या र हिंसात्मक अपराधमध्ये ४० प्रतिशतमा बन्दुकको प्रयोग हुने गरेको छ । बन्दुकमाथिको सहज पहुँचले हत्याको जोखिम बढी हुने अनुसन्धानहरूले देखाएका छन् । हतियार राख्ने मानिसहरूको प्रतिशत बढी भएका अमेरिकी राज्यहरूमा बन्दुकको प्रयोगबाट हुने हत्याको दर उच्च छ । त्यस्तै, आक्रमणकारीसँग बन्दुक भएको खण्डमा कुनै पनि महिलाको हत्या हुने सम्भावना पाँच गुणा बढी हुन्छ । तथ्यांक अनुसार बन्दुककै कारण घरेलु, सामुदायिक र सामूहिक गोलीबारीका घटना हुने गरेका छन् ।

बन्दुकसँग सम्बन्धित घटनामा प्रत्येक वर्ष एक हजार जनाको भने प्रहरी अधिकारीको कारबाहीमा ज्यान जाने गरेको छ । जोन हप्किन्स विश्वविद्यालयको एक अध्ययन अनुसार गोरा मानिसहरूको तुलनामा निशस्त्र अश्वेत मानिसलाई पुलिसले गोली हानेर मार्ने सम्भावना तीन गुणा बढी देखिएको छ ।

त्यस्तै, अमेरिकामा हिंसात्मक अपराधको तुलनामा डकैती, लुटपाट, गाडी चोरी वा सम्पत्तिसँग सम्बन्धित अन्य अपराध बढी हुने गरेको देखिन्छ । संघीय जाँच ब्युरो (एफबीआई) का अनुसार अमेरिकामा प्रति एक लाख जनसंख्यामा औसतमा १९ सय ५४ वटा त्यस्ता अपराध हुने गरेका छन् । हिंसात्मक अपराध भने प्रति एक लाखमा ३ सय ८० रहेको एफबीआईले जनाएको छ ।

बढी जोखिमका १० सहर

बीबीसीको साइन्स फोकसको एक रिपोर्ट अनुसार बन्दुकसँग सम्बन्धित हत्या, आक्रमण र डकैतीजस्ता हिंसात्मक अपराधका आधारमा मिसोरी राज्यको सेन्ट लुइस सबैभन्दा खतरनाक सहर हो । सेन्ट लुइसमा प्रत्येक एक लाख मानिसमा २ हजार ८२ हिंसात्मक अपराध हुने गरेको तथ्यांक छ ।

त्यस्तै, मिसिगन राज्यको डेट्रोइट दोस्रो नम्बरमा छ । त्यहाँ प्रत्येक एक लाखमा २ हजार ५६ वटा हिंसात्मक घटना हुने गरेका छन् । तेस्रो स्थानमा रहेको बाल्टिमोरको मेरील्यान्डमा हरेक एक लाख मानिसमध्ये २ हजार २७ ले त्यस्ता घटनाको सामना गर्ने गरेका छन् ।

चौथो स्थानको टेनेसी राज्यको मेम्फिसमा १८ सय २०, पाँचौं स्थानको मिजोरीको कान्सस सिटीमा १७ सय २४, छैटौं स्थानको विस्कन्सिनको मिलवाउकीमा १५ सय ९७ र सातौं स्थानको ओहायोको क्लेभल्यान्डमा १५ सय ५६ वटा हिंसात्मक घटना भएका छन् । त्यस्तै, १४ सय १४ घटनासहित क्यालिफोर्नियाको स्टकटन आठौं, १३ सय ६९ घटनासहित न्युमेक्सिकोको अल्बुकुएर्क्यु नवौं र १३ सय ३३ घटनासहित इन्डियानाको इन्डियानापोलिस दशौं स्थानमा छन् ।

सुरक्षित १० सहर

सुरक्षाको दृष्टिकोणले इलिनोइ राज्यको नेपरभिल पहिलो स्थानमा छ । यो सहरमा प्रति एक लाखमा ८ सय ३४ अपराधका घटना रेकर्डमा आएका छन् । जुन देशभर हुने अपराधका घटनाको औसत ६७ प्रतिशत कम हो । त्यस्तै, ९१९ अपराधका घटनासहित फ्लोरिडाको पोर्ट सेन्ट लुसी दोस्रो स्थानमा छ । १ हजार ३५ घटनासहित नर्थ क्यारोलाइना राज्यको क्यारी तेस्रो स्थानमा छ ।

टेक्सास राज्यको फ्रिस्को १ हजार ५९ घटनासहित चौथो र ११ सय ७२ घटनासहित क्यालिफोर्नियाको थाउजेन्ड ओक्स पाँचौं स्थानमा छन् । त्यस्तै, टेक्सासको म्याककिनी, एरिजोनाको गिलबर्ट र क्यालिफोर्नियाको सान्टा क्लारिटा क्रमशः छैटौं, सातौं र आठौं स्थानमा छन् । क्यालिफोर्नियाकै सन्निभेल र न्युयोर्कको योन्कर्स नवौं र दसाैं स्थानमा छन् ।

(एजेन्सीहरूकाे सहयोगमा)

प्रकाशित : भाद्र १६, २०८१ २०:१४
x
×