कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

भारतको गुजरातमा बाढी, १६ को मृत्यु

भाद्र १२, २०८१
भारतको गुजरातमा बाढी, १६ को मृत्यु

अहमदाबाद — भारतको गुजरात राज्यमा मुसलधारे वर्षापछिकाे बाढीका कारण कम्तीमा १६ जनाको ज्यान गएको छ । भारतीय सञ्चारमाध्यका अनुसार गुजरात राज्यका ८ जिल्लामा आएको बाढीले सोमबारयता १६ जनाको मृत्यु भएको हो ।

गुजरातमा नदीहरूको बहाव बढेसँगै बस्तीमा बाढी पसेपछि २३ हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । मुख्यमन्त्री भूपेन्द्रभाइ पटेलले स्थानीयलाई सतर्क रहन र माझीहरूलाई सामुद्रिक क्षेत्रमा नजान चेतावनी दिएका छन् ।

भारतीय जलवायु विभाग (आईएमडी)ले गुजरातका बडोदरा, छोटौदेपुर, नर्मदा, बहरुच, सुरत लगायतका जिल्लामा चेतावनी जारी गरेको छ । आईएमडीका वैज्ञानिक रामश्रय यादवले अगामी केही दिन भारी वर्षा हुने जनाएका छन् ।

गुजरातका स्वास्थ्यमन्त्री रुशीकेश पटेलले बडोदरामा स्थिति भयावह बन्दै गएको जनाएका छन् । उनका अनुसार स्थानीय प्रशासनले बडोदरामा मात्र ५ हजार स्थानीयलाई सुरक्षित स्थानमा सारिसकेको र अलपत्र परेका एक हजारभन्दा बढीको उद्धार गरेको बताए ।

भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा गत साता बाढीपहिरोमा परी २० जनाभन्दा बढीको मृत्यु भएको थियो । बंगलादेशमा भारी बाढीले कम्तीमा ४० जनाको मृत्यु भएको र करिब तीन लाख बासिन्दा आपत्कालीन आश्रयहरूमा शरण लिएका थिए ।

प्रकाशित : भाद्र १२, २०८१ २१:१२
x
×