कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

चिनियाँ ईभीलाई क्यानडाले लगायो १०० प्रतिशत भन्सार शुल्क

भाद्र ११, २०८१
चिनियाँ ईभीलाई क्यानडाले लगायो १०० प्रतिशत भन्सार शुल्क

काठमाडौँ — क्यानडाले चीनमा बनेका विद्युतीय गाडी(ईभी) को भन्सार शुल्क बढाएर १०० प्रतिशत पुर्‍याएको छ । अमेरिका र युरोपेली युनियनलाई पछ्याउँदै क्यानडाले पनि चिनियाँ ईभीको आयातमा शुल्क बढाएको थियो । त्यस्तै क्यानडाले चीनबाट आयात हुने स्टिल र आल्मुनियममा पनि २५ प्रतिशत भन्सार शुल्क लगाउने भएको छ । 

क्यानडाले चीनबाट आयात हुने सबै ईभीमा १०० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेको हो जसमा टेस्लाका कारसमेत पर्दछन् । चीनको सांघाईमा टेस्लाको फ्याक्ट्री रहेको छ ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले मुलुकलाई अटोमोबाइल क्षेत्रमा आत्मनिर्भर बनाउन उक्त कदम चालिएको बताएका छन् । प्रधानमन्त्री ट्रुडोले भनेका छन्, 'हामीले क्यानडाको अटोमोबाइल सेक्टरलाई भविष्यमा ग्लोबल लिडर बनाउँदैछौँ । तर चीनजस्ता देशले विश्वबजारमा आफैंले अनुचित फाइदा उठाउने विकल्प रोजेको छ । ' चीनमा निर्मित ईभीको भन्सार शुल्क १ अक्टोबर र स्टिल तथा आल्मुनियममा लगाइएको शुल्क अक्टोबर १५ देखि लागू हुने बताइएको छ ।

गत मे महिनामा अमेरिकाले चिनियाँ ईभीको भन्सार शुल्क ४ गुणाले बढाएर १०० प्रतिशत पुर्‍याउने घोषणा गरेको थियो । तर अमेरिकाले उक्त निर्णय कार्यान्वयन भने गरिसकेको छैन । विद्युतीय सवारीको विश्वबजारमा सबैभन्दा ठूलो हिस्सा चीनले ओगटेको छ । क्यानडामा शून्य कार्बन उत्सर्जन गर्ने सवारी साधन जनरल मोटर्सले निर्माण गर्छ । क्यानडामा उक्त कम्पनीका विद्युतीय डेलिभरी भ्यानहरू प्रचलनमा छन् ।

प्रकाशित : भाद्र ११, २०८१ १३:००
x
×