कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

किन अशान्त छ बलुचिस्तान ? 

भाद्र १०, २०८१
किन अशान्त छ बलुचिस्तान ? 

Highlights

  • पाकिस्तानको बलुचिस्तान प्रान्तमा पछिल्लो २४ घण्टामा भएका घटनामा कम्तीमा ३९ जनाको मृत्यु 

काठमाडौँ — बलुचिस्तान भूगाेलका आधारमा पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त हो । तर, जनसंख्याका हिसाबले सबैभन्दा सानो । प्राकृतिक स्रोतमा निकै धनी भए पनि बलुचिस्तान पाकिस्तानकै कम विकसित प्रान्त हो । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने बलुचिस्तानको उत्तरपूर्वमा खैबर पख्तुन्ख्वा, पूर्वमा पन्जाब र दक्षिणपूर्वमा सिन्ध राज्य छन् ।

बलुचिस्तानको सीमा उत्तरमा अफगानिस्तान र पश्चिममा इरानसँग जोडिएको छ भने दक्षिणतर्फ अरब सागर छ । यो प्रान्तमा विश्वकै सबैभन्दा गहिरो समुद्री बन्दरगाह ग्वादरसमेत छ । यसले पाकिस्तानका कूल भू–भागको ४४ प्रतिशत हिस्सा ओगट्छ । तर, पाकिस्तानको करिब २५ करोड जनसंख्यामा बलुचिस्तानबासीको संख्या ६ प्रतिशत मात्रै छ । यस प्रान्तमा ५ प्रतिशत मात्र खेतीयोग्य जमिन छ । तर यहाँ गरिने कृषि र पशुपालनले मात्र समग्र प्रान्तको अर्थतन्त्रमा ४७ प्रतिशत योगदान पुर्‍याउँछ ।

‘बलुचिस्तान’ को अर्थ हुन्छ– ‘बलुचहरूको भूमि’ । बलुच सबैभन्दा ठूलो जातीय समूह हो, त्यसपछि पस्तूनहरू छन् । बलुचहरू पाकिस्तानको छिमेकी इरानी प्रान्त सिस्तान–बलुचिस्तान र अफगानिस्तानमा बस्छन् । बलुचिस्तान ग्यास, खनिज र अन्य प्राकृतिक स्रोतको हिसाबले पाकिस्तानको सबैभन्दा धनी प्रान्त हो ।

चिनियाँ लगानीमा सञ्चालित अर्बौं डलरको परियोजना चीन–पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी) को ठूलो हिस्सा यही प्रान्तमा पर्छ । चिनियाँ राष्ट्रपति सी चिनपिङको ‘बेल्ट एण्ड रोड’ को हिस्सा रहेको परियोजनामा ओमानको खाडी नजिकैको ग्वादर सहरमा बनेको बन्दरगाहलाई महत्वपूर्ण बिन्दु मानिएको छ ।

चीन बलुचिस्तानमा विभिन्न खानी परियोजना र ग्वादरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि संलग्न छ । तर पाकिस्तानी चरमपन्थी समूहहरूले चिनियाँ लागानीको विरोध गर्दै आएका छन् । बलुचिस्तानको रेको डिक खानीमा क्यानडाको खानी कम्पनी ब्यारिक गोल्डको ५० प्रतिशत सेयर छ । यसलाई तामा र सुनका लागि विश्वकै ठूलो खानीमध्ये एक हो ।

लामो समयदेखि पाकिस्तान र इरानका स्थानीय समूहहरू बलुचिस्तानको स्वायत्तताका लागि संघर्ष गरिरहेका छन् । यसै वर्षको सुरूमा इरानले पाकिस्तानमा आक्रमण गरेपछि दुई देशबीच तनाव बढेको थियो । आक्रमणमा पाकिस्तानमा दुई बालबालिकाको मृत्यु भएपछि पाकिस्तानले इरानी भू–भागमा क्षेप्यास्त्र आक्रमण गरेको थियो ।

पाकिस्तानी आक्रमणमा ९ जनाको ज्यान गएको इरानले जनाएको थियो । उक्त आक्रमणमा इरानले आफ्नोविरुद्ध सक्रिय चरमपन्थी समूह ‘जैस अल–अदल’लाई निसाना बनाएको दाबी गरेकामा पाकिस्तानले आतंकवादी समूह ‘बलुचिस्तान लिबरेसन आर्मी’ (बीएलए) र ‘बलुचिस्तान लिबरेसन फ्रन्ट’ (बीएलएफ) का अखडामा आक्रमण गरेको बताएको थियो ।

पछिल्लो समय बलुचिस्तानको स्वायत्तताका लागि संघर्ष गरिरहेका बीएलए, बीएलएफ तथा अन्य पृथकतावादी विद्रोही समूहले बलुचिस्तानमा काम गर्ने पन्जाबी र सिन्ध समुदायमाथिको आक्रमण तीव्र पारेका छन् । बलुचिस्तानको प्राकृतिक स्रोतको दोहन गरेको र एकलौटी फाइदा लिएको आरोप लगाउँदै ती समूहहरूले विदेशी ऊर्जा कम्पनीलाई पनि निसाना बनाउने गरेका छन् । समूहले सन् २०११ देखि भने पाकिस्तानी सुरक्षा निकाय, विदेशी कामदार, सरकारी कर्मचारी र पत्रकारमाथि आक्रमण गर्दै आएको छ ।

सिरियामा सन् १९६४ मा स्थापना भएको बीएलएफ सुरूमा इरानी बलोच विद्रोहमा संलग्न भएको थियो । इरानी बलोचहरूले त्यहाँको सरकारविरुद्ध विद्रोह गरेका थिए । पाँच वर्षको द्वन्द्वपछि इरानका शाहविरुद्ध जारी विद्रोह वार्तामार्फत अन्त्य भयो । त्यसपछि अन्य बलोच समूहरूसँगै बीएलएफ पनि पाकिस्तान सरकारविरुद्ध सक्रिय भएको हो । यी संगठनहरूले पाँच दशकभन्दा लामो समयदेखि अफगानिस्तानमा शरण लिएर गतिविधि गर्दै आइरहेका छन् ।

पछिल्लो समय भने यी समूह (खासगरी बीएलए) ले प्रहरी चौकी र सुरक्षाकर्मीका क्याम्पसहित कैयौं सरकारी संरचनामा लगातार आक्रमण गर्दै आएका छन् । बीएलएका बन्दुकधारीले आइतबार राति २२ जनालाई मारेका छन् । उनीहरूले राजमार्गमा गुडेका बस र ट्रकबाट मानिसहरूलाई बाहिर निकालेर परिचयपत्र जाँच्दै गोली हानेको बीबीसीले जनाएको छ । गृहमन्त्री मोहसिन नकिभीले सरकारी सुरक्षाकर्मीहरूको प्रत्याक्रमणमा विभिन्न स्थानमा कम्तीमा १२ जना मारिएको जनाएका छन् ।

मुसाखेल जिल्लाको घटनाको बीएलएले जिम्मेवारी लिएको छ । स्थानीय अधिकारी नजिबुल्लाह काकरका अनुसार उक्त घटनामा ३० देखि ४० लडाकु संलग्न थिए । सशस्त्र समूहले परिचयपत्र जाँच्दै पन्जाब प्रान्तका मानिसहरूलाई छुट्ट्याएर गोली हानेको र सवारीसाधनमा आगो लगाइदिएको उनको भनाइ छ ।

‘उनीहरूले २२ वटा गाडी रोके । पन्जाबबाट आएका र पन्जाबतिर जान लागेका गाडीहरूमा जाँच गरे र पन्जाबका मानिसहरूलाई पहिचान गरी गोली हाने,’ उनले समाचार संस्था एएफपीसँग भनेका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले घटनाको निन्दा गरेका छन् । घटनालाई उनले ‘आतंकवादी आक्रमण’ को संज्ञा दिएका छन् ।

त्यस्तै, बीएलएका बन्दुकधारीले कलत जिल्लामा ९ जनालाई मारिदिएका छन् । मारिनेमा चार प्रहरी अधिकारी र पाँच यात्रु छन् । ग्वादर सहरमा भएको अर्को एक आक्रमणमा ६ जना मारिएका छन् । बीएलएले बोलान जिल्लामा रेलमार्ग ध्वस्त पारेका छन् भने मास्तुङ जिल्लामा एक प्रहरी चौकीमा आक्रमण गरेका छन् ।

बीएलएले एक विज्ञप्ती जारी गर्दै सर्वसाधारण मानिसको भेषमा यात्रा गरेका १ सय २ जना सैनिकलाई मारेको जनाएको छ । घटनाअघि बीएलएले बलुचिस्तानका सर्वसाधारणलाई राजमार्गबाट यात्रा नगर्न चेतावनी दिएको थियो । बीएलएले आफ्नो संघर्ष बलुचिस्तान कब्जा गर्ने पाकिस्तानी सेनाविरुद्ध भएको बताएको छ । ‘हामीले बलुचिस्तानका सबै मुख्य राजमार्ग नियन्त्रणमा लिएका छौं र उनीहरूलाई रोकेका छौं,’ बीएलएले भनेको छ ।

यसअघि गत अप्रिलमा पनि बलुचिस्तानमा एउटा बसका ९ यात्रुलाई बाहिर निकालेर उनीहरूको परिचयपत्र जाँच्दै गोली हानेर हत्या गरिएको थियो । पाकिस्तानको सत्तालाई नै चुनौती दिने विद्रोही समूह बीएलएलाई अमेरिका र बेलायतसहित कैयौं पश्चिमा देशले ‘आतंकवादी संगठन’ घोषित गरेका छन् ।

(एजेन्सीकाे सहयाेगमा)

प्रकाशित : भाद्र १०, २०८१ २०:२१
x
×