कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

किन लडिरहन्छन् इजरायल र हिजबुल्लाह ?

किन लडिरहन्छन् इजरायल र हिजबुल्लाह ?

Highlights

  • हिजबुल्लाहद्वारा आइतबार इजरायली सैन्य क्षेत्रलाई लक्षित गरी ३२० भन्दा बढी ड्रोन तथा रकेट प्रहार

काठमाडौँ — करिब एक वर्षदेखि प्यालेस्टिनी विद्रोह समूह हमाससँग निरन्तर लडाइँ गर्दै आइरहेको इजरायलको लेबनानी फाैज हिजबुल्लाहसँग पनि युद्ध सुरु भएको छ । हिजबुल्लाहले आइतबार इजरायलमा आक्रमण सुरु गरेपछि दुई पक्षबीच युद्ध सुरु भएको हो । युद्धको कारण भने एक महिनाअघिको घटना बनेको छ । 

इजरायलले गत महिना लेबनानको राजधानी बेरुतमा गरेको रकेट आक्रमणमा हिजबुल्लाहका वरिष्ठ कमाण्डर फुआद शुक्र मारिएका थिए । उनको हत्याको बदला लिन इजरायलमाथि आक्रमण गरेको हिजबुल्लाहको भनाइ छ । हिजबुल्लाहले आइतबार ११ वटा इजरायली सैन्य क्षेत्रलाई लक्षित गरी ३२० भन्दा बढी ड्रोन तथा रकेट प्रहार गरेको छ । हिजबुल्लाहले यसलाई ‘पहिलो चरण’ को आक्रमण भनेको छ ।

हिजबुल्लाहले प्रहार गरेका अधिकांश ड्रोन तथा रकेटलाई भने इजरायली सेनाका जेटले आकाशमै निस्तेज बनाइदिएको जनाइएको छ । हिजबुल्लाहले लेबनानबाट इजरायली भूमिमा १५० भन्दा बढी रकेट प्रहार गरेको र ती रकेटलाई ‘आइरन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले असफल पारेको इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले जनाएको छ । इजरायली सेना

हिजबुल्लाहको आक्रमणपछि इजरायलमा ४८ घण्टाका लागि संकटकाल घोषणा गरिएको छ भने इजरायली सेनाले हिजबुल्लाहको बलियो उपस्थिति रहेको दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको छ । आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले आफूहरूमाथि हुन सक्ने ठूलो स्तरको आक्रमणको प्रतिरक्षाका लागि हिजबुल्लाहलाई लक्ष्य गरी आक्रमण गरेको जनाएका छन् । त्यसक्रममा २ सयभन्दा बढी निसानामा आक्रमण गरेको र हजारौं रकेट प्रक्षेपण गर्ने ठाउँ ध्वस्त गरिदिएको इजरायली सेनाको दाबी छ ।

लेबनानस्थित सिया मुस्लिम संगठन हो- हिजबुल्लाह । लेबनानको राजनीतिक पार्टी तथा अर्धसैनिक समूह हिजबुल्लाहको शाब्दिक अर्थ ‘ईश्वरको पार्टी’ हुन्छ । सन् १९८० को दशकमा इजरायलविरुद्ध प्रयोग गर्न इरानको आर्थिक र सैन्य सहायताबाट हिजबुल्लाहको उदय भएको हो । जसका कारण दुई पक्षबीच पटक-पटक युद्ध भइरहन्छ । हिजबुल्लाह प्रमुख हसन नसरल्लाह

१९८० को दशकमा गृहयद्धका क्रममा इजरायली फौजले दक्षिणी लेबनानमाथि नियन्त्रण कायम गरेको थियो । लेबनानमा १९९२ यता भएका निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएको हिजबुल्लाह त्यहाँको मुख्य राजनीतिक पार्टी हो । त्यसयता हिजबुल्लाहले लेबनानस्थित अमेरिकी र इजरायली फौजमाथि भीषण आक्रमण गरेको थियो ।

२००० मे २४ मा इजरायल दक्षिणी लेबनानबाट फिर्ता भएको थियो । हिजबुल्लाहले आफ्नो आक्रमणका कारण इजरायल लेबनान छाड्न बाध्य भएको बताउने गर्छ । इजरायलले लेबनान छाडेसँगै हिजबुल्लाह निशस्त्र हुनुपर्ने दबाब बढेको थियो । तर त्यसलाई बेवास्ता गर्दै हिजबुल्लाहले आफ्नो सैनिक संगठन ‘इस्लामिक रेसिस्टन्स’लाई थप सुदृढ पार्दै गयो ।

त्यसयता दक्षिण लेबनानमा हजारौं लडाकु र ठूलो क्षेप्यास्त्र भण्डारण विस्तार गरेको हिजबुल्लाहले विवादित सीमाक्षेत्रमा इजरायली उपस्थितिलाई चुनौती दिँदै आएको छ । बिस्तारै लेबनानको राजनीतिमा एक महत्त्वपूर्ण शक्ति बन्न सफल हिजबुल्लाहले मन्त्रिपरिषद्‌मा विशेषाधिकार प्रयोग गर्न सक्ने भयो । पछिल्लो समय हिजबुल्लाहले खासगरी अमेरिकी र इजरायललक्षित आक्रमण गर्दै आएको छ । अमेरिकालगायतका पश्चिमा देशहरू, इजरायल, खाडी–अरब देश तथा अरब लिगले हिजबुल्लाहलाई आतंकवादी संगठन घोषित गरेका छन् ।

२००६ मा हिजबुल्लाहले सीमाक्षेत्रबाट इजरायली भूमिमा आक्रमण गरेको थियो । आक्रमणका क्रममा इजरायलका ८ सैनिक मारिए भने दुई सैनिकलाई हिजबुल्लाहले बन्धक बनायो । त्यसपछि क्रुद्ध इजरायलले हिजबुल्लाहलाई समाप्त पार्ने जनाउँदै दक्षिण लेबनानमा भीषण आक्रमण गरेको थियो ।

इजरायली लडाकु विमानहरूले हिजबुल्लाहको बलियो पकड रहेको लेबनानको दक्षिण र बेरुतको बाह्य क्षेत्रमा व्यापक बमबारी गरे । जवाफमा हिजबुल्लाहले करिब ४ हजार रकेट प्रहार गरेको थियो । ३४ दिनसम्म चलेको लडाइँका क्रममा लेबननमा ११ सय जना मारिएका थिए । इजरायलतर्फ १ सय १९ सैनिक र ४५ सर्वसाधारण मारिएका थिए । इजरायली आक्रमणपछि हिजबुल्लाहले ठूलो संख्यामा लडाकुहरू भर्ती गर्‍यो र नयाँ तथा आधुनिक हतियारसमेत व्यवस्थापन गरेको हो ।

पश्चिमा देशहरूको समर्थनको लेबनान सरकारले २००८ मा हिजबुल्लाहको निजी दूरसञ्चार सञ्जाल बन्द गरेको थियो । त्यसका साथै हिज्बुल्लाहसँग सम्बन्ध रहेको आरोपमा बेरुत विमानस्थलका सुरक्षा प्रमुखलाई हटाइएपछि हिजबुल्लाहले बेरुतका अधिकांश भाग कब्जा गर्‍यो र प्रतिद्वन्द्वी सुन्नी समूहसँग लडाइँ गरेको थियो । हिजबुल्लाह

८१ जनाको ज्यान गएपछि साम्प्रदायिक दंगा रोक्न सरकार पछि हट्यो र सत्ता साझेदारी गर्ने सहमति भयो । सम्झौतापछि हिजबुल्लाहलाई मन्त्रिपरिषद्‍मा विशेषाधिकार दिलाएको हो । २००९ को चुनावमा १० सिट जितेपछि हिजबुल्लाह एकताको सरकारमा सहभागी भयो । त्यसयता लेबनानको राजनीतिमा हिजबुल्लाहको प्रभाव बलियो छ । राजनीतिक, सुरक्षा र सैन्य प्रभावसँगै उसले उपलब्ध गराउने सेवाका कारण लेबनानमा हिजबुल्लाहले ‘राज्यभित्र राज्य’ को प्रतिष्ठा आर्जन गरेको छ । तर, लेबननका कतिपय नेताले हिजबुल्लाहलाई देशको अस्थिरताको कारक मान्छन् ।

सिरियाका राष्ट्रपति बसर अल–असदको कटिबद्ध साझेदार हिजबुल्लाहले त्यहाँको गृहयुद्धका क्रममा पनि हजारौं लडाकु पठाएको थियो । खासगरी हिजबुल्लाहले लेबनानसँग सीमा जोडिएको पहाडी क्षेत्रमा सरकार समर्थक फौजलाई सघाउन उल्लेखनीय भूमिका निर्वाह गरेको बताइन्छ । इजरायलले इरान र हिजबुल्लाहसँग सम्बन्ध रहेको ठानिएका सिरियास्थित अखडामा आक्रमण गर्दै आएको छ । तर इजरायलले त्यस्ता आक्रमणमा आफू संलग्न रहेको अस्वीकार गर्ने गर्छ । सिरियाली द्वन्द्वमा हिजबुल्लाहको संलग्नताले लेबनानमा साम्प्रदायिक तनाव बढाएको बताइन्छ ।

पछिल्लो समय भने गत अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमाथि गरेको अप्रत्यासित आक्रमणपछिको द्वन्द्वमा हिजबुल्लाह पनि अगाडि आएको हो । अक्टुबरको आक्रमणमा १२ सय जनाभन्दा बढी इजरायलीको ज्यान गएको थियो । त्यसपछि इजरायली सेनाले प्यालेस्टिनी विद्रोही समूह हमासविरुद्ध आक्रमण सुरू गर्‍यो । इजरायली आक्रमणपछि हिजबुल्लाहले इजरायविरुद्धको लडाइँमा सघाउन तयार रहेको जनाएको हो ।

१९९२ यता हिजबुल्लाहको नेतृत्व हसन नसरल्लाहले गर्दै आएका छन् । हिजबुल्लाहलाई राजनीतिका साथै सैन्य संगठनका रुपमा स्थापित गर्नका लागि उनको भूमिका उल्लेखनीय छ । नसरल्लाहको इरानी नेता आयातोल्लाह अलि खोमेनीसँग पनि निकै राम्रो सम्बन्ध छ । इरानका पहिलो सर्वोच्च नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले उनलाई १९८१ मा लेबनानमा इरानी प्रतिनिधि नियुक्त गरेका थिए । त्यसयता निरन्तर उनी लेबनानस्थित इरानी प्रतिनिधि छन् । इजरायलले हत्या गर्ने त्रासका कारण नसरल्लाह वर्षौंदेखि सार्वजनिक रूपमा देखिएका छैनन् । तर हिजबुल्लाह संगठनभित्र भने उनी निकै सम्मानित छन् । इजरायली सेना

आइतबारको आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहमाथिको आक्रमण ‘कथाको अन्त्य नभएको’ बताएका छन् । आइतबारको प्रत्याक्रमणमा आफ्नो देशको सेनाले इजरायली भूमिमा लक्षित गरी राखिएका हजारौं छोटो दूरीका रकेट ध्वस्त पारेको उनको दाबी छ । तेल अबिबमा मन्त्रिपरिषद्को राष्ट्रिय सुरक्षासम्बन्धी बैठकमा बोल्दै नेतान्याहुले आफूहरूलाई चोट दिनेलाई चोट दिएरै जवाफ दिने नीति अंगीकार गरेको बताएका हुन् ।

इजरायली विदेशमन्त्री इजरायल काट्जले पनि आफ्नो देशले पूर्ण रुपको युद्ध नचाहेको बताएका छन् । इजरायलले आफ्ना नागरिक र भूगोलको रक्षाका लागि कदम चालिरहेको उनको भनाइ छ । यद्यपि, इजरायलले विकसित घटनाका आधारमा कदम चाल्ने उनले बताए । अमेरिकी रक्षा मन्त्रालयले पनि प्रतिरक्षाका लागि इजरायलले चालेको कदमप्रति समर्थन जनाएको छ भने हमासले इजरायलमाथि हिजबुल्लाहको आक्रमण उचित भएको प्रतिक्रिया दिएको छ ।

दुई पक्षबीच ठूलो युद्धको जोखिम भए पनि तत्कालका लागि इजरायल संयमित हुने देखिएको छ । पछिल्लो घटनासँगै हिजबुल्लाह र इजरायलबीच पूर्ण रुपमा युद्ध हुने सम्भावना भए पनि दुवै पक्षले त्यसलाई टार्न कोसिस गरिरहेका लिभन्ट इन्स्टिच्युट फर स्ट्राटेजिक अफेयर्सका सामी नडेर बताउँछन् । हिजबुल्लाह । तस्बिरहरू : एपी/एएफपी/राेयटर्स

इजरायली प्रधानमन्त्री, विदेशमन्त्री र हिजबुल्लाहको भनाइले पनि नाडेको भनाइमा थप बल पुगेको छ । हिजबुल्लाह थप आक्रामक नहोस् भन्नका लागि पनि नेतान्याहुले ‘आवश्यक परेको खण्डमा इजरायलले अन्य कदम चाल्न पनि तयार रहेको’ चेनावनी दिएका हुन् । इजरायलको हमाससँग जारी युद्ध र अगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय चुनावका कारण पनि तत्काल इजरालय आक्रामक भइहाल्ने देखिँदैन ।

इजरायले युद्ध सुरु गरेको खण्डमा अमेरिकाले मध्यपूर्वको प्रमुख साझेदारलाई सहयोग नगरी रहन सक्ने अवस्था छैन । तर, त्यो आगामी राष्ट्रपति चुनावका लागि प्रत्युत्पादक हुने अनुमान अमेरिकी प्रशासनको छ । जसका कारण जो बाइडेन प्रशासनले संयमित रहन इजरायललाई दबाब सिर्जना गरिरहेको विश्लेषकहरू बताउँछन् । त्यसका साथै, हिजबुल्लाहले ‘पहिलो चरण’को आक्रमण सकिएको बताउनुको अर्थ तत्कालका लागि उसले इजरायलमाथि आक्रमण नगर्ने देखिन्छ ।

(एजेन्सीहरुकाे सहयाेगमा)

प्रकाशित : भाद्र ९, २०८१ २१:१७
x
×